अमेरिका समाचार

नेपालमा बसेर अमेरिकामा क्यासिनो गेम खेलाउने पक्राउ, अमेरिकामा बस्ने नेपालीको पनि संलग्नता रहेको आशंका

नेपालमा बसेर अमेरिकामा क्यासिनो गेम खेलाउने पक्राउ, अमेरिकामा बस्ने नेपालीको पनि संलग्नता रहेको आशंका


मेरिका । काठमाडौँमा बसेर अमेरिका र युरोपमा अनलाइनमार्फत जुवा खेलाउने एक दर्जनको संख्यामा एउटा समूह नै पक्राउ परेका छ । सो कारोबारमा अमेरिकामा बस्ने केही नेपालीसमेत संलग्न हुन सक्ने आशंका गरिएको छ । 
 
अमेरिकामा पनि केही नेपालीले अनलाइन गेम खेलाउन सुरु गरेका थिए । नेपाली विद्यार्थी, स्टोरमा काम गर्ने कर्मचारीमार्फत यसरी अनलाइन गेम विस्तार गरिएको थियो । यो केही महिनायता विस्तार हुँदै गएको थियो । नेपालमा प्रहरीले उक्त समूहलाई पक्राउ गरेलगत्तै यसरी अनलाइन गेम खेलाउनेहरुले यो काम बन्द गर्न थालेको बताइएको छ । 
 
नेपाल प्रहरीको भनाइ उद्दृत गर्दै प्रेषित राससको समाचारअनुसार सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी कीर्तिपुर नगरपालिकास्थित तीन घरमा २४ सै घन्टा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ । 
समाचारमा यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउन तथा जित्नेलाई तोकिएको रकमसमेत दिने गरेको पाइएको उल्लेख छ । 
 
नेपाल प्रहरीले यसरी अनलाइनमार्फत क्यासिनो चलाउनेको बारेमा कसरी विवरण प्राप्त गर्‍यो भन्नेचाहिँ उल्लेख गरेको छैन । प्रहरीले अनुसन्धान कार्य भइरहेको जनाएको छ । 
 
अमेरिकाको संघीय जाँच व्यूरो (एफबिआई) ले कतिपय घटनामा यसरी गैरकानुनी कार्यमा संलग्नका बारेमा सम्वद्ध देशका अधिकारीलाई जानकारी दिई कारबाही गर्न अनुरोध गर्ने गर्छ । 
विभिन्न बाहना बनाउँदै फोनमार्फत ठगी गर्ने कतिपय भारतमा पनि पक्राउ परेका उदाहरण छन् । अमेरिकी अधिकारीको अनुरोधमा भारतले समेत अमेरिकामा ठगी गर्नेलाई कारबाही गर्ने गरेको छ । 
 
नेपालको बैंक ह्याकिङ्गका बारेमा अमेरिकाले पटकपटक नेपाललाई सजग गराउँदै आएको छ । चीनका नागरिकले नेपालस्थित बैंकको एटिएमबाट गैरकानुनीरुपमा पैसा निकालेका बारेमा त्यसबेला अमेरिकाबाट सम्वद्ध बैंकलाई तत्काल जानकारी दिइएको थियो । सोही जानकारीका आधारमा चिनियाँ ठूलो गिरोह पक्राउ परेका थिए ।   
 
अमेरिकामा रहेका केही नेपालीको बैंक खातामा अप्रत्याशित रुपमा ठूलो रकम देखिएकाले यस्ता व्यक्तिलाई उक्त पैसाको स्रोत खेज्दै अमेरिकाको राजश्व विभाग आइआरएसले पत्र पठाएको जानकारीमा आएको छ ।