धनकुटा नेपालकै गौरवपूर्ण अतीत भएको ऐतिहासिक स्थल हो । नेपाली इतिहासको कालखण्डमा यसको आफ्नै विशेषता र पहिचान रहिआएको छ । धनकुटाको प्रामाणिक इतिहास भने अठारौँ शताब्दीदेखिको मात्र पाइन्छ । धनकुटाको नामकरणका सम्बन्धमा पनि विभिन्न भनाइ र अनुमानहरू गरिएका छन् । पहाडको टाकुरामा रहेको स्थान, दुईवटा थुम्का र त्यसैको समीपमा पोखरी हेर्दा धान कुट्ने ओखल जस्तो देखिने भएकाले यस ठाउँको नाम धनकुटा रहेको हुनसक्छ । धनकुटाका आदिवासी राईहरू धान्यकुटीबाट आई हालको धनकुटामा बसोबास गर्न थालेकाले यस ठाउँको नामकरण धनकुटा हुन पुगेको जस्ता भनाइ छन् (ठाकुर खराल, धनकुटा बोल्छ, पृ १–३०) । यस सम्बन्धमा फरक फरक भनाइ रहे पनि धनकुटा शब्द आदिवासी राईहरूकै भाषा र संस्कृतिसित सम्बन्धित रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ । यस विषयमा पनि भविष्यका अनुसन्धानले कुनै ठोस तथ्य सार्वजनिक गर्ला । आशा गरौँ ।
नेपालमा प्राचीन कालमा किरात वंशको शासन थियो । लिच्छविहरूबाट पराजित भएपछि किरातीहरू पूर्वतर्फ लागे । यसै क्रममा उनीहरूकै एउटा हाँगो राईहरू धनकुटा पुगेको अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहको राज्यएकीकरण अभियानपूर्व त्यस भेगमा किरातीहरू नै शासक थिए । हालको धनकुटा क्षेत्रमा विभिन्न ससाना स्वतन्त्र सामन्त शासकहरू थिए । कालन्तरमा सेन राज्य विजयपुर क्षेत्रमा स्थापना भएपछि केही सुविधा लिएर उनीहरूले सेन राज्यको प्रभुत्व स्वीकार गरे । (ठाकुर खराल, धनकुटा बोल्छ, पृ १४–१८) । पछि पृथ्वीनारायण शाहले पनि किरातीहरूलाई केही स्थानीय अधिकार दिई उक्त क्षेत्र नेपाल अधिराज्यमा गाभे । धनकुटा पल्लोकिरातअन्तर्गत पर्दथ्यो भने यस क्षेत्रको सदरमुकाम चाहिँ चैनपुर थियो । त्यसबेलासम्म प्रशासनको केन्द्र धनकुटा बनेकै थिएन । राजेन्द्रलक्ष्मीको नायबीकालमा बुद्धिकर्ण राईको विद्रोहलाई दबाएपश्चात् धनकुटा प्रशासनिक एकाइका रूपमा स्थापित हुन पुग्यो । जनरल भीमसेन थापाको मुख्तियारी कालमा धनकुटा पल्लोकिरात क्षेत्रको प्रशासनिक केन्द्रका रूपमा पूर्णरूपले स्थापित भइसकेको थियो । सोही कालमा धनकुटा बजार विकसित हुन थाल्यो । बालनरसिँह कुँवर धनकुटाका तैनाथवाला भएको बेला उनका छोरा जंगबहादुरको बाल्यकाल पनि धनकुटामा नै बितेको थियो । राणाकालमा त पल्लोकिरात क्षेत्रको सदरमुकाम नै धनकुटा रहन गयो । बडाहाकिम पनि त्यहीँ बस्न थाले । स्मरण रहोस्, बडाहाकिमलाई पहिले ठूलाहाकिम भनिन्थ्यो ।
