वासिङटन डिसी (अमेरिका) –अमेरिकामा शनिबार बिहान उठ्दा सरकारको सम्पुर्ण कार्य ठप्प 'सटडाउन' भएको छ । सटडाउन नखुल्दासम्म अत्यावश्यक सेवाका बाहेक अन्य क्षेत्रका संघीय कर्मचारीले गर्ने काम प्रभावित हुने छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हाले यता अमेरिकी सरकार पहिलोपल्ट ‘सटडाउन’ भएको हो ।
सरकारको सटडाउनले प्राय सरकारी कार्यालयहरू बन्द हुनेछन् भने ती निकायले दिने सेवा सुबिधा पनि ठप्प हुनेछ । सन् २०१३ मा पनि अमेरिकी सरकार सटडाउन भएको थियो ।
अमेरिकामा राष्ट्रपतिले बजेट खर्च योजना बजेट पेश गर्छन । यसलाई कांग्रेस र सिनेटले स्विकृत गरेपछि मात्र लागु हुन्छ । राष्ट्रपतिको खर्च अधिकार प्रस्ताव कांग्रेसले स्विकृत गरेपनि सिनेटमा भने आवश्यक बहुमत पुगेन । यसैले सरकार सटडाउनको अवस्था आएको हो ।
पाँच बर्ष यता सरकार यसरी शटडाउन भएको यो दोस्रो पटक हो । तर, इतिहासमा यसअघि पनि पटक पटक यस्तो अवस्था भने आएको छ । शुक्रवार राती सिनेटमा मतदान हुँदा सरकारी खर्च यथावत गर्ने पक्षमा ५० र विपक्षमा ४८ मत मात्र पर्यो । यो पारित हुन ६० मत चाहिन्थ्यो । यसले गर्दा यो खर्च विद्येयक पारित हुन विपक्षी डेमोक्र्याट सिनेटरको पनि समर्थन आवश्यक थियो ।
वासिंटनका राजनीतिज्ञहरु अहिलेपनि यो दुर्भाग्यपुर्ण अवस्थालाई अन्त्य गर्न प्रयासरत छन् । बार्ताहरु भईरहेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्रमा कार्यरत सरकारी कर्मचारीले पारिश्रमिक नपाउने हुँदा काम गर्न वाध्य हुने छैनन ।
यस अघि २०१३ मा यसरी नै ठप्प हुँदा ८ लाख ५० हजार सरकारी कर्मचारी घरै बसेका थिए । मैदानमा खटिएका सेना, हुलाक सेवा, कर प्रशासन लगायत अत्यावश्यक क्षेत्रमा भने यथावत रहने छन् । यसको असर के कस्तो पर्छ शनिवार र आइतवार सरकारी विदा भएकाले सोमवारमात्र देखिने छ ।
आवश्यक खर्च गर्न पाउने विधयेक पारित नभएकोमा राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीलाइ दोष लगाएका छन् । डेमोक्र्याट गैरकानुनी आप्रावासी र कमजोर सिमा चाहन्छन् राष्ट्रपतिले भनेका छन् । हालै ल्याईएको कर सुधारको सफलतालाई कम गर्न पनि डेमोक्र्याट्ले सरकार सटडाउन गराएको उनको आरोप छ ।
वासिंटन प्रशासनले भने कसरी सरकार सटडाउनको असर कम गर्ने त्यसतर्फ विचार गरिरहेको जनाएको छ । तर, कयौं क्षेत्रमा भने यसको असर देखिने वताईएको छ । केही वढी आम्दानी भएर मेडिकेड नपाएका तर, सीएचआईपी भएका बालबालिकाले स्वास्थ्य बीमा पाउने छन वा छैनन यो भने स्पष्ट छैन । खर्च विद्येयकमा यो पनि एउटा मुख्य विवाद थियो । यदी नपाउने हो भने यसवाट ९० लाख बालबालिका प्रभावित हुने छन् ।
सर्वसाधारणको यात्रा भने यसवाट प्रभावित हुने छैन । हवाई सेवासँग सम्वध्द एयर ट्राफिक कन्ट्रोल लगायतलाई अत्यावश्यक सुविधा मानिएकाले यहाँ कुनै असर पर्ने छैन । यात्रा निरन्तर गर्न सकिन्छ । नासाका अन्तरिक्ष यात्रीपनि प्रभावित हुने छैनन् ।
बन्दुकको लाइन्सेन्स लिन, सरकारी खर्चमा संचालन निकुञ्जहरु भने बन्द हुने छन् । यस्ता सेवा लिँदा पहिलेनै जानकारी लिएर कार्यक्रम वनाउनु उपयुक्त हुन्छ ।
नाबालक हुदां गैरकानुनी रुपमा अमेरिका छिरेकालाई यहां वस्न दिन राष्ट्रपति बाराक आबोमाले २०१२ मा डेफर्ड एक्शन फोर चिल्ड्रेन अराईवल (डिएसीए) कानुन ल्याएका थिए । यसले करिव ८ लाख लाई डिर्पोटेशनवाट रोकेको छ । डेमोक्र्याटहरुलाई यसलाई यथावत गर्नु पर्ने पक्षमा छन् । तर, रिपव्लिकनले यसको विरोध गरेका छन् ।
चार वर्ष अघि सन् २०१३ मा भएको सटडाउनमा १६ दिन सरकारी काम ठप्प भएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । त्यतिखेर २ बिलियन डलरको घाटा भएको थियो ।
सन् १९७६ यता सरकार सटडाउन भएको यो १८ औं पटक हो । त्यो भन्दा अगाडि सन् १९९५ र सन् १९९६ मा भएको सटडाउनमा मुलुकलाई सबा १ बिलियन घाटा लागेको थियो ।
अमेरिका बस्ने नेपालीलाई असरः
सरकारी सटडाउनले नेपाली समुदायलाइ पनि असर गर्ने भएको छ । एसाइलम, नागरिकता वा ग्रीनकार्डका लागि आवेदन दिनलाई सरकार ठप्प हुँदा असर पर्ने छ । यसलाई अत्यावश्यक काम नमानिने हुँदा त्यहाँ सरकारी कार्मजारी काममा जाने छैनन् । यसैले यस्तो फाइल अगाडी बढ्न ढिलो हुने छ ।
सन् २०१३ मा सरकार सटडाउन हुँदा त्यतिखेला रोकिएका अध्यागमनका कामले गर्दा अहिले पनि त्यसको असर परिरहेको छ । पहिले ४५ दिनमा हुने एसाइलमको अन्तरवार्ता अहिले ३ वर्षसम्म लाग्दै अाएको छ ।
अमेरिकाका विदेशस्थित नियोगहरु पनि यसवाट प्रभावित हुने छन् । काठमाडौ स्थित अमेरिकी दुतावासको कामपनि प्रभावित हुने छ । त्यहाँ जानु पर्ने अवस्था छ भने पहिलेनै सम्पर्क गर्नु उचित हुन्छ ।
प्रतिक्रिया