अमेरिका (बष्टन) । नेपालमा नयाँ र पुराना राजनीतिक दलहरू चुनावी रस्साकस्सीमा होमिन लागेकै बेला अन्तर्राष्ट्रिय बजारले पनि आफ्नो मनोभावना अमेरिकी ‘प्रेडिक्सन मार्केट पोलिमार्केट’को माध्यमद्वारा दिन सुरू गरिसकेको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको परिणामबारे अमेरिकाको प्रक्षेपण बजार अर्थात् ‘प्रेडिक्सन मार्केट’मा कसले जित्छ भनी बाजीको कारोबार सुरू भएको छ ।
यो प्रक्षेपणमा प्रश्न छ, ‘पहिलो नम्बरको दल कुन होला ?’
न्यूयोर्कको म्यानह्याटनमा मुख्यालय भएको पोलिमार्केटले नेपालको प्रतिनिधिसभा निर्वाचनको विजेता शीर्षकमा गतवर्षको डिसेम्बर ८ देखि यो बाजी कारोबार सञ्चालन गरेको हो । यो बाजीमा सहभागीहरू चुनावी परिणाम घोषणा नहुँदासम्म सहभागी हुन सक्छन् ।
पोलिमार्केटको हालैको मार्केट तथ्यांकका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबैभन्दा बढी रुचाइएको छ, जसमा सहभागीहरूले धेरैजसो सिट जित्ने ५४ प्रतिशत सम्भावना रहेको देखाएका छन् ।
कांग्रेस जित्ने सम्भावना २६ प्रतिशत, पूर्वमाओवादी अर्थात् नेपाली कम्युनिष्ट पार्टीको जित्ने सम्भावना ९ प्रतिशत र एमालेको ८ प्रतिशत रहेको पोलिमार्केटमा देखिएको छ । चुनावमा पहिलो दल हुने सम्भावना १ प्रतिशतभन्दा न्यून रहेका दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) छन् ।
प्रतिनिधिसभामा सबैभन्दा बढी सिट जुन पार्टीले ल्याउँछ, त्यसैको आधारमा यो बजार वा बाजी छिनोफानो गरिने पोलिमार्केटले आफ्नो नियममा राखेको छ ।
नेपालको निर्वाचन आयोगको आधिकारिक परिणामलार्ई आधार मान्दै छिनोफानो गर्ने पोलिमार्केटमा उल्लेख छ । कुन पार्टीको चुनाव जित्ने सम्भावना कत्तिको छ ? त्यही स्वतन्त्र अनुमानका आधारमा आधारमा सहभागीहरूले रुपमा बाजी थाप्छन् ।
उल्लेखित पार्टीहरूले जित्छ वा जित्दैन भनी बाजी थाप्दा प्रत्येक बाजी अर्थात् ‘कन्ट्रयाक्ट’को शुल्क तिर्नुपर्छ । बाजी थाप्न पैसा तिर्नुपर्ने हुन्छ । यदि चुनावी परिणाम प्रक्षेपण सही ठहरेमा सहभागीले निश्चित रकम आम्दानी गर्छन् ।
बाजीको सामान्य नियमझैँ यदि बाजी मिलेन भने आफूले हालेको सबै पैसा गुम्छ । जित्ने सम्भावनाका प्रतिशतहरू बाजीमा सहभागी खरिदकर्ताहरूका गतिविधिका आधारमा घटबढ हुने गर्छ ।
यो समाचार तयार गर्दासम्म रास्वपाले जित्छ भनी बाजी थाप्न अमेरिकी डलरमा ४३ सेन्ट तिर्नुपर्छ भने जित्दैन (नो) भनेर बाजी थाप्नुपर्यो भने ६४ सेन्ट तिर्नुपर्ने हुन्छ । अमेरिकाबाट खोलिएको पोलिमार्केटको वेबसाइटअनुसार, नेपाली कांग्रेसले जित्छ भनी एकचोटी बाजी थाप्न ३२ सेन्ट तिर्नुपर्छ भने जित्दैन भनेमा बाजी थाप्न ७४ सेन्ट तिर्नुपर्ने छ ।
रियलटाइममा सहभागीहरूको गतिविधिले थपघट भइरहने यो बाजीमा सहभागीहरूको मनोभावनाको ब्यारोमिटर देखिन्छ ।
https://polymarket.com/event/
के हो पोलिमार्केट ?
पछिल्लो समय अमेरिकामा सेयर कारोबारमा जस्तै गरी ‘सम्भावनाका विषयवस्तुमा ठोकुवा गरेर’ बाजी थाप्ने चलन व्यापक बढिरहेको छ । पोलिमार्केट प्लेटफर्मको ब्यापकता बढेसँगै यसको बजार मूल्यांकन नौ अर्ब डलर पुगेको छ ।
पोलिमार्केटजस्तै अर्को प्लेटफर्म केल्सी डटकम पनि सञ्चालनमा छ । समाजदेखि अर्थतन्त्र, सेयर बजार, राजनीतिदेखि खेलकुदका ट्रेन्डिङ्ग विषयवस्तुहरूमा आजभोलि ‘अनुमानको बाजी कारोबार’को व्यापकता बढ्न थालेको देखिन्छ ।
आइलर्स एण्ड क्रेसिक नामक एक रिसर्च संगठनका अनुसार, यो दशकको अन्त्य अर्थात् सन् २०३० सम्ममा प्रक्षेपण बजारको आकार एक खर्ब डलर पुग्ने छ ।
यसको सञ्चालनको प्रारुप जुवाको जस्तो हुने र यो क्रिप्टो करेन्सीमा विकेन्द्रीकृत प्रक्षेपण बजारको ‘पोलिगन इथेरियम ब्लकचेन’ प्रणालीमा आधारित हुन्छ । तर, अमेरिकाका कतिपय राज्यहरूमा यसको कारोबार गर्न पाइँदैनथ्यो ।
दर्ता नगरिएको डेरिभेटिभहरू सञ्चालन गरेको भनी पोलिमार्केटलाई जरिवाना तिराउँदै अमेरिकाका प्रयोगकर्ताहरूले खोल्न नपाइने बनाएको थियो । पछिल्लो समय अमेरिकाको संघीय कानुनले प्रक्षेपण बजार (प्रडिक्सन मार्केट)लाई वैध मानेको छ भने कतिपय राज्यहरूले यसलाई अझै स्वीकारिसकेका छैनन् ।











प्रतिक्रिया