नेपालमा औपचारिक शेयर कारोबार शुरु हुनुभन्दा पनि ४० वर्ष अगाडि एउटा लिजेन्डरी पात्र न्यू योर्क स्टक एक्सचेन्जको शेयर मार्केटको लागि काठमाडौंबाट स्टकको अर्डर लेखेर पठाउँथे। द रोयल होटलमा बस्थे र भारतीय दूतावासको टेलिग्राफिक सञ्चार उपकरणको प्रयोग गर्दथे सन्देश प्राप्ती र प्रेषणका लागि । राजनीतिक रुपले अत्यन्त तरल सन १९५७ तिरको त्यो समयमा नेपालमा राजा महेन्द्र थिए ।
ति पात्र स्वअध्ययन र अभ्यासबाटै पारंगत स्टक ट्रेडर बनि सनसनी मच्चाउने निकोलस डारभस थिए । जसले स्टक मार्केट मूल्यांकनको बक्स थ्योरीलाई जन्म दिएका थिए । पेशाले घुमन्ते डान्सर निकोलस डारभस काठमाडौं नेपाल पनि आएका बेला प्रख्यात होटल व्यवसायी बोरिस लिसानोभिचको स्वामित्वको रोयल होटेल काठमाडौंमा बसेको कुरा भारतीय दूतावासमा प्राप्त गरेको टेलिग्रामको रसिदले खुलाउँदछ । आजभोली जहाँ निर्वाचन आयोगको कार्यालय रहेको छ, त्यहीं रहेको बहादुर भवन रोयल होटेलको रुपमा प्रख्यात थियो । भारतीय दूतावास मात्र एउटा यस्तो स्थान थियो जसबाट बाहिरी दुनियाँसँग टेलिग्राफिक सम्पर्क स्थापित गर्न सकिन्थ्यो । काठमाण्डुमा गएको बेलाको आफ्नो शेयर कारोबारबारेको प्रसंग पनि डारभसले पुस्तक “हाउ आई मेड २ मिलियन डलर इन स्टक मार्केट (मैंले शेयर बजारबाट कसरी २० लाख डलर कमाएँ)” मा उल्लेख गरेका छन् । डारभसले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार काठमाडौंमा भारतीय दूतावास बाहेक अन्त कतै पनि टेलिग्रामको सुविधा थिएन ।
टोरन्टोका नाइटक्लव मालिकले डारभरसले पाउने ज्याला एउटा खानी कम्पनीको शेयर मार्फत नतिरेको भए उनी स्टक मार्केटमा प्रवेश गदैनथे होला । त्यो ज्यालाका रुपमा पाएको शेयर तीन गुण बढि आकाशियो र त्यति नैं बेला उनले बेच्न पुगे । बेचे लगत्तै त्यसको शेयरमा भारी गिराबट भयो । यसरी स्टकको रुमानी दुनियामा डारभरस परिचित हुन पुगे । स्टक मार्केटमा डारभरको प्रवेश एउटा संजोग थियो । कुनै संयोग यस्ता हुन्छन्, जसले जीवनको दिशा र दशा बदल्ने सामथ्र्य राख्छन् । त्यो सुखद सन्जोकले उनको व्यक्तिगत आर्थिक जीवन मात्र होइन स्टक मार्केटलाई प्रक्षेपण गर्ने एउटा थ्योरी निर्माणको पहिलो इट्टा बन्यो । डारभस बक्स थ्योरी ।
स्टक मार्केट कसरी चल्छ भन्ने बारेको जिज्ञासाको भोक मेट्न दैनिक आठ घण्टा यसबारेको किताव पढ्न मैं बित्दथ्यो । बोस्टन बाट प्रकाशित हुने ब्यारोन्सका तथ्यांक केलाउनु र आफ्नो रुचीका केही स्टकको दैनिक अधिकतम, न्यूनतम र बजार बन्द हुँदाका मूल्यलाई पनि एउटा ट्रेन्डको रुपमा केलाउँदथे । शेयर बजारमा आउनुअघि नैं डारभस एक पेशेवर नर्तक थिए। उनी आफ्नो नृत्य करिअरको यात्राको क्रममा जहाँ जहाँ जान्थे, त्यहीं त्यहीं अमेरिकाको बोस्टनबाट प्रकाशित हुने ब्यारोन्स