वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको सिनेटले जेरोम पावललाई केन्द्रीय बैङ्क फेडरल रिजर्भका प्रमुखको रुपमा पारित गरेको छ । पावललाई फेड अध्यक्ष बनाउने राष्ट्रपतिको प्रस्तावको पक्षमा ८४ जनाले मत दिएका थिए । विपक्षमा भने १३ मत खसेको थियो ।
ट्रम्पले नोभेम्बरमा नै पावलको नाम मनोनित गरेका थिए । उनी फेडरल रिजर्भको बोर्ड अफ गभर्नरका सदस्य पनि हुन् । सन् २०१२ देखि उनी फेडमा आबद्ध छन् ।
अर्थशास्त्र नपढेका ६४ वर्षिय पावल पेसाले वकिल हुन् । विगत तीन दशकयताकै पहिलो पटक यस्तो हुन गइरहेको बताइएको छ । अमेरिकाको विद्यमान मौद्रीक नीतिलाई निरन्तरता दिन सुरक्षित विकल्प भएकोले ट्रम्पले फेड अध्यक्षमा पावलको नाम सिफारिस गरेको विश्लेषण गरिएको छ ।
पावल वित्तीय संङ्कटपछि आर्थिक वृद्धिलाई टेवा दिन ल्याइएको स्टिमुलस कार्यक्रमबाट थुप्रिएको सम्पत्ति विस्तारै घटाउनु पर्ने पक्षमा छन् । फेडले क्रमिक रुपमा ब्याजदर बढाउँदै लैजानु पर्ने नीतिलाई समर्थन गर्ने उनको नीति छ । फेडकी वर्तमान अध्यक्ष ज्यानेट एलेनको वर्तमान कार्यकाल फेब्रुअरी ३ मा समाप्त हुँदैछ । एलेनलाई सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले फेड अध्यक्षमा नियुक्त गरेका थिए । फेड अध्यक्ष बन्ने एलेन पहिलो महिला पनि हुन् । एजेन्सी
प्रतिक्रिया