मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ड्यालसमा गजलकारहरुले पाए वाहवाह (भिडियो सहित)

ड्यालसमा गजलकारहरुले पाए वाहवाह (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – 
‘फुल सुकेर झरेपछि बासना आफैँ जान्छ,
प्रेम रोग लागेपछि जताततै हान्छ’
 
कवि राधाकृष्ण काफ्लेले गजलको यो सेर वाचन गरिरहँदा दर्शकदीर्घाबाट वाहवाहको स्वर गुन्जिरहेको थियो । अमेरिकामै पहिलो पल्ट टेक्ससको ड्यालसमा आयोजना गरिएको गजल उत्सवको क्रममा गजलकारहरुले जतिपनि गजल वाचन गरे ती सबैले वाहवाही पाए । 
 
गजल यात्रा टेक्ससको आयोजनामा भएको गजल उत्सवमा टेक्ससका ड्यालस, ह्युस्टन, वाकोदेखिका गजलकारहरु आएर गजलहरु वाचन गरेका थिए । अर्बिंगमा अवस्थित नेपाली समाजको हलमा खचाखच भरिएका दर्शक र गजलप्रेमीहरुका बीच अर्की गजलकार भगवती पौडेलले यस्तो गजल वाचन गर्दा दर्शकहरुले तररर.. ताली ठोके ।  
 
‘भोको पेटलाई भोजन होइन, रेष्टुरेन्टको खाना चाहियो
जाडो छेक्न लुगा होइन, ज्यान देखिने नाना चाहियो ।’
 
अरु बेला कार्यक्रम हुँदा प्रायः नेपाली समाजको हल बिरलैमात्र खचाखच हुने गथ्र्यो । तर आइतबारको गजलयात्रामा हल पुरा भरिएको थियो । आयोजकले समेत अपेक्षा गरेभन्दा ज्यादा उपस्थिती रहेको थियो । आयोजकले समेत एकसय जनाको हाराहारीमा उपस्थिती हुने अनुमान गरेर त्यस अनुसारको खाजा अर्डर गरेकोमा एकसय २५ जनालाई लगेको खाजा अपुग भएको थियो ।
 
श्रष्टाहरुको चोटिलो प्रस्तुतिले गर्दा झण्डै चारघण्टासम्म चलेको कार्यक्रममा सहभागीहरु दिक्दारी नमानि श्रवण गरिरहेका थिए । 
 
ड्यालसमा विगतमा कहिले चौर त कहिले कसैको घर, अपार्टमेन्टमा जगल श्रष्टाहरुले कार्यक्रम गरेर एक आपसपमा गजल सुन्ने र सुनाउने गर्दै आएका थिए । गत महिनादेखि श्रष्टाहरुले अलि ठूलो जमघट राखेर यस्तो कार्यक्रम आयोजना गर्न लागेका हुन् । अघिल्लो पटक स्थानीय फिस्टेल रेष्टुराँमा कार्यक्रम राखिएकोमा यसपटक अझै वृहद रुपमा कार्यक्रम गरिएको आयोजकहरुले जनाएका छन् । 
 
कार्यक्रममा बासु अधिकारी, पवन लामिछाने, खेमराज गैह्राघरे, बलायर प्रत्याशी, बाल जोशी, पातलो अन्तरे, आनन्द मोहन खनाल, सतीश त्रिपाठी, राजु पाण्डे, सरु काली, भगवती पौडेल लगायत दुई दर्जनको हाराहारीमा श्रष्टाहरुले गजल वाचन गरेका थिए । 
 
मदिराप्रेमीहरुलाई व्यंग्य गर्दै सरु कालीले आफ्नो गजल सुनाउँदा गजलप्रेमीहरु झुमेका थिए । उनको गजलको सेर यस्तो थियो–
 
‘आँट भन्दा ठूलो बदमास भएपछि,
हर रोज भट्टीमा बास भएपछि ।’
 
कार्यक्रममा नेपालबाट आएका हाँस्यव्यंग्यकार शैलेन्द्र सिम्खडाले समेत आप्नो प्रस्तुति दिएका थिए । सिम्खडाले नेपालदेखि टाढा अमेरिका आएर पनि नेपाली भाषा संस्कृति संरक्षण र प्रवद्र्धनका लागि गजल उत्सव गरेकोमा आफु निकै खुशी भएको उल्लेख गरे । 
 
दुई चरणमा सम्पन्न भएको गजल उत्सवको पहिलो चरणमा श्रष्टाहरुले आफ्ना दुईवटाका दरले गजल वाचन गरेका थिए । दोस्रो चरणमा पनि उनीहरुले रचेका थप दुई गजल प्रस्तुत गरिएको थियो । 
 
कार्यक्रमको समापनमा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
 

शेयर गर्नुहोस:

0
Shares