म्यागाजिन डेलिभर हुने ब्यबस्था गर्दथे । यसरी उनी टोकियो, बम्बई, काठमाण्डु, सिंगापुर जहाँ पुगे पनि ब्यारोन्स ढिलै भएपनि पढेर ब्यारोन्समा प्रकाशित शेयर कारोबारका अंकहरु केलाउने गर्दथे । नृत्य प्रदर्शनका लागि युरोप, अमेरिका, एसिया आदिका विभिन्न देशहरुमा आफ्नो नृत्य सहयात्री सौतेनी बहिनी (हाफ सिस्टर)को साथमा जाने गर्दथे । जीवन धान्ने मुख्य आम्दानी आफ्नो पूर्णकालीन जागिर भएका कारण पनि स्टक मार्केटमा उनले जोखिम मोल्न सके ।
शुरुमा लहड, अनि लगाव र पछि स्वअध्ययन गदै स्टक मार्केटको ज्ञान आर्जन गर्न पुगेका डारभसले निश्चित केही स्टकहरुको अंक विश्लेषणबाट कुनै प्याटर्न शैली खोज्न थाले । कुनै शैली कसरी चलेको छ भनेर पत्ता लगाइसकेपछि यसको शैली यस्तो हुनेछ भनेर प्रक्षेपण गर्न पनि डारभसलाई सघाउ पुग्यो ।
केही हजार डलरको लगानी कालान्तरमा २० लाख डलरमा परिणत भयो १८ महिनाको अवधिमा ।
उनी जहाँ जहाँ नाच्दै जान्थे, त्यहींत्यहीबाट स्टक कारोबार गर्दथे । यो त्यो बेलाको कुरा हो जतिबेला आजभोलीको जस्तो सूचना प्रविधिको विकास भएको थिएन र न इमेल र इन्टरने नैं थियो । थियो त केवल शब्द फारु गरेर लिखित सन्देश प्रवाहित गरिने माध्यम टेलिग्राम । रियल टाइम ट्रेडिंग चार्ट र आधूनिक ट्रेडिंग टूलको अभावमा पनि उनलले निरन्तर सफलतापूर्वक नाफामूलक ढंगबाट स्टक कारोबार गर्न सफल भए । यतिको भरमा निकोलस डारभसले वालस्ट्रिटको नाकै मुनी बसेर शेयर कारोबार गर्नेहरुलाई जिल्याइदिए । त्यसो त एकाग्रता टुटेको कुनै समय उनी पनि न्यू योर्कको वाल स्ट्रिट वरपर बसेर शेयर कारोबार गरे तर वाल स्ट्रिट नजिकै बसेर गरेको शेयर कारोबारका उनका केही मुभले हावा खाए र उनी पछारिए ।
वालस्ट्रिटका भीडहरु त्यतिवेला पनि उस्तै चलायमान थिए । ति भीडले त्यतिबेला पनि परामर्स,अपडेट र सब्सक्रिप्सनको व्यापार गरेर आफ्नो जागिर धानेका थिए । ती भीडको सल्लाहलाई प्रारम्भिक दिनहहरुमा शिरोपर गर्दा डारभसले हजारौं डलर गुमाए । पटकपटक । बजारले उनलाई घाटाको चोकमा नराम्रोसँग बजार्यो ।
बक्स थ्योरी
स्टक मार्केटमा तपाईंले किन्नुभएको स्टक किन्नासथ घटेको र त्यही स्टक बेच्नासाथ बढ्ने गरेको छ ? किनेको स्टक घट्दै गएका कारण घाटामा बेच्नुभन्दा नबेची पर्खने(होल्ड गर्नु) परेको छ ? स्टकबाट केही नाफा कमाएर पुरै स्टक मार्केटको प्रकृति नैं बुझेजस्तो लाग्ने तर लगत्तै साना् असावधानीले वा भ्रमले उल्लेख्य घाटा बेहोर्नुपरेको छ? यदि त्यस्तो हो भने तपाईंको अनुभव पनि डारभसको अनुभवसँग मेल खान्छ । अनुभवहरुबाट गुज्रिएर निकोलस डारभसले स्टक मार्केटको अहोरात्र मिहिन अध्ययन गर्छन्, र त्यसबाट कुनै थ्योरी पत्ता लगाउँछन् । उनको त्यो थ्योरी यति अचूक भइदिन्छ कि उनलाई लाग्छ उनले पत्ता लगाएको नियम मुताविक नैं स्टक माकेट चलिरहेको छ । उनले धेरै दिन त्या नियमलाई पूनर्जाच गर्छन् । पटक पटक । अनि स्थापित हुन्छ उनको अदितिय बाकस प्रणाली अर्थात बक्स सिस्टम जसबाट उनले शेयरहरु किन्ने र बेच्ने गरेका थिए । आजभन्दा ६५ वर्षअघि प्रकाशित भएको यो पुस्तक आज पनि महत्वपूर्ण पुस्तकको रुपमा प्रख्यात छ ।
