मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
विचार / ब्लग    

राजनीतिशास्त्रको विकृत ‘गेरीम्याण्डरिङ्ग’ अमेरिकामा अझै किन प्रिय ?

राजनीतिशास्त्रको विकृत ‘गेरीम्याण्डरिङ्ग’ अमेरिकामा अझै किन प्रिय ?

राजनीतिशास्त्रको विकृत ‘गेरीम्याण्डरिङ्ग’ अमेरिकामा अझै किन प्रिय

दुई शताव्दी अघि अमेरिकामा एउटा शव्द ‘क्वाइन’ भयो, अर्थात आविष्कार भयो । तत्कालिन समयमा डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरु अस्तित्वमा नआउँदैको समयको कुरा हो यो ।

म्यासाचुसेट राज्यका तत्कालिन गभर्नर एल्बिज गेरीले पहिलेदेखि कायम रहेको निर्वाचन क्षेत्रबाट चुनाव जित्न नसक्ने भए । त्यो समस्यालाई समाधान गर्न गेरीले आफ्ना समर्थक र शुभचिन्तकको वाहुल्यता रहेको ठाउँमात्र समेट्दै निर्वाचन क्षेत्रको नक्सालाई अनौठो र डरलाग्दो छेपारोको आकृति दिए । निर्वाचन क्षेत्रलाई आफ्ना समर्थक भएको र प्रतिस्पर्धी दलको उपस्थिती कमजोर भएको स्थानमात्र राखे । ताकी सहजै जित्न सकियोस् ।

आफ्नो अनुकुलको निर्वाचन क्षेत्र बनाउने पद्धती राजनीतिशास्त्रमा अहिलेसम्म पनि बदनाम कार्यका रुपमा पढाइन्छ । अनुचित राजनीतिक फाइदाको लागि निर्वाचन क्षेत्रका सिमाना हेरफेर गर्ने १९ औं शताव्दीको सुरुवात सन् १८१२ मा गरिएको राजनीतिक रणनीति अन्ततः २१ औं शताव्दीमा समेत वदनाम कार्यका रुपमा चित्रित हुने गरेको छ । जसलाई संसारभरि राजनीति शास्त्रमा कुप्रथा, कुचलनका रुपमा व्याख्या गरिन्छ । गेरीले हस्ताक्षर गरेको कानुन र निर्वाचन क्षेत्रको आकार छेपारो जस्तै जीव जस्लाई ‘सलामाण्डर’ भनिन्छ । ती दुई शव्दबाट उक्त कार्य ‘गेरीस्लामाण्डरिङ्ग’ रुपमा नामाकरण हुनपुग्यो । पछि अपभ्रंश हुँदै गेरीम्याण्डरिङ्ग भयो ।

मूल रूपमा गेरीम्यान्डरिङ्ग शब्द पहिलो पटक मार्च २६, १८१२ मा बोस्टन गजेटमा प्रयोग गरिएको थियो । गभर्नर एल्ब्रिज गेरीको नेतृत्वमा म्यासाचुसेट्स राज्य सिनेट चुनाव जिल्लाहरूको पुनः रेखाचित्रको प्रतिक्रियाका रूपमा यो शव्द प्रयोग हुन थाल्यो । पुनर्निधारण उनको डेमोक्रेटिक रिपब्लिकन पार्टीको आदेशमा गरिएको थियो । त्यतिखेर डेमोक्रेटिक रिपब्लिकन र फेडरलिष्ट नामका दुइ पार्टी अस्तित्वमा थिए । विधेयकमा हस्ताक्षर गर्ने गेरी नै थिए। फलस्वरूप, उनी यसको विवादास्पद र अपजशयुक्तअर्थ सहित दोषीको भागीदार भए । वास्तवमा, गेरी यो चुनावमा पराजित भए । तर पुनर्वितरण सफल भयो, उनको पार्टीले व्यवस्थापिकाको नियन्त्रण कायम राख्यो।