श्री ३ वीरशमशेर पनि एकपटक धनकुटाका बडाहाकिम भएका थिए । राणाकालमा निर्वासित भएका श्री ३ देवशमशेरलगायतका कयौँ राणा एवम् शाहहरू पनि धनकुटा आइपुगे । जसले धनकुटा बजार गुल्जार हुँदै गयो । हालका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर क्षेत्र तत्कालीन धनकुटाबाटै प्रशासित थिए । तसर्थ राणाकालमा शिक्षा, स्वास्थ्य, संस्कृति तथा व्यापारको केन्द्रका रूपमा धनकुटा परिचित हुन थाल्यो । राजधानीपछि पाल्पा, धनकुटा, डोटी जस्ता ठाउँहरू पनि केन्द्रका रूपमा गणना हुन्थे । उचित हावापानी भएकै कारण राजधानीबाट लखेटिएका शाह र राणाहरू धनकुटा बस्न रूचाउँथे ।
सम्बत् २००७ सालको परिवर्तनमा विनारक्तपात नै धनकुटा आन्दोलनकारीको कब्जामा पुगेको थियो । धनकुटा पूर्वको केन्द्र बन्न पुगेको थियो र विकसित पनि । धनकुटाको विकासमा विभिन्न कारणहरू सहयोगी थिए, जसको चर्चा यथास्थानमा गरिने नै छ । सम्बत् १९०४ को ल्हासा सम्झौताबाट भोटसम्म आन्तरिक र बाह्य व्यापारमा नेपालको एकाधिपत्य कायम हुन सकेन । जसका कारण ओलाङ्चुङगोला मार्ग प्रभावित भयो । यसले परोक्ष रूपमा नेपाललाई पनि असर पर्न गयो । सम्बत् १५५० मा चीनले भोट कब्जा गरेपछि त ओलाङचुङ नाका बन्द नै भयो । जसकोे व्यापारिक मार्गमा पर्ने धनकुटाको चहलपहल कम हुँदै गयो । पञ्चायती व्यवस्थामा पनि धनकुटाले खासै प्रगति गर्न सकेन । तथापि, वीरेन्द्र राजा भएपछि विसं २०२९ सालमा नेपाललाई चार विकास क्षेत्रमा विभाजन गरी प्रशासनिक गतिविधि सञ्चालन गरिएकोमा २०३७ सालमा ५ विकास क्षेत्रको अवधारणा आयो । तीमध्ये पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम धनकुटा कायम रहेको हुँदा क्षेत्रीय कार्यालयहरू धनकुटामा नै थिए । विसं २०३५ सालपछि धनकुटा नगर योजनाको कार्यालय स्थापना गरी बृहत्तर नगर योजनाअनुरूप धनकुटामा सहरी क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, कार्यालय क्षेत्र, जस्ता क्षेत्रको वर्गीकरण गरी विकासको पूर्वाधार तयार पारी कार्य प्रारम्भ भएको थियो । त्यसैको फलस्वरूप अहिले पनि धनकुटामा रहेका कार्यालयहरू प्रायः सबै देब्रेबासमा एकै ठाउँमा भेटिन्छन् । औद्योगिक विकासका लागि धनकुटा आदमाराको ठूलोबारी टार सरकारले विभिन्न व्यक्तिहरूबाट अधिग्रहण गरी औद्योगिक विकासको प्रारम्भ पनि गरेको थियो । यसले गर्दा धनकुटामा विकासका सम्भावना बढेर गएको थियो । तर, २०४६ सालमा आएको राजनीतिक परिवर्तनले राजाको इच्छा र अधिकार दुवै खुम्चिन गयो । राजनीतिक दलका नेताहरूको ध्यान धनकुटाले खिच्न सकेन । त्यसैले व्यवस्था परिवर्तनले