मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

संकटका बेला गैरआवासीय नेपालीको भूमिकाको प्रशंसा

संकटका बेला गैरआवासीय नेपालीको भूमिकाको प्रशंसा


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।
 
एनआरएनएको विशेष साधारण सभाको भर्चुअल उद्घान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । मन्त्री ज्ञवालीले संघले संकटका बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको जनाए । 
 
मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्दै भने,  संकटको  यस अहं परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।
 
नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले  नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरिएको जानकारी दिए । 
 
महाधिवेशनलाई  सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विपन्न देश नेपालमा ठूलो लगानीको आवश्यकता रहेको र विदेशमा हरेक नेपालीले नेपालको उत्पादनमूलक क्षेत्रमा  लगानी ल्याउन जोड दिनुपर्ने बताए ।
 
एनआरएनका प्रमुख संरक्षक तथा पूर्वाध्यक्ष शेष घलेले संस्थालाई साझा सङ्गठनका रुपमा अघि बढाएर सानो संयुक्त राष्ट्र संघका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । अर्का पूर्वाध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउन्डेसन, भिजन २०२० लगायत विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।  
 
संघका संरक्षक तथा पूर्वाध्यक्ष जीवा लामिछानेले  कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामना गर्नाको विल्कप नभएको  बताउँदै गैरआवासीय नेपालीले आर्जन गरेको विश्वासलाई कायम राख्न र  संघको शाख बचाइराख्न सबैलाई आग्रह गरे ।
 
एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियानअनुसार सबैलाई संस्थाको विकासका लागि एकता आह्वान मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीका लागि जोड दिए ।
 
कार्यक्रममा एनआरएनएका संस्थापक  रामप्रताप थापाले संस्थाभित्र मेरो र तेरो नभई सामूहिकरुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नुपर्नेमा जोड दिए । भर्चुअल रुपमै दुई दिनसम्म चल्ने संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । 
 
एनआरएनएका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रमा सञ्चालन संस्थाका उपाध्यक्ष रविना थापा, महासचिव डा हेमराज शर्मा, सल्लाहकार कुल आचार्य, टिबी कार्की, उपाध्यक्ष डा बद्री केसी, सोनाम लामालगायतले शुभकामना मन्तव्य दिएका थिए । रासस