काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्दै राजनीतिक दलहरूले प्राप्त गर्ने सिट सङ्ख्याको बाँडफाँट गरेको छ ।
आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्वका लागि आवश्यक न्यूनतम ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गरेका छन् ।
कुन दललाई कति सिट ?
समानुपातिकतर्फ ऐतिहासिक मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सबैभन्दा बढी सिट हात पारेको छ । दलहरूले पाएको सिट सङ्ख्या यस प्रकार छ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : ५७ सिट
नेपाली कांग्रेस : २० सिट
नेकपा (एमाले) : १६ सिट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) : ९ सिट
श्रम संस्कृति पार्टी : ४ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : ४ सिट
सिट सङ्ख्या निर्धारण गरेसँगै आयोगले सम्बन्धित दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट निर्वाचित हुनेहरूको नामावली पेस गर्न तीन दिनको समयसीमा दिएको छ । दलहरूले समावेशी सिद्धान्त र क्लस्टर (दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम) को आधारमा उम्मेदवार छनोट गरी आयोगमा बुझाउनुपर्नेछ ।
आयोगका अनुसार प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० गरी कूल २७५ सदस्यीय प्रतिनिधिसभाले अब पूर्णता पाउनेछ । दलहरूले नाम बुझाएपछि आयोगले निर्वाचित सदस्यहरूको नामावली राष्ट्रपतिसमक्ष पेस गर्नेछ, जससँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अगाडि बढ्नेछ ।












प्रतिक्रिया