मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
नेपाल   

भव्य छ न्यूजर्सीको अक्षरधाम

भव्य छ न्यूजर्सीको अक्षरधाम

तर मुक्तिनाथ भारतको हो र ?

दिनेश कार्की

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यू जर्सीको बिएपिएस स्वामीनारायण मन्दिर अक्षरधाम हेर्ने हुटहुटी मलाई सर्वसाधारणको लागि खुल्ला गरिएको बेलादेखि नैं थियो । खासगरी निर्माण हुँदैगर्दा परिचितहरु मन्दिरहातामा गएर खिचेको फोटोहरु र उनीहरुले गरेका वर्णनहरुले नैं मन्दिर निकै भब्य होला भन्ने बुझें । झन् यो मन्दिर गतवर्ष अक्टोबरमा एउटा निकै ऐतिहासिक र भव्य समारोहमाकाबीच उद्घाटन भइसकेपछि त मन्दिरको भव्यताको बारेमा तस्वीर, भिडियो र तथ्यहरु चित्ताकर्षक तवरले बाहिरिए विभिन्न विद्युतिय मिडिया, सामाजीक सञ्जाल र छापामाध्यमहरुबाट । ९६ मिलियन डलर लागतको यो मन्दिरको मूर्तिकला, वास्तुकला र प्राचिन इन्जिनियरिंगको आधुनिक रुपान्तरण हेर्न म आतूर थिएँ । यो मन्दिरको विराट कला र दिव्यताको साक्षात्कार भने नेपालबाट बुबाआमा अमेरिका हेर्न आएपछि मात्र गर्न पाइयो । कार्यव्यस्तता र अरु प्राथमिकताहरुका कारण ४ घण्टा पर रहेको यो मन्दिर हेर्न जाने विषय ओझेलमा परेको थियो ।

बिहान झिसमिसेमा मन्दिरस्थल रबिन्सभिल न्यू जर्सीका लागि बस्टनबाट हुँइकिएका हामी दश नबज्दै गन्तव्यमा पुग्यौं ।

मन्दिर पुग्नुअगाडि ठूलो क्षेत्रफल अर्थात १८३ एकड मा फैलिएको छनक मुख्य प्रवेशढोका र मन्दिर प्रांगणको फराकिलो दूरीले नैं दिन्थ्यो । दाहिनेपट्टी रहेको एउटा कृत्रीम तलाउले प्रकृतिसँग मितेरी लगाइसकेछ । हुलकाहुल क्यानेडियन गुज(उड्ने पानीहासको एउटा प्रजाती)हरु आकाशबाट ओइरिंदै उड्दै गरिरहेका थिए त्यो सुन्दर तलाउमा । पोखरी नजिकै गाडि रोकेर फोटो खिचौं झैं भइरहेको थियो तर यात्राको मुख्य आकर्षण मन्दिर भएकोले मन्दिरतिरैं गयौं ।

पार्किंग लटसँगै जोडिएको एउटा कलात्मक पार्कमा अग्लो बालयोगीको पित्तलको मूर्ति देखिन्छ । पित्तलको उक्त ४९ फिट अग्लो मूर्ति निलकण्ठ वार्णी अर्थात स्वामी नारायणको रहेछ । मन्दिर र बालतपस्वीको बीचमा एउटा सुन्दर आयाताकार जलाशय पनि बनाइएको रहेछ । जसमा मूर्ति र मन्दिरको प्रतिविम्ब मौसम खुलेको दिन निकै आकर्षक देखिनेरहेछ । मन्दिरभित्र जानुअघि स्वागतकेन्द्र पनि निकै भव्य र कलाले सुसज्जित देखिन्छ । त्यसलाई सुन्दर बनाउन कुनै कसर पनि बाँकी राखिएको छैन । मुख्य मन्दिरमा प्रवेश गर्न दुइवटा मुख्य नियम राखिएको रहेछ, फोटो खिच्न नपाईने र छुन नपाइने । मन्दिरका स्तम्भ, सिलिंग र भित्ताहरु यस्तो मिहिन ढंगले बनाइएको छ कि सानो भन्दा सानो संरचनालाई पनि निकै समय खर्चेर कुँदिएको जस्तो लाग्ने । मूर्तिकला, वास्तुकला र संरचनाको अवलोकनमा समय वितेको पत्तै नहुने । आगन्तुकहरुलाई बाटो देखाउने, उनीहरुका प्रश्नका जवाफ दिने र उनीहरुलाई फोटो नखिच्न र नछुन सचेत गराउने स्वयंसेवकहरु यत्रतत्र देखिन्थे । भारतीय र नेपालीहरु मात्र होइन मन्दिरको विशालता र भव्यता हेर्न रुचाउने अरु धर्मसस्स्कृतिका स्थानीय अमेरिकनहरु पनि प्रशस्त देखिन्थे मन्दिर हातामा ।