बोस्टन क्षेत्रको पुनर्नक्सा गरिएको, विकृत जिल्लाहरू मध्ये एक कहानीको स्यालामेन्डरको आकार जस्तो देखिन्छ । एसेक्स काउन्टीको नयाँ बनाइएको राज्य सिनेट जिल्लालाई कार्टुनहरूमा एउटा अनौठो पखेटा भएको ड्र्यागनको रूपमा चित्रण गरिएको थियो, जसले यस क्षेत्रमा टाँसिरहेको थियो।

गेरीम्यान्डरिङ्ग शब्द क्वाइन गर्ने व्यक्तिको कहिल्यै पहिचान भएन। यद्यपि, राजनीतिक कार्टुन बनाउने कलाकार एल्काना टिस्डेल थिए, जो बोस्टनमा बस्ने कलाकार थिए । जोसँग मूल कार्टुनको लागि ब्लकहरू काट्ने सीप थियो। उनैले बनाएको अनुमान पनि गरिन्छ ।

गेरी स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षरकर्ता, प्रतिनिधि सभाका दुई कार्यकाल सदस्य, म्यासाचुसेट्सका गभर्नर र जेम्स म्याडिसनको नेतृत्वमा उपराष्ट्रपति समेत भए। यद्यपि, देखाइएको कार्टुनले उनको नाम सधैंभरि राजनीतिक शक्ति दमनको यस रूपसँग नकारात्मक रूपमा जोडिएको थियो, जुन प्रायः गेरीम्यान्डर विकृत स्वरूपका साथ राजनीतिशास्त्रमा स्थापित वा परिचित हुनपुग्यो ।

पुस्तकालयको दुर्लभ पुस्तक तथा विशेष सङ्ग्रह विभागले छविको मूल प्रिन्ट राखेको छ । भूगोल तथा नक्सा विभागले टिस्डेलको मौलिक काठका ब्लकहरू राखेको छ । जसले दुई शताब्दी पछि पनि जारी रहेको राजनीतिक अभ्यासको उत्पत्तिलाई संरक्षण गरिरहेको छ ।

तर यो अभ्यास अमेरिकाको स्थापना भन्दा पहिले नै सुरु भइसकेको थियो। १८औं शताब्दीको इंग्ल्याण्डमा “rotten boroughs” बनाइन्थ्यो । जहाँ थोरै मतदाताहरूलाई प्रयोग गरेर सिट जित्ने रणनीति अपनाइन्थ्यो। अमेरिका स्थापना भएपछि पनि भर्जिनिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा राजनीतिक लाभका लागि सीमाङ्कन हुन थाल्यो ।

गेरीरिम्याण्डरिङ विशेष गरी तीव्र राजनीतिक प्रतिस्पर्धा भएको समयमा बढ्दो देखिन्छ। सन् १९६० को दशकमा अमेरिकी सर्वोच्च अदालतले “equal population” को सिद्धान्त लागू गरेपछि सीमांकनमा केही सुधार आयो। तर कम्प्युटर प्रविधिको विकाससँगै राजनीतिक दलहरूले अझै फाइदा पुग्ने तरिकाले सीमाङ्कन गर्न थाले, जसले गेरीम्याण्डरिङलाई नयाँ रूप दियो।

गेरीम्याण्डरिङ्ग एक हिसाबले निर्वाचन क्षेत्रको सीमाङ्कनलाइ राजनीतिक लाभका लागि हेरफेर गर्ने प्रक्रिया हो। यसले मतदाताको प्रभावलाई कमजोर पार्छ र प्रतिनिधित्वलाई विकृत बनाउने राजनीतिशास्त्रका ज्ञाताहरूले भन्ने गरेका छन् ।

टेक्ससमा अहिलेको गेरीम्याण्डरिङ विवादः
टेक्ससमा हालको विवाद सामान्य पुनः सीमाङ्कन प्रक्रिया होइन। सन् २०२६ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै रिपब्लिकनहरूले दशकको मध्यमा पुनः सीमाङ्कनको प्रस्ताव ल्याएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक टोलीले टेक्ससका नेताहरूलाई दबाब दिँदै पाँच अतिरिक्त सिट जित्ने रणनीति बनाएको छ।

रिपब्लिकन पार्टीको प्रतिनिधि सभा बहुमत निकै कमजोर छ—२१९ सिट अर्थात मात्र चार सिटको अग्रता। अमेरिकी तल्लो सदनको ४३५ सिटमध्य २१२ सिट डेमोक्रेटिक पार्टीले जितेको छ ।

सामान्यतया अमेरिकामा वहालवाला राष्ट्रपतिको कार्यकालको बीचमा हुने हाउसको चुनावमा राष्ट्रपतिको दलले कम सिट जित्ने चलन जस्तै छ । सन् २०२६ को नोभेम्बरमा हुने हाउसको चुनावमा रिपब्लिकनले हार्ने संभावना छ । त्यसो हुँदा रिपब्लिकनका लागि तुलनात्मक रूपमा बढी कम्फर्टेबल राज्यका रूपमा चिनिएको टेक्ससबाट पाँच सिट जित्नेगरि सीमाङ्कन अदलबदल गर्न खोजिएको छ । जुन कार्य गैरकानुनी त होइन, तर दशकको मध्यमा गर्ने चलन अमेरिकामा छैन ।

पाँच सिट थप्न सकियो भने राष्ट्रिय स्तरमा ठूलो प्रभाव पर्ने विश्लेषण सहित रिपब्लिकनको बहुमत रहेको टेक्सस राज्यका गभर्नर र टीम अघि सरेको छ । टेक्ससबाट अमेरिकी तल्लो सदन हाउसमा ३८ सिटको कोटा छ । यी मध्य २५ रिपब्लिकन र १२ सिट डेमोक्रेटिक पार्टीले जितेका छन् । एक सिट हाल खाली छ । डेमोक्रेटिक पार्टीले जितेको १३ सिटबाट ५ सिट खोसेर ८ मा झार्ने रणनीति अनुसार गेरीम्याण्डरिङ्ग शुत्रको सहायता रिपब्लिकनले लिएका छन् ।

नयाँ प्रस्तावित नक्साले अष्टिन, ड्यालस र ह्युस्टनका डेमोक्र्याटिक क्षेत्रहरूलाई पुनः संरचना गर्ने योजना बनाएको छ । यी क्षेत्रहरू ‘सोलिड’ डेमोक्रेटिक पार्टीका गढ हुन् । टेक्ससका गभर्नरको प्रस्ताव अनुसार यी निर्वाचन क्षेत्रहरूलाइ भताभुङ्ग बनाएर नक्सा तन्काउँदै ग्रामिण भेगसम्म जोड्न खोजिएको छ । टेक्ससका ग्रामिण क्षेत्रहरू सोलिड रिपब्लिकन गढमा रूपमा चिचिन्छन् । जहाँ पुरानो सोच बोकेका अनुदारवादी श्वेतहरूको वाहुल्यता छ ।

गेरीम्याण्डरिङ्गलाइ अवलम्बन गर्दै निर्वाचन क्षेत्रको सीमाना हेरफेरले कम प्रतिस्पर्धा सिर्जना गर्छ । अल्पसंख्यकको मतको त्यस्तो अवस्थामा कुनै कदर र सुनुवाइ हुँदैन । अर्को दलको मतसंख्या ज्यादै कम हुने भएकोले चुनाव पनि नाम मात्रको हुन्छ । अहिले टेक्ससमा फेर्न खोजिएको सीमाङ्कनले डेमोक्रेिटक पार्टीले जित्दै अाएको ठाउँमा रिपब्लिकनले लठ्ठी खडा गरेपनि जित्ने गरि फेर्न खोजिएको छ ।

डेमोक्र्याटहरूको बैठक वहिष्कारः
टेक्ससको लागि गेरीम्याण्डरिङ्ग सम्झाउने यो प्रस्तावको विरोधमा टेक्ससका डेमोक्र्याट सांसदहरूले राज्य छाडेर इलिनोइ, न्यूयोर्क, म्यासाचुसेट पुगेका छन्। यसले विधानसभामा कोरम नपुग्ने भएकाले विधेयक पारित हुन सकेको छैन।

