मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

कर्णालीको मुगु जिल्ला अस्पतालमा पुग्यो एनआरएनए अफ्रिकाको सहयोग

कर्णालीको मुगु जिल्ला अस्पतालमा पुग्यो एनआरएनए अफ्रिकाको सहयोग


गमगढी, मुगु । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानअन्तर्गत कर्णालीको हिमाली जिल्ला मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दस थान अक्सिजिन सिलिन्डर सहयोग भएको छ । दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौँ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन् । 
 
मंगलबार नेपाल पत्रकार महासंघ मुगुका सभापति नृपेन्द्रबहादुर मल्लले मुगु जिल्ला अस्पतालका प्रमुख डा. कविर पौडेललाई उक्त भरी १० थान सिलिन्डर एनआरएनए अफ्रिकाको तर्फबाट हस्तान्तरण गरे ।  
 
उक्त सहयोग बुझ्दै अस्पताल प्रमुख डाक्टर कविर पौडेलले राज्यले दूरदराजका दुर्गम हिमाली जिल्लामा सेवा दिन नसकिरहेका बेला अफ्रिकामा भएका दाजुभाइ, दिदीबहिनीले गरेको यो सहयोग साँच्चै नै भगवान् साक्षात् आई सहयोग गरेको महसुस भइरहेको बताए । उनले आगामी दिनमा पनि यस्तै दुर्गमका गरिब र दुःखी जनतालाई सहयोग गर्न एनआरएनएलाई अनुरोधसमेत गरे ।  
 
एनआरएनए अफ्रिकाले खरिद गरी दिएको सिलिन्डरसहितको अक्सिजनलाई भैरहवा देखी नेपालगञ्जसम्म वेदप्रकाश तिमिल्सिना र नेपालगन्जदेखि मुगुसम्म छायानाथ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै खर्चमा ढुवानी गरिदिएका थिए । 
 
यस्तै, अति दुर्गम हिमाली जिल्लामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै स्थानीय संयोजन गरिदिने नेपाल पत्रकार महासंघ मुगुका सभापति नृपेन्द्रबहादुर मल्ल, अछाम पत्रकार महासंघका सस्थापक सभापति वेदप्रकाश तिमिल्सिना र सहयोग जुटाइदिने एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा, बोत्स्वना अध्यक्ष पदम भण्डारी, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, मोजाम्बिकका अध्यक्ष देवी पौडेललगायत एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समिति र सदस्यहरुलाई एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले हार्दिक आभार व्यक्त गरेका छन् ।