काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत वितरणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले राहत पुर्याउने सडक तत्काल मर्मत गर्न र विस्थापितहरूको सुरक्षित पुनर्स्थापनाको लागि ठोस योजना ल्याउन माग गरेका हुन् ।
सांसद राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि त्यहाँको अवस्था अत्यन्त दर्दनाक रहेको संसद्लाई जानकारी गराए । उनले राहत बोकेका सवारी साधन हिलोमा फसेको दृश्य आँखाले देखेको भन्दै पूर्वाधार मन्त्रालय मातहत बन्न लागेको वैकल्पिक सडकको निर्माण कार्य तीव्र बनाउन आग्रह गरे ।
गत भूकम्पपछि बनाइएका घरहरू स्थानीय आवश्यकताअनुसार नभएको औँल्याउँदै उनले एकमुष्ट अनुदान दिएर जनतालाई आफ्नै शैलीमा घर बनाउन दिनुपर्ने सुझाव दिए ।
उनले राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीलाई लिएर आपत्ति जनाए । अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्नेहरूलाई पक्राउ गर्नु गलत भएको भन्दै उनले सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए । देशमा व्याप्त महँगी र दैनिक उपभोग्य वस्तुको अभाव हटाउन उनले सरकारसँग माग गरे ।












प्रतिक्रिया