मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएले दुई करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने

एनआरएनएले दुई करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।
 
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरुका लागि १०० वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।
 
बैठकमा गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डरलगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिए ।
 
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदा हुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढी  रहँदा बिरामीहरुले अस्पतालमा बेडसमेत नपाउने अवस्था रहेको जानकारी दिए ।
 
बैठकमा संघका उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितिसँग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सक्रियतमा टेलिमेडिसिन सञ्चालन भइरहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए ।  
 
बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान् गरे  ।
 
बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।
 
बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन् ।
 
बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोरोना भाइरसको संक्रमणका विरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भइरहेको जानकारी दिए ।
 
संघका महासचिव डा. हेम राज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीनलगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसिसी सदस्यहरुको उपस्थिति थियो ।
 
बैठकमा बोल्ने बक्ताहरुले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसिआर टेस्ट, स्वास्थ्यसम्बन्धी जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेको थियो ।