निकोलस डारभसले ट्रेन्डलाई मज्जासँग फलो गरे । मिहिन ढंगले अंकको उछाल र संकूचनलाई केलाएर ट्रेन्ड फलोइंगको मास्टर माइण्ड बने । यसरी नैं डारभसको बक्स थ्योरी आएको हो । उकालो चढ्दै गरेको स्टकले क्रमिक रुपमा बक्स बनाउँदै अगाडि बढेको उनले पत्ता लगाए । अगाडि बढ्ने क्रम ट्रेन्ड शैली पत्ता लगाएपछि बुलिश ब्रेकआउटको लागि कुर्थे र स्टक किन्थे । अनि बाकसको तल्लो विन्दुबाट तल जाने संकेत पाएपछि स्टपलश सेट गरेर बाहिरिन्थे ।
कुन क्षेत्रले सबैभन्दा राम्रो गरेको छ र त्यसमा पनि बजारलाई नेतृत्व गर्ने कुन शेयर हो र प्रति शेयर कमाइ (इपिएस)त्यसको तुलनात्मक सबलपक्षलाई हेक्का गरिसकेपछि मात्र उनी बुलिस ब्रेकआउट हेरेर शेयर किन्थे ।
यो पुस्तक पहिलोपटक प्रकाशित भएको सन् १९६० मा हो जतिबेला अमेरिकाको वार्षिक प्रतिव्यक्ति आय करिब २६ सय ७० अमेरिकी डलर थियो । अहिले अमेरिकीहरुको औसत आय करिब ७६ हजार डलर रहेको छ (अक्टोबर २०२५) को तथ्यांक अनुसार । यसैबाट थाहा हुन्छ, आजको तुलनामा त्यतिबेलाको २० लाख डलर अर्थात २ मिलियन डलरको तत्कालीन अबश्थाको प्रभाव र मूल्य । त्यो भनेको आजको मूल्यमा करिब २१ करोड डलर बराबर हुन्छ ।
किश्मत होइन, कौशल
जब उनलाई अब भाग्यको भरमा स्टक ट्रेडिंग गर्ने होइन भन्ने लाग्छ, अनि सोच्छन्, म एकचोटी लक्की हुन सक्छु, दुइ चोटी लग्क्की हुनसक्छु तर स्टक मार्केटमा पटकपटक यस्तो हुन सक्दिन । उनी अठोट गर्छन्, “होइन यो मेरो लागि हुदै होइन । ज्ञानमा भर पर्नैपर्छ । मैंले सिक्नैपर्छ बजारमा कसरी टिक्ने काम गर्ने भनेर ।“
उनी सोध्छन्, मेरो विपक्षीको चाललाइ कसरी जवाफ दिने भन्ने कुरा थाहा नपाई के म चेस जित्न सक्छु, ब्रिज गेमको नियम थाहा नपाई के म यसमा जित्न सक्छु? त्यसैगरी कसरी कारोबार गर्ने भन्ने थाहै नपाई बजारमा कसरी सफल हुने अपेक्षा गर्न सक्छु । उनले विगतको अनुभवलाई एकचोटी केलाए । उनलाई लाग्यो आफू फण्डामेन्टल अप्रोचबाट गरेको कुरामा उनी गलत सावित भए र प्राविधिक तरिकाबाट गरेकोमा उनी सफल वा सही ।
जे कुराले सफल बनाएको हो त्यही कुरालाई दोहोर्याउँदा सफलता पनि दोहोरिन सक्छ भन्ने कुराका कडि उनले बुझे । टेक्सास गल्फ प्रोड्यूसिंग स्टक जस्तै स्टक भेट्टाउनका लागि उनी हरेका साँझ स्टकको टेवललाई नियाल्दै घण्टौं बिताउन थाले । खोज्दा खोज्दै उनले अर्को यस्तो स्टक भेट्टाउँछन् जसको बारेमा न कुनै वित्तिय संरचनाहरुले उनलाई त्यो बताएको थियो न त शेयर ब्रोकरले नैं यो बारेमा कुनै संकेत दिएको थियो ।
