मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रधानमन्त्री ओली र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ताको ठहर : “खुला सिमाना मित्रताको अनुपम नमूना”

प्रधानमन्त्री ओली र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ताको ठहर : “खुला सिमाना मित्रताको अनुपम नमूना”


नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । 
 
भारतीय राष्ट्रपतिको कार्यालयमा शनिबार साँझ भएको भेटवार्तामा नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित बनाएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमा कुराकानी भएको हो । 
 
भेटवार्ताका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, “खुला सीमा मित्रताको अनुपम नमूना भएकाले यसलाई थप व्यवस्थित बनाउने विषयमा प्रधानमन्त्री ओली र भारतीय गृहमन्त्री सिंहबीच कुराकानी भयो ।” 
 
प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै भारतीय गृहमन्त्री सिंहले आफूले नै भारतमा स्वागत गर्न पाउँदा थप उत्साहित र खुशी तुल्याएको उल्लेख गरे । 
 
नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्री एवं सदाचारको धनीसमेत रहेकाले एक अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान मार्ग प्रशस्त भएको भारतीय गृहमन्त्रीको भनाइ थियो । 
 
भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको प्रमुख कार्यसूची विकास र आर्थिक समृद्धिमात्रै भएकाले त्यसका लागि एक अर्का देशबीच थप सहकार्यका स्रोतहरुको खोजी तथा पहिचान गरेर अगाडि जानुपर्नेमा जोड दिएका थिए । 
 
खुला सिमानाका कारण भारतले मात्रै नभई नेपालले पनि केही समस्या भोगेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई थप व्यवस्थित र दुवै देशका सुरक्षाकर्मीबीच थप समन्वय गरेर अगाडि जानुपर्नेमा जोड दिएका थिए । 
 
भेटवार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको थियो । रासस