करिब दुई महिनाअघि आफ्नो १८ महिने अमेरिका बसाईलाई बिट मार्दे प्रसिद्ध कथाकार एवं आख्यानकार कृष्ण धरावसी नेपाल फर्किए। उनी आफ्नो कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘झोला’ प्रर्दशनका क्रममा अमेरिका आएका थिए।
धरावासी अमेरिका रहँदा झोला चलचित्रको प्रवर्द्धनका सिलसिलामा करिब १८ अमेरिकी राज्यहरुमा घुमे। यसै गरी अमेरिकास्थित नेपाली साहित्यीक समाजका विभिन्न कार्यक्रमहरुमा सहभागी पनि भए। आफ्नो साहित्यिक यात्रालाई उनले यहाँ पनि निरन्तरता दिइरहे। फलत उनी यहाँका विभिन्न साहित्यीक समारोहहरुमा कहिले श्रोताका रुपमा त कहिले अतिथिका रुपमा छाइरहे।
हुनत नेपाली आख्यान जगतसँग सामान्य जानकारहरुका लागि पनि धरावसी नौलो नाम भने होइन। नेपाली लीला लेखन आख्यानकारमा उनको नाम अग्रपंक्तिमा आउँछ। उनी यस्तो लेखन शैलीमा विद्धता राख्छन कि जसले परम्परा देखि चलिआएको विश्वासलाई भनौ वा जडतालाई एकै आख्यानवाट उखाड्न सक्छन्। जसको पछिल्लो उदाहरण हो उनको ‘राधा’ उपन्यास।
जसले २०६२ सालमा मदन पुरस्कार पाएको थियो। साच्चै भन्नुपर्दा उनको ‘राधा’ उपन्यासमा पाठकले लिला लेखनको चामत्कारीता देख्न पाउँछन्।
उनै धरावासीले लीला लेखनका बारेमा एक ठाउँमा भनेका छन् ‘लीला लेखन भनेको वस्तुहरुको स्वीकार हो। कुनै पनि वस्तुका अनेक रूप हुनसक्छन् ती वस्तुको स्वीकारोक्ति हो लीला लेखन। यसमा हरेक व्यक्तिको आफ्नो आफ्नो महत्वलाई दर्शाएको हुन्छ। प्रत्येक व्यक्ति उसको जीवनको नायक हो भन्ने सार लीला लेखनमा हुन्छ।’
धारावासीलाई आख्यानकार मात्र भन्दा अन्याय हुन जान्छ। अन्याय यस मानेमा कि स्वयं धरावासीलाई मन पर्ने विद्या भनेको निवन्ध हो र उनका हालका दिनसम्ममा प्रकाशित चौविस कृति मध्ये निबन्धको वाहुल्यता छ। हालको कृतिका हिसावले उनी चर्चित भने आख्यानमा नै छन्।
धारावसीले अमेरिकाको आफ्नो १८ महिने वसाइमा यहाँको नेपाली जनजीवन शुष्म रुपमा नियाले। अनि हाल नेपाल गएर अर्को जमर्को, अर्को प्रयोगको लागि गरे अनि जन्मियो उनको अर्को नयाँ कृति ‘ग्रेट फल्स’।
ग्रेट फल्स
आफ्नो अमेरिका यात्राको दौरानमा राजधानी वासिंटन डिसीको पोटोम्याक नदीले धरावासीको मन पहिल्यै देखि लोभ्याउँछ। जुन नदि भर्जिनीयामा आएर ग्रेट फल्समा परिणत भएको देख्दा धरावासीको कल्पनाहरूले औपन्यासीकताका लागि विषय वस्तु ठम्याउँछ। अनि उनी सोच्छन अमेरिकामा आउँने प्रवासीहरु पनि यस्तै हुन। जो अनेक सपना बुन्दै नदिका रूपमा अमेरिका छिर्छन्–र्झछन् जहाँबाट उम्कन वा फर्कन भने उनीहरुलाई धेरै गाह्रो छ।
अनि उनले आफ्नो कृतिको नाम दिन्छन् ग्रेट फल्स। हुनत पुस्तकमा उनले कतै पनि ग्रेट फल्स उल्लेख गरेका छैनन् तथापि पाठकले पुस्तक पूरा गर्दा आफै विषयको सार्न्दभिकता बुझ्छन्।
