अमेरिका, बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा बस्ने सोनाली राजभण्डारी टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ चौथो सिजनको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकी छिन्। नेपालको ओखलढुङ्गा जिल्ला, रामबजार -५ मूल थाकथलो भइ हाल बुबा राजेश राजभण्डारी, आमा सारदा राउत राजभण्डारी र दिदी रुसाली राजभण्डारीसंग बोस्टनमा बस्दै आइरहेकी सोनाली अन्तिम ८ प्रतिस्पर्धीहरुमा पर्न सफल भएकी हुन्।
प्रतियोगी नंबर २४ की उनि कोच मेलिना राईको समूहबाट छनोट भएकी हुन्। खास गरी गायन/सङ्गीतमा लगाब भएकी उनकी आमा सारदा राउत राजभण्डारीको प्रेरणाले बाल्यकालदेखि नै सोनालीले गायन क्षेत्रमा लाग्ने अवसर प्राप्त गरेकी थिइन्। परिवारका अनुसार, शैक्षिक अध्ययनका लागि कक्षा ७ मा खुड्किलो चडेकी ११ वर्षीया सोनाली सानैदेखि आमासंगै भजन कीर्तन गाउने अभ्यास गर्दै आइरहेकी छिन्। उनले बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हरेक आइतवार हुने नियमित भजन कीर्तनमा भाग लिदै आइरहेकी छिन्।
साङ्गीतिक क्षेत्रमा लाग्दै गर्दा परिवार र प्रवासी नेपाली समुदायबाट पाएको प्रेरणाले सोनालीलाई साङ्गीतिक क्षेत्रमा केही गर्ने लक्ष्यका साथ ”भ्वाइस किड्स” चौथो सिजनमा भाग लिन नेपालसम्म पुर्याएको हो। यस सिजनको उपाधि चुम्ने उनको लक्ष्य रहेको छ। र, सोही अनुसार तयारीमा होमिरहेकी छिन्। उनले आफूलाई अन्तिम प्रतिस्पर्धाको चरणसम्म पुर्याउन साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आफ्नो उपाधि चुम्ने लक्ष्य साकार बनाउन पनि साथ सहयोग गरिदिन अनुरोध गरेकी छिन्।
उपाधिको छिनोफानो प्रतिस्पर्धीले प्राप्त गर्ने भोटको आधारमा हुने स्मरण गराउदै नेपाल र नेपाल बाहिर रहेका सबै नेपालीलाई आफूलाई भोट गरिदिन अनुरोध गरेकी छिन्। उनका बुबा राजेश राजभण्डारीले पनि प्राप्त सफलताप्रति गर्व गर्दै मेहनत गर्ने छोरी सोनाली र सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन्। उनले उपाधिको छिनोफानो भोटको आधारमा हुने भएकाले छोरी सोनालीलाई सक्दो भोट गरेर उपाधि जिताउन सहयोग गरिदिन सबैसंग अपिल गरेका छन्।
आउदो श्रावण २४ गते (तदनुसार अगस्ट ९,२०२५) सनिबार साँझसम्म भोट हाल्न पाउने म्याद रहेको जानकारी गराउदै उनले छोरी सोनाली राजभण्डारीलाई जिताउन www.khalti.com गएर भोट गरिदिन अनुरोध गरेका छन्।

सोनालीसंगै कोच मेलिनाको समूहबाट नोरेन लोय क्षेत्री पनि छनोट भएका छन्। ४ जना कोच रहेको यस टिभी रियालिटी शोको नियम अनुसार हरेक कोचबाट २/२ जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन्। अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुन सफल अन्य प्रतिस्पर्धीहरुमा कोच सत्यराज आचार्यको टिमबाट स्मयन बजगाँई र रिदम खड्का, कोच मिलन नेवारको समूहबाट निश्चल लिम्बु र आयन राई र कोच खेम सेन्चुरीको समूहबाट आदर्श धिताल र दिलिजा रुवाली रहेका छन्।
कार्यक्रम आयोजकका अनुसार, आउदो श्रावण २४ गते सनिवार साँझ विशेष कार्यक्रमको आयोजना गरी ”भ्वाइस किड्स” चौथो सिजनको उपाधि विजेताको नाम घोषणा गरिने भएको छ।












प्रतिक्रिया