धनकुटाका विकासका सम्भावना पनि क्रमशः खुम्चिँदै गए र शून्यप्रायः हुनपुगे । धनकुटाको विकास र विस्तारमा पञ्चायतकालीन र प्रजातन्त्रपश्चात्को अवधिलाई तुलनात्मक रूपमा हेर्ने हो भने व्यवस्था परिवर्तन धनकुटाका लागि अभिसाप बन्न पुग्यो भन्न सकिने अवस्था देखिन्छ । यति हुँदाहुादै पनि पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रहेको हुँदा क्षेत्रीय कार्यालयहरू धनकुटामा नै थिए । यसले गर्दा केही चहलपहल भने कायमै थियो । हाल विकास क्षेत्रको अवधारणा पनि समाप्त भइसकेको छ । देश पुनर्संरचनाका कारण संघीयतामा जाँदा प्रदेशको अवधारणा स्थापित भएको छ । तर, प्रदेश १ मा पर्ने ऐतिहासिक स्थल धनकुटा प्रदेशको राजधानी पनि हुन सकेन । त्यसैले अहिले धनकुटा आनो गौरवपूर्ण अतीत सम्झिएर मात्र बसेको छ ।
धनकुटा राणाकालदेखि नै शिक्षामा सचेत थियो । यो गौरवको कुरा हो । राणाकालमा नै धनकुटा पूर्वक्षेत्रको शैक्षिक केन्द्रका रूपमा विकास भएको थियो । यसो हुनुमा त्यहाँका मानिसहरूमा शिक्षाप्रति देखापरेको आकर्षण नै हो । विशेषगरी खस जाति त्यसमा पनि ब्राह्मणहरूमा शिक्षाप्रति गहिरो अनुराग थियो । उनीहरूमा जसरी पनि शिक्षा आर्जन गर्नुपर्छ भन्ने दृढ धारणा थियो । त्यसैले अन्य जातिका सापेक्षतामा ब्राह्मणहरूले नै शिक्षा आर्जनका लागि सङ्घर्ष गरेका दृष्टान्त पनि छन् । धनकुटा प्रशासनिक केन्द्रका रूपमा विकास हुँदै जाँदा शिक्षामा पनि स्वाभाविक विकास र विस्तार हुँदै आयो । समाजले गुरुकुल परम्पराअनुसार परम्परागत रूपमा लिइने शिक्षाको विकल्प पनि खोज्दै थियो । राणा शासकमध्ये देवशमशेर केही उदार स्वभावका शासक थिए । शिक्षाप्रेमी जयपृथ्वीबहादुर सिंहले देवशमशेरसित मिलेर देशमा विभिन्न स्थानमा भाषापाठशाला स्थापना गरे । सोही क्रममा धनकुटामा पनि भाषापाठशाला स्थापना भएको थियो । तत्कालीन समयमा प्रायः ब्राह्मण वटुकहरू शिक्षा आर्जनका लागि भारतको बनारस पुग्दथे ।
उनीहरूको शिक्षामा घरबाट आर्थिक लगानी शून्यप्रायः हुन्थ्योे । तथापि, बनारसमा शिक्षार्जनका लागि पुग्ने वटुकहरूका लागि भने खाने, बस्ने र पढ्ने उचित वातावरण थियो । बनारसमा शिक्षा आर्जन गर्नेहरू नै धनकुटामा आएर गुरुकुल सञ्चालन गर्ने तथा कर्मकाण्ड गर्थे गर्दथे । समाजमा कर्मकाण्डी तथा पुराणवाचक पण्डितहरूको ठूलो सम्मान र इज्जत थियो ।
