मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष डा शेष घलेले पाएका छन् । 

 
महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको एनआरएनएको १०औँ महाधिवेशन तथा आइसिसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । शनिबार भएको संघको ८१औँ आइसिसी पूर्ण बैठकले घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ । 
 
समितिमा पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष कुमार पन्त पनि सदस्य रहेका छन् । समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन् । बैठकले संघको १०औँ महाधिवेशन तथा आइसिसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । 
 
आगामी २८ फेब्रुअरीमा नयाँ आइसिसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषद्मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । महाधिवेशन प्रतिनिधिको चयन विधानसम्मत र विगतको अभ्यासअनुसार चयन गर्ने र त्यसको निक्र्योल घले नेतृत्वको समितिको उच्चस्तरीय समितिले गर्ने सहमति भएको छ । 
 
‘समितिले आवश्यक ठानेमा माथि उल्लेखित काम सफलतापूर्वक गर्नका लागि कानुनी, आइटीलगायत विशेषज्ञहरु रहेको स्वतन्त्र समितिसमेत गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउनुपर्ने’ पनि आइसीसी बैठकले गरेको छ । 
 
“यो निर्णय काम अगाडि बढाउनका लागि हो’’, संघका अध्यक्ष पन्तले भने । उनले तोकिएको मितिमा सबै काम पूरा हुन नसकेमा उच्चस्तरीय समितिले तय गरेको मितिमा हुने र त्यसमा कसैमा कसैको दुईमत नहुने दाबी गरे । आइसिसीको यो निर्णयसँगै कुमार पन्त नेतृत्वको वर्तमान आइसिसी पुनः कामचलाउ भएको छ । 
 
यसअघि परराष्ट्र मन्त्रालयले पनि संरक्षक परिषद्लाई नै निर्वाचन र महाधिवेशन गराउने जिम्मेवारी दिएको थियो । त्यसविरुद्ध पन्त अदालत गए पनि चुनाव गराउन नसकेपछि पुनः आइसिसीबाटै संरक्षक परिषद्लाई नै चुनाव र महाधिवेशन गराउने जिम्मेवारी दिएको हो । संघको पछिल्लो निर्णयले सहमतिका लागि आधार तय गरेको अध्यक्षका प्रत्यासी तथा सल्लाहकार कुल आचार्यले बताए । 
 
“हामी सहमतिबाट नै विधानअनुसार निर्णय होस् भन्नेमा थियौ । आजको सहमतिले विधानको कार्यान्वयन र सहमतिका लागि मार्गप्रशस्त्र गरेको छ”, आचार्यले भने, “विधानको कार्यान्वयन मुख्य मुद्दा हो, जुन शेष घले नेतृत्वको समितिले अपनाउने छ भन्नेमा हाम्रो विश्वास रहेको छ ।” गत अक्टोबरमा नै हुनुपर्ने संघको १०औँ महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण रोकिएको छ । रासस