तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’ दाबी गरे पनि तेहरानले भने लडाइँ आवश्यक परेसम्म जारी रहने सङ्केत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार यस्तो दाबीप्रति शङ्का व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताए ।
तेहरानले अमेरिका–सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि ट्रम्पले द्वन्द्व छिट्टै अन्त्यतिर जाने दाबी गरेका थिए । तर अराघचीले एक अन्तर्वार्तामा पिबिएस न्युजलाई “गोलीबारी जारी छ र हामी तयार छौँ । आवश्यक परेसम्म हामी हाम्रो मिसाइल प्रयोग गर्दै आक्रमण जारी राख्नेछौँ” भन्दै सङ्घर्ष लम्बिन सक्ने सङ्केत गरे ।
इरानको रिभोलुसनरी गाड्र्सले पनि ट्रम्पको टिप्पणीको जवाफ दिँदै युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ । अराघचीले वासिङ्टनसँग वार्ता गर्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभयो । उनका अनुसार अमेरिकासँग कुरा गर्ने अनुभव ‘अत्यन्त कटु’ भएको छ र अघिल्ला वार्ताका क्रममा भएको अमेरिकी आक्रमणले तेहरानलाई थप अविश्वासी बनाएको छ ।
उता ट्रम्पले सोमबार फ्लोरिडामा पत्रकार सम्मेलन गर्दै अभियान छोटो अवधिको हुने दाबी गरेका थिए । “यो चाँडै समाप्त हुनेछ र यदि फेरि सुरु भयो भने उनीहरू अझ बढी प्रभावित हुनेछन्”, उनले भने । उनले तेहरानले तेल आपूर्ति अवरुद्ध गरेमा ‘अकल्पनीय आकारको आक्रमण’ गर्ने चेतावनी पनि दिए ।
ट्रम्पको यस्तो टिप्पणीले विश्व बजारमा केही राहत ल्याएको देखिएको छ । अघिल्लो दिन बढेको तेलको मूल्य घटेर करिब पाँच प्रतिशतले झरेको छ भने टोकियो र सियोलका सेयर बजार पनि मजबुत रूपमा खुलेका छन् । एक दिनअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको थियो ।
यद्यपि द्वन्द्वको प्रभाव भने अझै व्यापक छ । मङ्गलबार बिहान इरानी आक्रमणले पुनः खाडी राष्ट्रहरूलाई लक्षित गरेको बताइएको छ । संयुक्त अरब इमिरेट्सले इरानबाट आएको मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको जनाएको छ भने बहराइनमा साइरन बजाएर नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको थियो । साउदी अरब र कुवेतले पनि केही ड्रोन रोकेर नष्ट गरेको बताएका छन् ।
इरानभित्र पनि आक्रमण जारी रहेको रिपोर्ट आएको छ । स्थानीय सञ्चारमाध्यमले राजधानी तेहरान र खोमेइन क्षेत्रमा ताजा प्रहार भएको बताएका छन् । इजरायलले भने इरानबाट भएको मिसाइल प्रहारपछि इरानी मिसाइल प्रक्षेपण स्थलहरूमा आक्रमण गरेको जनाएको छ ।
चलिरहेको युद्धले विश्व अर्थतन्त्रमा पनि असर पारेको छ । इन्धन आपूर्ति अवरुद्ध हुने आशङ्का बढेको छ र मुद्रास्फीति बढ्ने चिन्ता देखिएको छ । मूल्य घटाउने प्रयासस्वरूप ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि तेलसम्बन्धी केही प्रतिबन्धहरू हटाउने घोषणा गरेका छन् ।
यसैबीच इरानले होर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने जहाजहरूलाई पनि लक्षित गरिरहेको छ । यो जलडमरूमध्यबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल पारगमन हुन्छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने आफ्नो देश र सहयोगी राष्ट्रहरूले द्वन्द्वको क ठिन चरण समाप्त भएपछि जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गराउन जलडमरूमध्य पुनः खोल्ने ‘रक्षात्मक’ अभियानमा काम गरिरहेको बताएका छन् ।
उता इरानको नेतृत्वमा पनि परिवर्तन आएको छ । अमेरिका–इजरायलको हमलामा अयातुल्ला अली खामेनी मारिएपछि उनका छोरा मोजताबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा अघि आएका छन् । ट्रम्पले उनलाई ‘हलुका’ नेता भन्दै इरानको नेतृत्व चयन प्रक्रियामा आफूले प्रभाव राख्नुपर्ने सङ्केत दिएका छन् । एएफपी












प्रतिक्रिया