वीरशमशेरको पालामा गुरु षडानन्दले भोजपुरको दिङ्लामा संस्कृत पाठशालामा स्थापना गर्नुभएको थियो । धनकुटाबाट पनि पढ्नका लागि मानिसहरू दिङ्ला जाने गर्दथे । बनारसमा पढेर आएका स्थानीय शिक्षाप्रेमी तथा तत्कालीन प्रशासनको सहयोगमा धनकुटाको टुँडिखेलछेउमा सम्बत् १९७९ मा गोकुण्डेश्वर स्कुल स्थापना भएको थियो । त्यस स्कुलमा भोजपुर, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लाबाट पढ्नका लागि विद्यार्थीहरू आउँथे । शिक्षकको अभाव नै थियो । भारतको बङ्गाल, बिहार र दार्जिलिङबाट शिक्षक झिकाउनुपथ्र्यो । पछि भने स्थानीय शिक्षकहरूकै बाहुल्यता रह्यो । स्थापनाकालमा १० जना छात्रछात्रा लिएर शिक्षासेवी गजेन्द्रबहादुर प्रधानाङ्गको निजी निवास तल्लोकोप्चेबाट प्रारम्भ भएको उक्त स्कुल सम्बत् १९९१ देखि गोकुण्डेश्वर महादेवस्थानमा सञ्चालन हुन थाल्यो । सोही महादेवकै नामबाट विद्यालयको नाम गोकुण्डेश्वर स्कुल रहन गयो । यस विद्यालयको पहिलो सञ्चालक समितिमा पं छविलाल पोखरेल, गजेन्द्रबहादुर प्रधानाङ्ग, गणेशकुमार कर्माचार्य, गुणराज जोशी, पहलमान प्रधान, डिल्लीनाथ श्रेष्ठ क्रमशः सभापति, सचिव, कोषाध्यक्ष र सदस्य रहनुभएको थियो । विद्यालयको विकासमा लिलाराम पोखरेल, पूर्णलाल श्रेष्ठलगायतको पनि ठूलो योगदान रहेको छ । गोकुण्डेश्वर स्कुल नेपालकै पुरानोमध्येको एक हो । काठमाडौँ उपत्यकाबाहिर खुलेका स्कुलमा तानसेनपछिको यही नै हो जस्तो लाग्छ । देशकै पुरानो स्कुल भएकाले शिक्षाको विकास र विस्तारमा यसले ठूलो योगदान पु¥याएको देखिन्छ ।
धनकुटा अहिले यथार्थमा नै सबै जातको साझा फूलबारी बन्न पुगेको छ । १७ औँ शताब्दीसम्म पल्लोकिरात (लिम्बुवान)मा आदिवासी किराती राई तथा लिम्बुहरूको बसोबासले बाहुल्यता पाएको थियो । धनकुटा लिम्बु जातिको आदि थलो हो । नेपालमा किरातवंशी शासकले राज्य सञ्चालन गरेको इतिहास साक्षी छ । आज पनि किरात सभ्यताका ऐतिहासिक सम्पदा र धरोहर विद्यमान छन् । तत्कालीन समयमा राईलिम्बुहरूको जातीय संस्कृति उत्कर्षमा थियो । त्यस क्षेत्र राईलिम्बुबाहेकका जातजाति शून्यप्रायः थिए । पछि विजयपुरमा सेनवंशी राज्य स्थापना भएपछि क्रमशः खस जातिको पनि बसोबास हुन थालेको देखिन्छ । पृथ्वीनारायण शाहको विजय अभियानदेखि भीमसेन थापाको मुख्तियारी कालसम्म खसहरू बसाइँ सर्दै धनकुटा पुगेका थिए । खस जातिमा विशेषगरी ब्राह्मण क्षेत्रीहरूले जागिर बिर्ता (राष्ट्रसेवा गरेबापत तलबको सट्टा जग्गाजमिन पाइने व्यवस्था) पाएर धनकुटा आई बसोबास बसाए भने कालन्तरमा उनीहरूका स्वजन पनि बसाइँ सर्दै उतै बस्न पुगे । यिनै खसहरू दण्डित भएर दलित (कामी, दमाई तथा सार्की आदि) बन्दै गए । तत्कालीन व्यवस्थामा ब्राह्मण तथा क्षेत्रीहरू लाई दण्ड दिँदा जातच्यूत गरी दलित बनाउने ऐन थियो । संगीन अपराध गरेमा पनि ब्राह्मणलाई मृत्युदण्ड नदिई जातच्यूत नै गरिन्थ्यो ।
