मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

कला, साहित्य, सिनेमा र सङ्गीतको सङ्गम ‘काठमान्डु सेल्फी’

कला, साहित्य, सिनेमा र सङ्गीतको सङ्गम ‘काठमान्डु सेल्फी’


काठमाडौँ । रङ्गमञ्च र सिनेमा क्षेत्रमा निशा शर्मा र सूर्यमाला खनालको नाम धेरैलाई थाहा होला । तर उनीहरूकै परिवारकी चन्द्रमाला पनि कुनै बेला कला यात्रामा थिइन् भन्ने कुरा अहिलेका युवा दर्शकलाई शायदै थाहा होला ।

दरबारमार्गमा छालाको जुत्ता बेचेर बसेकी चन्द्रमाला शर्मा कुनै समय हरिवंश आचार्यका नायिका भएर ‘वासुदेव’ चलचित्रमा आएकी थिइन् भने ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’बाट उनको अलग्गै छवि बन्यो । उनैले अभिनय गरेको ‘प्रतिभा आकाश माग्छे’ नाटकबाटै सूर्यमालाले अनि बालकलाकारका रूपमा निशाले अभिनय यात्राको आरम्भ गरेका थिए । तर समयको बहावसँगै निशाले अभिनय यात्रालाई निरन्तरता दिइनन् भने सूर्यमाला अमेरिका भासिइन् । केही समयअघि नेपाल फर्किएकी सूर्यमालाले बिपी कोइरालाको जीवनीमा आधारित नाटक ‘सान्दाजुको महाभारत’ बाट ‘कमब्याक’ गरिसकेकी छिन् । अबको आफ्नो यात्रा रङ्गमञ्चतर्फ नै मोडिने सङकेतसमेत उनले गरिसकेकी छिन् ।

प्रकाश साय्मी त्यो नाम हो जसलाई आजको पुस्ताले लेखकभन्दा पनि चलचित्रकर्मीका रूपमा बढी चिन्दछन् । उनले केही समयअघि मात्र आफूले लेखेका ‘काठमान्डु सेल्फी’ लाई बजारमा ल्याएका छन् । उनले आफ्ना पुस्तकमा शर्मा दिदीबहिनीलगायत कलाकार, सङ्गीतकर्मी, साहित्यकार र अन्य मुलुकका विशिष्ट व्यक्तिलाई समेत समावेश गर्न भ्याएका छन् ।

त्रिचालीस शीर्षक रहेको यो पुस्तकको पहिलो लेखमै ‘काठमान्डु सेल्फी’लाई उतारिएको छ । लेखकले काठमाडौँसँग पहिलोपटक भएको साक्षात्कार र पत्रकारिताको सुरुवातबारे सविस्तार चर्चा गरेका छन् ।

दोस्रो शीर्षकमा रहेको ‘नेपथ्यमा हराएकाहरू’मा यस्ता व्यक्तित्वका बारेमा चर्चा गरिएको छ, जसले अभिनय क्षेत्रमा पूर्ण सम्भावना बोकेर सिनेमा क्षेत्र तथा साङ्गीतिक क्षेत्रमा प्रवेश गरे पछि पनि त्यसलाई निरन्तरता दिन नसक्दा नेपथ्यमा हराउन पुगे । साङ्गीतिक क्षेत्रका ‘रुपनारायण’ सिनेमा क्षेत्रका ‘प्रकाश अधिकारी’, ‘मनहरि भण्डारी’, ‘शारदा बस्नेत’, ‘विश्व बस्नेत’, नाट्यकर्मी ‘रमण घिमिरे’, ‘सुमन खरेल’ लगायतलाई दर्शक वा श्रोताले बिर्सिसकेका छन् ।
आफ्नो नामसँग अर्का चिकित्सक डा. प्रकाश साय्मीको नाम मिल्दाका फाइदा र बेफाइदालाई उनले राम्ररी केलाएका छन् । त्यति मात्र हैन अन्य लेखक, कलाकारको नाम अन्य विशिष्टसँग मिल्दा दर्शक, पाठकले विश्वास नगरेका कुरालाई सिलसिलाबद्ध रूपमा शब्दमा उतारेका छन् । अहिलेका चर्चित भारतीय चलचित्रका गायक उदितनारायण झाको बम्बईमा सङ्घर्ष गर्दाका सुरुका दिनमा साथ दिन पुगेका लेखकले उनको व्यक्तिगत जीवनका केही यथार्थ पक्ष पनि जोडेका छन् जुन उल्लेख नगर्दा नै राम्रो हुन्थ्यो । केही नेपाली चलचित्रमा नायक भइसकेका उदितले भारतमा गएर सङ्घर्ष गरे र अहिलेका भारतीय सङ्गीतमा चर्चित पाश्र्वगायक बन्न उनी सफल भएका छन् ।

