ग्रेपभाइन, टेक्सस। ड्यालस गुरखाज फाउन्डेसनको आयोजनामा टेक्ससको ग्रेपभाइनमा अक्टोबर ३ र ४ मा सम्पन्न १५ औँ गुरखाज कप २०२६ भव्य रूपमा सम्पन्न भएको छ।
अमेरिकाका विभिन्न राज्य तथा बेलायतबाट गरी कुल २९ टोलीको सहभागिता रहेको प्रतियोगिताले नेपाली समुदायबीच खेलकुद, एकता र मित्रताको सन्देश फैलाउन सफल भएको आयोजकले जनाएको छ। विगत १५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गुरखाज कप नेपाली समुदायको प्रतिष्ठित सेभेन-ए-साइड फुटबल प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ। बढ्दो सहभागिता र अन्तर्राष्ट्रिय उपस्थितिले प्रतियोगिताको लोकप्रियता वर्षेनी विस्तार भइरहेको देखिएको छ।
यस वर्षको प्रतियोगितामा कुल २६ हजार अमेरिकी डलर नगद पुरस्कार वितरण गरिएको थियो।
ड्यालस गुरखाज खुला विधाको च्याम्पियनः
प्रतिस्पर्धात्मक खुला (ओपन) विधातर्फ आयोजक ड्यालस गुरखाजले उपाधि जितेको छ भने गोल बस्टर्स एफसी उपविजेतामा सीमित भएको छ। त्यस्तै, ३५ वर्षमाथि (35+) विधामा डिएफडब्लु हिमालयज च्याम्पियन बनेको छ भने ड्यालस गुरखाज भेटेरान्स टोलीले उपविजेताको उपाधि हात पारेको छ।

देश तथा विदेशबाट आएका टोलीबीचको प्रतिस्पर्धाले गुरखाज कपलाई अमेरिकामा नेपाली समुदायले आयोजना गर्ने महत्वपूर्ण र प्रतिस्पर्धात्मक फुटबल प्रतियोगितामध्ये एकका रूपमा थप सुदृढ बनाएको आयोजकको विश्वास छ।
कैलाश भट्टलाई विशेष सम्मानः
प्रतियोगिताको अर्को प्रमुख आकर्षण नेपाल राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान कैलाश भट्टको विशेष सम्मान रहेको थियो।
डिएफडब्लुमा क्षेत्रमा बसोबास गर्दै आएका भट्टलाई नेपाली भलिबल तथा समग्र नेपाली खेलकुद क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका साथै युवा खेलाडीहरूलाई प्रेरणा प्रदान गरेको कदरस्वरूप डलास गुरखाज फाउन्डेसनले सम्मान गरेको हो।

फाउन्डेसनले प्रत्येक वर्ष नेपाली खेलकुद तथा समाज विकासमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई गुरखाज कपको अवसरमा सम्मान गर्दै आएको जनाएको छ। यस परम्परामार्फत अग्रजहरूको योगदानको कदर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य रहेको फाउन्डेसनले स्पष्ट पारेको छ।
समुदायलाई जोड्ने साझा उत्सवः
गुरखाज कप केवल फुटबल प्रतियोगितामा सीमित नरही नेपाली समुदायलाई एउटै मञ्चमा जोड्ने साझा उत्सवका रूपमा विकसित भएको छ। खेलाडी, परिवार, व्यवसायी, प्रायोजक, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिताले यसलाई डलासबाट विस्तार गर्दै अन्तर्राष्ट्रिय नेपाली समुदायको साझा कार्यक्रमका रूपमा स्थापित गरिरहेको छ।
कार्यक्रम संयोजक बिनोद बिष्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोली, खेलाडी, प्रायोजक, कम्युनिटी पार्टनर, स्वयंसेवक, दर्शक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे।

उनले समुदायको विश्वास र सहयोगकै कारण १५ वर्षको यात्रामा गुरखाज कप लगातार ठूलो, व्यवस्थित र प्रतिस्पर्धात्मक बन्दै गएको बताए।
२९ टोलीको सहभागिता, अन्तर्राष्ट्रिय उपस्थिति र २६ हजार डलर पुरस्कार राशिसहित सम्पन्न १५औँ संस्करणले गुरखाज कपको इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेको छ। फाउन्डेसनले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै लैजाने लक्ष्य राखेको जनाएको छ।












प्रतिक्रिया