धाराबासीकै भाषामा भन्दा अमेरिका हाल विश्वमा रहेका सवैका लागि आर्कषक थलो हो। जसले इथोपियाका भोका नाङ्गादेखि यूरोपका धनाढ्य सवैलाई आर्कषित गर्छ यद्यपि अमेरिका भित्रको मानवीय व्यथा भने वेग्लै छ। जसलाई ग्रेट फल्स औपन्यासिक कृतिवाट उनले प्रष्टाउन जमर्को गरेका छन्।
आफू स्वयं नेपाली भएका कारण कथाकार धारावासीले अमेरिका यात्राका दौरान अमेरिकी नेपाली समाजको पनि गहिरो अध्ययन गर्छन्। अध्ययनकै क्रममा उनले यहाँका नेपालीहरूमा नेपालमा झै संकिर्ण सोचाई एवं पछौटेपन भरपूर पाउँछन। स्वयं कथाका माध्यमवाट उनले यसका वारेमा ठाउँ ठाउँमा स्वीर्काछन्। उनी भन्छन, ‘नेपालीहरु प्रगतिका लागि अमेरिका आए पनि नेपालीमा संकृण सोचाई एवं मानसिकता नेपालवाटै सरुवा रोग झै अमेरिका छिरेको छ अनि त्यही दलदलमा उनीहरु दिनानु दिन फस्छ्न। यसैले अमेरिकाको बाटामै रुमल्लिएका छन् नेपाली।’
ग्रेट फल्समा उनले अमेरिकामा रहेका नेपालीहरुको राजनीतिक, सामाजीक एवं आर्थिक समस्याहरुको विश्लेषणमा भरपुर मिहनेत गरेर कलम चलाएका छन्। यही सेरोफेरोमा उनले ठाउँ ठाउँमा अमेरिकाकास्थित नेपाली भातृ संगठनको गतिविधिमाथि पनि तिखो प्रहार गरेका छन्। अमेरिकी सिटिजन सिप लिएर नेपाली राजनीतिमा दख्खल राख्न खोज्ने दुई जिब्रे प्रबृतिको खुल्ला विरोध गरेका छन्।
पुस्तकका बारेमा उनी भन्छन्, ‘जिज्ञासुका लागि अमेरिकामा लुकेका कथाहरूको कथा हो यो। १५–२० वर्षदेखि अमेरिकामा रहेका नेपालीहरूको पारवारिक कथा हो यो, अनि उनीहरूकै आवाजहरूको सम्पादित अंश पनि।’
त्यसो त पुस्तकका माध्यमवाट उनले अमेरिकि नेपाली जनजीवनको भण्डाफोर मात्र गरेका छैनन। यस माध्यमवाट उनले देखिएको अमेरिका र भोगाईको अमेरिकामा आकाश जमिनको फरक हुने सन्देश पाठक माझ पस्केका पनि छन्। उनको अनुसार अमेरिकाको नेपाली समाजमा दुई वर्गका नेपालीको वाहुल्यता छ। उच्च वर्ग र मध्यम वर्ग।
उच्च वर्गका नेपाली जो यही पढी राम्रो काममा लाग्छन् र आर्थिक उर्पाजनका लागि योग्य पनि छन्। अर्को जो रहरका भरमा अनेकन उपायवाट अमेरिका आई घण्टा हान्ने प्रवृतिका छन्। अचम्म त यी दुवै विचको अर्न्तद्धन्द्ध अमेरिका आई सक्दा पनि घटनुका साटो बढ्दै गएको छ।
यस पुस्तकका कथाका लागि उनले जम्मा २२८ जना पात्र तयार पारेका छन्। जसमा ३८ जना पात्र काल्पनिक छन् भने बाँकी यथार्थका छन्। जसमा उनका पुराना कृतिका जसमाया पात्रहरु वर्मादेखि अमेरिका सम्मको तारतम्भमा मिलेका छन्।
करिब ३३५ पेजमा सजिएको यस पुस्तकको प्रकाशन पछाडि अमेरिकाको नेपाली समाजमा यसले नयाँ तरङ्ग ल्याउने निश्चित प्रायः छ। एकातिर अमेरिकाको नेपाली समाजका विकृतिलाई भण्डाफोर गर्न खोज्दा कतिको चित्त काटिएला भने अर्कातिर सहि विकृतिको भण्डाफोरको पक्षमा उभिनेहरु पनि पक्कै हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ।
प्रतिक्रिया