मोरिसभिल, नर्थ क्यारोलाइना (अमेरिका)– नर्थ क्यरोलाइना राज्यको मोरिसभिल सहरमा नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।
स्थानीय नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को आयोजना र अमेरिकास्थित नेपाली दुतावास र अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली मूलका संघसंस्थाहरूको सक्रिय सहभागितामा नेपाल दिवस भएको हो ।
नेपालको सांस्कृतिक विविधता झल्किने गरी विभिन्न भेषभुषामा सजिएका करिब सातसय पचास जति नेपाली मूलका र अन्य समुदायका व्यक्तिहरूको उपस्थिति थियो । तीन चरणमा बाँडिएको कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवनदेखि चर्चस्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकी सहित परेड प्रस्तुत गरिएको थियो ।
झाँकीमा नेपालको विविध सांस्कृतिक परिचय झल्कने गरी गौतम बुद्ध, शिव, पार्वती, भानुभक्त आदिको स्वरुपमा सजिएका कलाकारहरूले दर्शकको ध्यान तानेका थिए । त्यस्तै सहभागीहरूले पनि नेपालको उत्तरदेखि दक्षिण र पुर्बदेखि पश्चिमसम्मको विभिन्न परम्परागत जातजातिको प्रतिनिधित्व हुनेगरी पोशाकमा सजिएर विविधतामा एकताको सन्देश प्रबाह गरेका थिए ।
परेड चर्चस्ट्रिट पार्कमा पुगेपछि सभामा परिणत भएको थियो । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली र अमेरिकी राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र अमेरिकी सरकारका विभिन्न तहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।
एनसीएनसीका बोर्ड अफ ट्रष्टी तथा नेपाल दिवस कार्यक्रमका सहसंयोजक डा. ठाकुरबाबु कार्कीले मोरिस्भिलमा यस बर्ष दोस्रो नेपाल दिवस रहेको उल्लेख गर्दै नेपाल दिवसलाई मोरिस्भिल टाउनबाट विधिवत घोषणा गरी स्थापित गराउनको लागि भएका एतिहासिक प्रयासहरू स्मरण गराउँदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।
मोरिसभिल टाउनका पुर्व मेयर मार्कले लिखित संदेश मार्फत नर्थ क्यरोलाइनालाई आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा धनि बनाउन नेपाली मूलका समुदायको महत्वपूर्ण भूमिका रहेको र त्यसैको सम्मानस्वरुप मोरिसभिल टाउनले अप्रिलको तेस्रो शनिबारलाइ नेपाल दिवसको रुपमा घोषणा गरेको स्मरण गराएका थिए । मेयर मार्कले आफु यस ऐतिहासिक कार्यमा सामेल हुन पाउँदा भाग्यमानी महसुस भएको उल्लेख गरे ।
कार्यक्रमका अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले बिदेशमा बसेर आ–आफ्नो कर्म गर्दै व्यस्त रहेर पनि नेपाली संस्कृतिको प्रवर्धन गर्नको लागि सामुहिक स्तरमा भएका प्रयासको प्रसंशा गर्दै आयोजक संस्था एनसीएनसीलाइ धन्यवाद दिए ।
राजदूत कार्कीले विदेशमा रहेर नेपाली संस्कृतिको प्रवर्धको लागि प्रयास गर्ने सबैजना नेपालको सद्भावना दुत हुन् भन्दै गैरआवासीय नेपालीहरूको भूमिका देशको आर्थिक विकाशमा मात्रै हैन, हाम्रो सांस्कृतिक विस्तारमा पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा नासियाका अध्यक्ष माधव ढकालले नर्थ क्यारोलाइनामा यसरी संस्थागत रुपमा नेपाल दिवस मनाउन पाउनु हाम्रो एतिहासिक उपलव्धी भएको र भविष्यमा यसलाई अझ बृहद बनाउँदै लानुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा नेपाल सेन्टर अफ नर्थ क्यरोलाइनाका अध्यक्ष डा बटु शर्माले नेपाल दिवस सम्पन्न गर्न विविध तरहले सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया