न्युयोर्क, अमेरिका- न्युयोर्कमा नेपालीहरुको व्यापार तथा लगानी सम्मेलन शुरु भएको छ । नोभेम्बर २१ मा सम्मेलनको औपचारिक उदघाटन गरिएको हो । सम्मेलनलाई सांसद एवं रास्वपाका नेता दिपक बोहरा र न्युयोर्कका नेपाली महावाणिज्य दुत दधिराम भण्डारीले संयुक्त रुपमा दियो बालेर उदघाटन गरेका थिए ।
उदघाटन मन्तव्य दिंदै सांसद बोहराले राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणा गरे अनुसार नै डायस्पोरालाई सवल तथा उनीहरुलाई सहजीकरण गरिने बताए । बोहराले विदेशमा हुने नेपालीहरुको व्यापार सम्मेलनले व्यापार र लगानीको अझै बृहत मार्ग खुल्ने विस्वास व्यक्त गरे । उनले गैर आवासीय नेपालीको हक अधिकार स्थापना गर्ने अनि गैर आवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनलाई तत्कालै सहज बनाइने प्रतिबद्धता जनाए । सांसद बोहोराले नेपालका सरकारी काममा हुने प्रक्रियागत ढिला सुस्तीलाई अन्त्य गर्न सरकारले कदम चालिरहेको बताए ।
त्यसैगरी महावाणिज्य दुत भण्डारीले लागानी सम्मेलनले नेपाल र डायस्पोराको विचमा पुलको कार्य गर्ने तथा विदेशी पूँजी तथा दक्षतालाई नेपालमा लगानी गर्न मद्धत गर्ने बताए । नेपाल र अमेरिकाको ८० औं दौत्य सम्बन्धको प्रसंग उल्लेख गर्दै भण्डारीले दुई देशको साझेदारीलाई प्रमाणित गर्नपनि विजनेश समिट जस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सका अध्यक्ष एवं समिटका आयोजक प्रदिप श्रेष्ठले समिटमा सहभागीहरुप्रति आभार व्यक्त गर्दै समिटको आयोजना नेपाली व्यवसायीहरुलाई सामुहिक मञ्च उपलव्ध गराउनु र उनीहरुको दक्षतालाई सबैमाझ पुर्याउनु रहेको बताए ।
२० नोभेम्बर देखि शुरु भएको भएपनि सम्मेलनको औपचारिक उदघाटन शनिवार गरिएको हो । बिजनेस समिटमा विभिन्न व्यवयासी तथा लगानीकर्ताहरुले आफ्नो धारणा राख्ने तथा व्यवसाय र उत्पादनको प्रवद्र्धनमा अनुभव शेयर गर्ने गरी कार्यक्रम मिलाइएको छ । विशेषगरी सूचना प्रविधि, कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), रियल स्टेट लगायतका व्यवसायमा आफ्नो दक्षता हासिल गरेका वा शुरु गर्दै गरेका व्यवसायी तथा लगानीकर्ताहरुविचमा अन्तरक्रिया भइरहेको छ ।
तीन दिनसम्म हुने सम्मेलनको पहिलो दिन सञ्जाल तथा साझेदारी निर्माणमा केन्द्रित कार्यक्रमहरु राखिएको थियो । पहिलो दिन स्टार्ट अप अर्थात व्यवसायीहरुले नवउद्यम, लगानी तथा व्यवसायिक अवधारणहरु प्रस्तुत गरेका थिए । सो अवसरमा सञ्जोग कोइराला, मिङमार तामाङ, आदित्य सुवेदीले उत्पादनलाई कसरी लोकप्रीय र बजारीकरण गर्ने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । सोही दिन कपिल देपकोटा, एली स्कील, आशिष पराजुली, विश्व गीरी, सेसर कोइराला सुर्य यादव, राधेष पण्डित, भाष्कर ज्ञवाली लगायतले अफ्नो व्यवसाय सम्बन्धी धारणा र अनुभव सुनाएका थिए ।
त्यसैगरी समिटको दोस्रो तथा मुख्य दिन औपचारिक उदघाटन लगत्तै विभिन्न लगानी सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । दोस्रो दिन प्रविधि, कृतिम बौद्धिकता र भविष्यको कार्यशक्ति, पर्यटन, उदाउदा अवसरहरु, नेपाल अमेरिका व्यापार लगानी र पूँजी तथा अमेरिकामा नेपाली व्यवसायी लगायतका शिर्षकमा छलफल गरिएको छ ।
सो अवसरमा समिर मास्के, अञ्जली फु्याल, निरेल श्रेष्ठ, आदित्य सुवेदी, सुमन राज तिमिल्सिना, याँकी युक्याव, श्री गुरुङ, प्याट्रीक मार्टिनेज, डा मदन कुमार उप्रेती, नविन क्षेत्री लगायतले छलफल प्यानलमा सहभागीता जनाएका थिए । त्यसैगरी समिर महर्जन, राधेष पण्डितले पनि अमेरिकामा नेपालीको व्यवयाय सम्बन्धमा अन्तरक्रिया गरेका थिए । सम्मेलनको तेस्रो तथा अन्तिम दिन व्यवसायीक मिलान तथा रणनीतिक साझेदारी विषयमा छलफल हुने समिटका आयोजक एवं ग्रेटर न्युयोर्क च्याम्बर अफ कमर्सका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अमेरिका, क्यानाडा तथा आसपासमा बसोबास गर्ने झण्डै तीन सय व्यवसायी तथा लगानीकर्ताको सहभागीता रहेको र सो संख्या सम्मेलनको तेस्रो दिनसम्म अझै बढने श्रेष्ठले जानकारी दिएका छन । विजनेस समिट न्युयोर्कको जेफके विमानस्थलको होटल मेरियटमा भइरहेको छ । सम्मेलनको समापन नोभेम्बर २२ तारिख आइतबार हुनेछ ।














प्रतिक्रिया