विशुद्ध प्राविधिक विश्लेषणको आधारमा माथि जानसक्ने देखेर खरिद गरेको शेयरले अर्को कुनै कम्पनीसँग गाभिने खबरले उनलाई नाफा दियो । प्राविधिक विश्लेषण (टेक्निकल एनालिसिस)को प्रयोगले डारभसलाई आफू कम्पनीको भित्री व्यक्ति (इन्साइडर) जस्तै बनायो । यतिबेलासम्म डारभसले यो कुरा बुझे कि यदि प्राइस एक्सन (मूल्यको क्रिया) र भोल्यूम लाई मात्र पढ्यो भने अरु सबै फ्याक्टरलाई छोडेर सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ ।
डारभस भन्छन्, यदि सामान्यतया निश्क्रिय जस्तै देखिने स्टक अचानक सक्रिय हुन थाल्यो भने मैंले यसलाई असामान्य मान्छु, र यदि यसको मूल्यमा पनि बढोत्तरी भयो भने म किन्छु । यो असाधारण चालको पछाडि यहाँ कुनै एउटा समूह छ जसलाई केही राम्रो जानकारी थाहा छन् भन्ने म अनुमान गर्छु र त्यो स्टक किनेर म उनीहरुको मौन पार्टनर बन्नेछु ।
संकेत र हल्ला छुट्याउने कला
हल्लाहरुको काम जुनसुकै युगमा वा समयमा पनि बाधा पुर्याउने नैं हो । यदि हल्लालाई बढि सुन्यो भने वास्तविक संकेतसँगको सान्निध्य टुट्छ नसोचेको घाटाको भागिदार हुनुपर्ने हुन्छ । डारभसको अनुभवबाट हामी यही कुरा सिक्न सक्छौं ।
उनको स्टकको पोर्टफोलियो २ लाख पचास हजार पुगेको समाचारले उनलाई अचम्मको आत्मविश्वास दिलायो । मात्र टेलिग्रामको मद्दतले गरेको स्टक कारोबारले उनमा एकप्रकारको छैटौंं इन्द्रिय नैं विकसित भएको जस्तो उनलाई लागेको थियो । स्टकहरुको उतारचढावलाई आफूले भित्रैदेखि महसुस गर्ने गरेको उल्लेख गर्दै डारभस लेख्छन, संगीतज्ञले गर्ने महसुस भन्दा कत्ति फरक थिएन त्यो अनुभव ।
एउटा निरिह समय
हजारौं माइल पर अरु महादेशबाट स्टक खरिदविक्रीको निर्देशन दिएर नाफा कमाएका डारभस वालस्ट्रिटको नजिकै बसेर स्टक कारोबार गरेका बेला भने गुमाउन पुग्दछन् । थोरैबाट शुरु गरेर स्टक मार्केटमा ५ लाख डलर बनाइसकेको मान्छे पनि भीडको पछि लाग्यो भने कस्तो हुन्छ भन्ने कुराको उदाहरण पुस्तकमा डारभसले आफैंलाई प्रस्तुत गरेका छन् । वाल स्ट्रिटको भीडमा अरु डराउँदा आफु पनि डराउने र अरु हौसिंदा आफू पनि हौसिने गर्नाले डारभसले आफ्नो सीप र नियन्त्रण गुमाए । डारभस लेख्छन्, मलाई होइन भन्न असम्भव भयो जब मेरो वरिपरिका सबैैजना हो भनिरहेका थिए । मैंले जे छोएँ सबै गलत हुन ताल्यो । मैंले एउटा भर्खर सिक्दै गरेको मान्छे जस्तो व्यवहार देखाउन थालें । यत्नपूर्वक खडा गरेको प्रणाली उनकै अगाडि भत्किन थालेजस्तो महसुस भयो । उनी लेख्छन्, मैंले दर्जनौंवटा विरोधाभाषात्मक अर्डरहरु गरें । मैंले ५५ डलरमा स्टक किने त्यो ५१ डलर भयो । म कुरेर बसें । स्टप लशलाई मैंंले सबभन्दा पहिले मिल्काइदिएँ । धैर्यता, परख विचार मसँग कुनै थिएन । अनि बक्सहरुलाई मैंले विर्सिदिएँ ।