धनकुटामै सरकारी सेवा गर्नेहरू पनि तलब नलिएर जग्गा लिई सोही स्थानमा बसोबास गर्न थाले । यसले धनकुटा आसपासका ग्रामीण भेगमा खसलगायतका अन्य जातिको बाहुल्यता बढ्दै गयो । स्थानीयसित किपटका जग्गा लिई बसोबास गर्ने खसहरू पनि धेरै भए । राजधानीबाट निकालिएका शाह एवम् राणाजीमध्ये केहीले बसोबासका लागि धनकुटा रोजे । उनीहरूको साथ लागेर धनकुटा पुग्नेको सङ्ख्या पनि निकै थियो ।
खसबाहेक नेवारहरू पनि धनकुटामा प्रशस्त छन् । उनीहरूले धनकुटालाई रोज्नुका विभिन्न कारणहरू थिए, जसमा प्रमुख कारण व्यापार व्यवसाय नै हो । वैश्य जाति नेवारको प्रमुख पेसा व्यापार हो । नेपालका अन्य स्थान जस्तै धनकुटालाई बजारी क्षेत्रका रूपमा विकासविस्तार गर्न नेवार समुदायको योगदान छ । चीनले तिब्बत कब्जा गर्नुपूर्व भोट–मुग्लान व्यापारको प्रमुख धावन मार्गमा धनकुटा पर्दथ्यो । त्यसैले व्यापारको सिलसिलामा बहुसङ्ख्यक नेवार सम्प्रदाय धनकुटा पुगेका थिए । सरकारी जागिर खाई धनकुटा नै थातथलो बनाउने पनि धेरै भए । यसका अतिरिक्त केही नेवारहरू निर्वासित भएका शाह तथा राणाहरूसित धनकुटा पुगेको पनि दृष्टान्त पाइन्छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपश्चात् पाटनका ६ प्रधानका केही सदस्यहरू पनि सुरक्षार्थ पूर्वतर्फ लाग्दा धनकुटा पुगेका थिए । यसरी धनकुटा क्षेत्र खस, किराती एवम् नेवारको साझा थलो बन्न पुगेको थियो । उनीहरूबचि सद्भाव, समन्वय र एकअर्काको संस्कृतिलाई सम्मान गर्ने परम्परा थियो । नेवारले आफ्नो परम्परा र संस्कृतिमा सम्झौता नगरी खस संस्कृतिलाईसमेत अवलम्बन गरे । नेवार तथा राईहरूले ब्राह्मणलाई पुरोहितसमेत बनाएका थिए । अतः परम्परा र परिवर्तनलाई आत्मसात् गर्दै सांस्कृतिक त्रिवेणी बन्न पुगेका छन्, खस, किरात र नेवारहरू । नेवारलाई अहिले जातविशेषका रूपमा लिइन्छ तर यस धारणामा सत्यता छैन । किनभने, काठमाडौँमा बसोवास गर्ने सबैलाई नेवार नै भनिन्थ्यो । यस तथ्यलाई मध्यनजर गर्दा नेवार जात होइन; समुदाय हो ।