निकै खुसी र सन्तुष्ट हुँदै हामी फर्किने क्रममा थियौं । फर्कंदैगर्दा बाहिर त्यहि अग्लो मूर्तिको अलि अगाडि तिर एउटा इन्फोग्राफिक म्यापले ध्यान खिच्यो । त्यसको सम्मुखमा गएर हेर्दा स्वामीनारायण ज्ञानप्राप्तीको क्रममा विभिन्न ठाउँमा गएको भन्ने जानकारी पाइयो । अनि एक ठाउँमा मुक्तिनाथ देखियो । त्यो देखेपछि नक्साको विस्तृत विवरणतर्फ जिज्ञासा जाग्यो । हेर्दैजाँदा एक्कासी मन अमीलो भएजस्तो, कताकता खल्लो लाग्यो । कताकता त्यसले स्वाभिमानमा पनि चोट दिएजस्तो भयो । कारण, त्यो नक्सामा नेपाल थिएन । त्यो नक्साको शिर्षकले नैं मुक्तिनाथलाई इण्डियामा गाभिसकेको थियो ।

मुक्तिनाथ इण्डियाको भएको बाप्सको दाबी ।

हिमालयको हृदयमा अवश्थित मुक्तिनाथ कुन देशमा पर्छ ? भुगोल, धर्मसँस्कृति र देशहरुको बारेमा जिज्ञासा र जानकारी राख्ने जो कोहीले पनि आँखा चिम्लेरै भन्न सक्छ यो नेपालमा पर्छ भनेर । तर नेपालको मुस्तांग जिल्लामा पर्ने हिन्दू तथा बौद्धधर्माबलम्बीहरुको यो पवित्र तीर्थस्थल मुक्तिनाथलाई भारतको एउटा अति सम्पन्न र प्रभावशाली धार्मिक संगठनले आफ्नो देशको भनी दावी गरेको छ । बिएपीएस स्वामीनारायण सँस्था उत्तरअमेरिकाद्धारा न्यू जर्सीको रबिन्सभिलमा निर्माण गरिएको अक्षरधाम मन्दिरले आफ्ना् प्रांगणमा लिखितरुपमैं यस्तो दाबी गरेको हो ।

मुख्य मन्दिर प्रवेश गर्नु अगाडि बालयोगी निलकण्ठ वार्णीको ४९ फिट अग्लो पित्तलको भव्य शालीक अगाडि एउटा नक्सा राखिएको छ, जसमा उनी अर्थात स्वामीनारायणले ज्ञानप्राप्तीको क्रममा ८ हजार माइल हिंडेर दर्शन गर्न गएका तीर्थस्थल पनि अंकीत गरिएका छन् । त्यो नक्साको शिर्षकमैं भनिएको छ, निलकण्ठ वार्णीद्धारा आफ्नो यात्राको क्रमममा भ्रमण गरिएका इण्डियाका महत्वपूर्ण हिन्दुतीर्थस्थल । यसको आठौं नम्बरमा मुक्तीनाथलाई देखाइएको छ । नक्सा हेर्दा भारतको साविकको स्थानमा इण्डिया भनिएको छ भने नेपाल भनेर लेख्नुपर्ने स्थानमा केही लेखिएको छैन । शिरानमा हिमालहरु रहेको स्थाथमा हिमालयज भनिएको छ भने त्यसमाथिको भागलाई तिब्बत भनिएको छ । तर नेपाल लेख्नुपर्ने ठाऊँमा केही लेखिएको छैन । नक्सा हेर्दा यस्तो देखिन्छ कि मानौं तिब्बत देखि तलको सम्पूर्ण भुभाग सबै इण्डिया हो ।

भगवानको मन्दिर बनाइसकेपछि त्यसले सत्यतथ्यलाई आत्मसाथ गर्नुपर्छ भन्ने सामान्य मान्यता हो । तर भौगोलिक तथा राजनीतिक तथ्यलाई वेवास्ता गर्दै मुक्तिनाथ इण्डियाको भएको दाबी उक्त धार्मिक संगठनले गरेको छ ।

९६ मिलियन डलरको लागतमा करिब १५ वर्ष लगाएर बनाईको यो मन्दिरका अंकहरु र त्यसका अर्थ निकै रोचक लाग्छन् । यो मन्दिर अमेरिकाकै सबभन्दा ठूलो हिन्दु मन्दिर हो भने विश्वको दोस्रो ठूलो हिन्दु मन्दिर हो । यसमा १२ हजार ५०० स्वयंसेवक उत्तर अमेरिककाका विभिन्न राज्यवाट परिचालन भएका, ३३८ हिन्दुकथा कुँदिएका, ७८ वटा साधुहरुका मूर्ती, हिन्दुसँस्कृति झल्काउने १० हजारबटा मूर्तीहरु आदि ।

यति धेरै साधन, स्रोत, शक्ति र समय खर्चेर बनाईको यो विशाल मन्दिरले ऐतिहासिक तथ्यलाई किन वेवास्ता गरेको होला । डाक्टर, इन्जिनियर, वकिल, व्यापारी, प्रोफेसर आदि सम्मिलित स्वयंसेवकहले श्रमदान गरेको यो ल्याण्डमार्कमा यति सामान्यज्ञान राख्ने कुनै व्यक्ति थिएनन्, यो प्रश्नले खिन्न बनाइरह्यो । यदि यो त्रुटीवशः भएको हो भने यसलाई सच्याइनुपर्छ ।