स्टकको कमाइले खल्ती बलियो हुँदै गर्दा मस्तिष्क कमजोर बन्दै गरेको सत्यलाई पनि डारभस उजागर गर्छन् । म ओभर कन्फिडेन्ट बनें, स्टक मार्केटमा जो कोहीले पनि विकसित गर्न सक्ने खतरनाक मानसिक अवश्था थियो त्यो । उनी भन्छन् ।
उनको स्टक कारोबारको पूनरावृत्त चक्रका सम्बन्धमा उनले यस्तो लेखे, जुन प्राय घाटाहरुमा अरुको अनुभवसँग मेल खान्छ ।
मैले माथि पुगेपछि किनेँ
मैले किन्नासाथ
स्टक तल झर्न थाल्यो
मलाई डर लाग्यो
र निकै तल झरेपछि बेचिदिएँ ।
मैले बेच्नासाथै
स्टक बढ्न थाल्यो
म लोभी भएँ
मैले माथि पुगेपछि किनेँ ।
उनका लागि त्यो समय पूर्ण विपत्तिको घडी थियो, जतिबेला उनले केही हप्तामै एक लाख डलर गुमाउन पुगे ।
स्टक र अनुसासन
तपाईंलाई पनि यस्तै हुन्छ हो ? बढ्दै गरेको स्टकलाई केही समय होल्ड गर्न गाह्रो पर्ने, फेरि घटिहाल्ला कि भनेर बेचूँबेचूँ लागेर बेचिदिइ हाल्ने । अनि स्टकले डाँडो काटेपछि हेत्तेरी भन्दै पछुताउने । यस्तो दोधारपूर्ण समस्या डारभसलाई पनि हुने गर्दथ्यो । डारभसले आफ्नो गल्ती कमजोरीलाई पाठकसामू डारभसले यसरी ल्याएका छन्, मैंले जहिले पनि एकदम छिट्टै बेचें किनभने म एकदम कातर छु । उनी थप्छन्, मैंले २५ डलरमा कुनै स्टक किनें र यो ३० डलरसमम पुग्यो म घट्ला भनेर यति चिन्तित भएँ कि मैंले यसलाई बेच्दिइहालें । मलाई गर्नुपर्ने सही कुरा थाहा थियो तर मैंले त्यसको ठीक विपरित गरें ।
टाइम म्यायाजिनको त्यो अन्तरवार्ता
स्टक मार्केटसँग साइनो सम्बन्ध केही नभएको एउटा नर्तकीले कसरी यस्तो काम गर्न सक्छ भन्ने ठानेरै उनीहरुले झट्ट विश्वास गरेका थिएनन् । किनभने डारभस न स्टक मार्केट पढेका विज्ञ, अर्थशास्त्री थिए, न नाम चलेका ब्रोकर दलाल परामर्शदाता नैं थिए । न तत्कालीन शेयरबजारको सर्कलले विश्वास गरिहाल्ने आधार नै थिए । तर तिनिहरुलाइै के थाहा डारभस आफ्नो स्वअध्ययनमा यति अगाडि बढेका थिए कि उनले स्टक मार्केटमा नाम चलेका भन्दा बढि कूल २ सय किताव पढिसकेका थिए । अंक विश्लेषण र शैली केलाउनै उनी दैनिक आठघण्टा भन्दा बढि समय व्यतित गर्दथे ।
डारभसको स्टक मार्केट कारोबारको तौर तरिकाको चर्चा वालस्ट्रिटमा जोडतोडले हुन थाल्दछ । उनको सफलताको समाचारहरु व्यक्तिगत तवरबाट चुहिन्छ र सबैतिर फैलिन थाल्छ । डारभसको बक्स थ्योरी यति चर्चित हुन्छ कि वालस्ट्रिटमा उनकै चर्चा हुन्छ । विश्वप्रसिद्ध टाइम म्यागाजिनको रिपोर्टरले उनको अन्तरर्वात गर्छन् । अन्तरवार्ता त गर्छन् तर म्यागाजिनका सम्पादक कन्भिन्स हुदैनन् ।