धनकुटाका भूमिपुत्र राईहरू हुन् । उनीहरू निशान भगवतीको रक्षार्थ आठै प्रहर खटिने भएकाले तत्कालीन स्थानीय शासकले उनीहरूलाई शिरपोस पगरीद्वारा सम्मानित गरेका थिए । सोही पदवी आठपगरिया नै अपभ्रंश भएर आठपहरिया भएका हुन् भन्ने भनाइ छ (जनार्दन घिमिरे, श्री निशान भगवती मन्दिर धनकुटा सङ्क्षिप्त इतिहास, २०७५) । स्मरण रहोस्, छिन्ताङ देवीका पुजारी अहिले पनि राईहरू नै हुने गरेका छन् । राईहरूको पर्व वैशाखी (ओमाडाक) भदौरे चाड (चाममुन्द्री), छोङलाराङमामा अन्य जातिको पनि सहभागिता हुन्थ्यो । स्थानीय तारो हान्ने प्रतियोगितामा अरुले पनि भाग लिन्थे । कोका र कोसीको सङ्गमलाई पवित्रस्थल मान्ने राईहरू यसैलाई आफ्नो उद्गमस्थल मान्दथे । सोही स्थानमा बराहक्षेत्र जस्तो हिन्दुको पवित्र तीर्थ पनि पर्दछ । सबैबीच धार्मिक सहिष्णुता थियो । यहाँ राईहरूको मुख्य चाडमा सार्वजनिक बिदा दिइन्थ्यो, जुन २००८ सालपछि बन्द भयो ।
धनकुटाका नेवारहरूले नेवार संस्कृतिअनुसार नै चाडपर्व र जात्रा मनाउने गर्दथे । उनीहरू गाईजात्रा, रोपाइँजात्रा, कृष्णाष्टमी गठेमङ्गल जस्ता पर्वहरू मनाउँथे । जसमा स्थानीयको पनि ठूलो सहभागिता हुन्थ्यो । दशैँलाई सबैले साझा पर्वका रूपमा मनाउँथे । खस, नेवार र किरातीहरूको आपसी एकता र सहिष्णुताका कारण धनकुटाले शिक्षा, स्वास्थ्य, खेलकुद, साहित्य जस्ता कुरामा प्रगति गर्न सक्यो । धनकुटाले साहित्य, कला, विज्ञान र अन्य क्षेत्रमा मुलुककै प्रतिष्ठित व्यक्तित्वहरू जन्माएको छ ।
सम्बत् २००७ सालको आन्दोलनमा साम्प्रदायिक दङ्गा हुने सङ्केत देखापरेको थियो तर ट¥यो । सम्बत् २०१५ सालपछि नजानिदो रूपमा जातीय राजनीति हाबी हुन थाल्यो । पञ्चायतकालमा पनि जातीय राजनीतिले प्रश्रय नै पायो । विसं २०४६ पश्चात् त धर्म, जातीयता र राजनीतिको सम्मिश्रण गर्ने परिपाटी नै चल्न थाल्यो । धर्म र जातीयताको राजनीतिक नारा घन्काउँदा धनकुटाले के पायो, के गुमायो ? लेखाजोखा गर्ने बेला आएको छ ।
धनकुटाको ऐतिहासिकताका विषयमा टङ्कप्रसाद न्यौपानेका निम्न उद्गार मर्मस्पर्शी छन् ः
…धनकुटा नागाकालदेखिकै सभ्यताको केन्द्र मानिन्छ । नेपालको कुनै पनि लिखित इतिहासले नागाबस्तीका सम्बन्धमा उल्लेख नगर्नु आफ्नो कस्तुरी आफैँले नचिन्नु बराबर हो । बेलहारामा पाइने नागाहोम्खा, नागाचिहान र साङताङमा नागाहरूद्वारा रोपिएको भनी आएका दुईवटा रुखहरूले समेत यस क्षेत्रमा नागाबस्ती भएको प्रमाणित गर्दछन् । आठपहरिया राईको उत्पत्ति स्थल धनकुटा नै हो । धनकुटामा मात्र पाइने आठपरिया र छुलुङ जाति तथा भाषा अन्तराष्ट्रिय अनुसन्धानको क्षेत्र हुनसक्छ । यहाँका मगरहरूको हुर्रा, याम्खाहरूको डोकेनी आठपरियाको पापुनी ढोल नृत्य हरू तथा बिनायो मुर्चुङ्गा च्याब्रुङ, कठताल जस्ता लोकवाद्यहरूले धनकुटालाई र त्यहाँको जीवनलाई बँचाएका छन् । –टीकाप्रसाद लामिछाने (सम्पा.) पूर्वाञ्चलमा धनकुटा, २०६० ।
प्रतिक्रिया