डेमोक्रेटिक सांसदहरूले बैठक वहिष्कार गरेपछि गणपुरक संख्या (कोरम) नपुगेर गत साता कुनै बैठक बस्न सकेन । बैठक बस्न सदस्य संख्याको दुइ तिहाइ हुनुपर्छ । टेक्ससको तल्ला सदनमा ८८ जना रिपब्लिकन र ६२ जना डेमोक्रेटिक पार्टीका सांसदहरू छन् । बैठक बस्न एकसय जना उपस्थित हुनैपर्छ । डेमोक्रेटिक पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेर राज्य छाडेपछि गभर्नर ग्रेग एबटले उनीहरूलाई पक्राउ गर्न आदेश दिएका छन्। तर अरू राज्यमा पुगेका सांसदहरूलाइ पक्रेर ल्याएर बैठकमा राख्ने अधिकार गभर्नरसँग छैन ।

गभर्नरले बैठक वहिष्कार गरेको भन्दै सांसद पदबाटै हटाउन समेत पहल गरेका छन् । तर जननिर्वाचित पद भएको हुँदा र जनताकै अधिकार कुण्ठित हुन नदिनका लागि भन्दै उनीहरूले वहिष्कार गरेको हुँदा सांसदबाट हटाउन संभव छैन ।

गभर्नर, महान्यायाधीवक्ता लगायत रिपब्लिकन सांसदहरूले टेक्ससमा गेरीम्याण्डरिङ्गको नयाँ भर्सनका लागु गरेर ट्रम्पलाइ गुन लगाउन धेरै चालबाजी गरिरहेका छन् । यद्यपी डेमोक्रिटक पार्टीका सांसदहरूले बैठकनै बहिष्कार गरेर कतिन्जेलसम्म विधेयकलाइ थेग्न सक्लान् ? यो चाहि शंकाकै घेरामा छ ।

राष्ट्रिय प्रतिक्रिया र रणनीति
न्यूयोर्क र क्यालिफोर्नियाका डेमोक्र्याट नेताहरूले टेक्ससको कदमको प्रतिकारस्वरूप आफ्नै राज्यमा पुनः सीमांकन गर्ने विचार गरिरहेका छन्। न्यूयोर्ककी गभर्नर क्याथी होचुलले “Bring it on” भन्दै कानुनी रणनीति तयार गरिरहेको बताएकी छन्। क्यालिफोर्नियाका गभर्नर ग्याविन न्यूसमले पनि प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

कार्टून साभार: हिस्ट्री डटकम
कार्टून साभार: हिस्ट्री डटकम

निष्कर्षः
गेरिम्याण्डरिङ केवल सीमांकनको प्रक्रिया होइन, यो राजनीतिक शक्ति सन्तुलनको खेल हो। अमेरिकामा यो कार्य राजनीतिकर्मीबीच निकै लोकप्रिय देखिदै अाएको छ । डेमोक्रेटिक पार्टीको पकड रहेको क्यालिफोर्निया, न्यूयोर्क, म्यासाचुसेट, इलिनाेय, वासिङ्गटन, न्यूजर्सी लगायतका राज्यहरूमा पनि जनगणनाको नतिजा पछि क्षेत्रको सीमा हेरफेर गरेर अनुकुल बनाइन्छ ।
रिपब्लिकनको गढ भनिएका टेक्सस, फ्लोरिडा, साउथ क्यारोलाइना लगायतका राज्यमा पनि हुन्छ । तर एउटा राजनीतिकर्मीलाइ फाइदा पुग्नेगरि जनगणना समेत नहुँदै क्षेत्र हेरफेरको घटना भने दुर्लभ हो । हुनतः ट्रम्पले सन् २०२० मा भएको जनगणना र त्यसमा अवलम्वन गरिएको गणना प्रकृया प्रति विमती जनाउँदै अर्को जनगणना गर्नुपर्ने धारणा राखेका छन् । स्मरणीय तथ्य के छ भने सन् २०२० को जनगणना हुँदा ट्रम्पनै राष्ट्रपति थिए ।

टेक्ससमा भइरहेको विवादले के स्पष्ट रूपमा देखाएको छ भने कसरी पुनः सीमाङ्कनलाई राजनीतिक अस्त्रको रूपमा प्रयोग गरिन्छ। डेमोक्र्याटहरूको विरोध र रिपब्लिकनहरूको रणनीति सन् २०२६ को निर्वाचनमा निर्णायक बन्न सक्छ।

शेयर गर्नुहोस:

1.6k
Shares