मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जितियाको अवसरमा बाघ संरक्षणमूलक झाम्टा गीत प्रतियोगिता

जितियाको अवसरमा बाघ संरक्षणमूलक झाम्टा गीत प्रतियोगिता


 
चितवन – बाघ संरक्षणको लागि जनचेतना अभिवृद्धि गर्न थारु महिलाहरुको पर्व जितियाको अवसरमा सौराहामा मंगलबार बाघ संरक्षणमूलक झाम्टा गीत प्रतियोगिता गरिएको छ । 
 
बाघ संरक्षण समिति बछौली र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान रत्ननगरले आयोजना गरेको कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले उद्घाटन गरेका थिए । 
 
सो अवसरमा उनले बाघ संरक्षणको लागि समुदायस्तरबाट भएका प्रयासको खुलेर प्रशंसा गरे । उनले संरक्षणलाई विकाससँग जोडेर संरक्षणको काम प्रभावकारी बनाउने सरकारी योजना सफल भएको बताए । 
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले मानवको अस्तित्व वन्यजन्तुसँग जोडिएकाले यसको संरक्षण गर्नु दायित्व सबैको रहेको बताए । 
 
कार्यक्रममा उपमेयर विमला दुवाडीले प्रकृति र संस्कृतिलाई एकअर्काको पूरक बनाएर यसलाई पर्यटनसँग जोडनुपर्ने बताइन् । 
 
मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगानाले निकुञ्जका वन्यजन्तुको संरक्षण गरेमात्र स्थानीयको जीविकोपार्जनमा सहज हुने बताए । कार्यक्रममा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बबिता चौधरी, वडा नं ७ का वडा अध्यक्ष राजन भट्ट, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेललगायतले मन्तव्य राखेका थिए । 
 
प्रतियोगितामा सहभागी १४ वटा थारु महिला समूहहरुले बाघ संरक्षणको लागि राज्य र समुदायस्तरबाट खेल्नुपर्ने भूमिकालाई सचेत गराउँदै आफ्नै भाषामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 
 
बाघ संरक्षण समितिका अध्यक्ष जीतबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष विनोदकुमार लोप्चनले सञ्चालन गरेका थिए । 

शेयर गर्नुहोस:

0
Shares