टाइम म्यागाजिनको बिजनेश ब्यूरो (सेक्सन)ले पत्याउँदैन र कुरा रोचक भएकोले सिनियर एडिटरलाई लिएर तथ्य जाँचको लागि आउने अनुमति माग्दै रिपोर्टरले फोन गर्छन् । सिनियर एडिटर र रिपोर्टर दुइजना मिलेर रेस्टुरेन्टमा स्याण्डबीच मगाएर फेरि डारभसको कुरा सुन्न थाल्छन् दिउँसो १ बजे । सिनियर एडिटर डारभसको कुरामा यति मग्न भइदिन्छन् कि ४ बजेसम्म पनि त्यो स्याण्डबिच छुँदैनन् । निनियर एडिटरले जब सबै कुरा बुझ्छन्, त्यसपछि मात्र स्याण्डबिच खान्छन् । अनि केही पनि नबोली उनी बाहिर निस्कन्छन् । अनि फेरि टाइम म्यागाजिनकै वालस्ट्रिट विज्ञ विज्ञको फोन आउँछ, म्यानेजिंग एडिटर लगायत टाइम का तीनजना स्टाफले फेरि तथ्य जाँच नगरि स्टोरी प्रकाशित गर्न मिल्दैन भन्छन् । तथ्य जाँचको लागि उनीहरु आउँछन् । डारभस लेख्छन्, म्यानेजिंग एडिटरले त स्टक मार्केटको मेरो सफलतालाई मात्र शंका गरेनन् उनलाई त मैंले नाच्न सक्छु भन्ने कुरालाई पनि विश्वास गरेनन् । कुराकानी गरिसकेपछि, नाच पनि हेर्न खोज्छन्, त्यो पनि गरिसकेपछि अन्तमा तपाईं किन आफ्नो कारोबारको बारेमा स्वतन्त्ररुपले भन्नुन्छ भनेर प्रश्न गर्छन् । डारभस लेख्छन्, मैंले उत्तर दिएँ कि मैंले जे गर्न सकेको छु, त्यसमा म गर्व गर्छु, मलाई लाग्यो कि लुकाउनुपर्ने कुरा केही छैन ।
उनको सिस्टम वा रेकर्डमा कुनै त्रुटि वा कमजोरी त छैन भनेर सबै कुरा हेर्न चाहेको भन्छन् । कुरा गर्दागर्दै मध्यरात हुन्छ र बिहानको दुइ बजे जब टाइम म्यागेजिनको टिम विश्वस्त हुन्छ, डारभसको सफलतालाई सेलिब्रेट गर्न लेट्स ह्याव अ ड्रिंक भन्दै ग्लास उठाउँछन् र टोस्ट गर्छन् । टायम म्यागाजिनको शेयरबजार बिज्ञ तथा आर्थिक विभागको टिम डारभसले कहिले कहिले कुन कुन स्टक किन किने र त्यसको नाफा नोक्सान बक्स थ्योरीको सम्बन्धमा कस्तो पर्यो भन्ने बुझ्नका लागि इच्छुक थियो । टाइम म्यागेजिनको टिम कन्भिन्स भइसकेपछि उनी बारेको समाचार छापिन्छ, त्यसपछि डारभसको चर्चाको आयतन झन् विस्तार हुँदै उनको बक्स थ्योरी स्थापित हुन्छ ।
निकोलस डारभसलाई २० लाख डलर दिलाउने मुख्य स्टकको चार्ट, भोल्यूम र तीन वर्षको अवधीको स्टक गतिविधिको इतिहास अमेरिकन रिसर्च काउन्सीलले प्रस्तुत गरेको थियो जुन यस पुस्तकमा समावेश पनि छ । लोरीलार्ड, इ एल ब्रुस, डाइनर्स क्लव, युनिभर्सल कन्ट्रोल, थियोकोल केमिकल, टेक्सास इन्सट्रुमेन्ट, फेयरचाइल्ड क्यामेरा, जेनिथ रेडियोका स्टकहरु डारभसले कारोबार गरेका समयका प्राइस एक्सन र भोल्यूमको ग्राफ पनि उक्त पुस्तकमा समावेश गरिएको छ । ।
सन्सारमा जस्तै स्टक मार्केटमा पनि कुनै पनि कुरा सबै परिस्थितिका लागि सही वा गलत हुँदैनन् । एउटा परिस्थितिमा अचूक रुपमा काम गरेको सिल्प, शैली र रणनीतिले अर्को परिस्थितिमा काम नगर्न सक्छ । यसका लागि विभिन्न फ्याक्टरहरुको विश्लेषण, मूल्यांकन पछि मात्र कुनै विशेष समयसीमाका लागि कुनै प्रक्षेपण तय गर्न सकिन्छ ।













प्रतिक्रिया