पत्रकारका रूपमा एक प्रकारले आफूलाई स्थापित गरिसकेपछि लेखकले नेता विश्वेश्वरप्रसाद कोइरालासँग अन्तर्वार्ता लिन जाँदा पहिलोपटक कथा सुनाएर फर्काएको अनुभवलाई समेटेका छन् । दोस्रोपटक अन्तर्वार्ता लिने तयारी गरिरहँदा उनले शीर्षक जुराएका थिए ‘बी.पी., समय र संवाद’ । तर अन्तर्वार्ता लिन नपाउँदै नेता कोइरालाको मृत्यु भइसकेको थियो । उनको अन्तर्वार्ता लिने इच्छा पूरा हुन पाएन ।

अन्तिमबाट दोस्रो लेख ‘अक्षरका शत्रु’ शीर्षक दिएर बालिका शिक्षाकी अभियन्ता मलाला युसफजाईको जीवनीबारे केही जानकारी दिन खोजिएको छ । अगाडिका सम्पूर्ण लेख पढिसकेर अन्तिममा आउँदा मलालाबारे लेखिएको लेख त्यति सान्दर्भिक लाग्दैन । कला, साहित्य र सङ्गीतको त्रिवेणीमा सयर गरिरहँदा एक्कासि मलालाबारे आएको प्रसंग पाच्य लाग्दैन । उनको पुस्तक ‘आई एम मलाला’ को थोरै व्याख्या यस पुस्तकमा पनि पाइन्छ ।

कला क्षेत्रमा गुमनाम र धेरै योगदान पु¥याए पनि पर्दा बाहिर आउन नसकेका व्यक्तित्वका बारेमा जान्ने र थाहा पाउने अवसर पुस्तकले दिएको छ । पुस्तक पढिसकेपछि ‘लौ यस्तो पनि रहेछ’ भन्ने अभिव्यक्ति स्वतः प्रकट हुन पुग्छ ।
लेखकको भारत र भारतीय कलाकारसँगको उठबसका कारण कैयौँ भारतीय कलाकारबारे समेत जान्न पाउने अवसर पुस्तकले प्रदान गरेको छ । पत्रकारका रूपमा भारतीय चलचित्रकी प्रसिद्ध कलाकार ‘शवाना आजमी’ सँग भेटका क्रममा भएका अविस्मरणीय क्षणलाई उनले पुस्तकमा उल्लेख गरेका छन् ।

समग्रमा भन्नुपर्दा नेपाली सङ्गीतिक क्षेत्रका हस्तीहरू अम्बर गुरुङ, गोपाल योञ्जन, नारायणगोपाल, अरुणा लामा, शरण प्रधान, दिव्य खालिङ, अरुण थापाका आरोह–अवरोहमय गीतिकालका अनेक स्वरहरू पुस्तकमार्फत् सुन्न र पढ्न पाइन्छ । त्यतिमात्र नभई भारतीय प्रतिभा एस.डी. बर्मन, आर.डी. बर्मन, सत्यजित रेदेखि अहिलेका पुस्ताका चर्चित ए.आर. रहमानसम्मका चरित्रलाई पुस्तकले चित्रण गरेको छ ।

अहिले ‘अजर अमर सङ्गीत’ नामक रेडियो कार्यक्रममार्फत कला क्षेत्रका अझै कतिपय रहस्यमय र नौलो कुरा उनले प्रस्तुत गर्दै आइरहेका छन् । उनले पुस्तकमा उल्लेख गर्न नसकेका कतिपय विषयवस्तुलाई रेडियो कार्यक्रमबाट श्रोतासमक्ष पु¥याउने स्तुत्य काम गरेका छन् । रासस