राजनीति-समाज

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले जनताप्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताएका छन् ।

आइजिपी कार्कीले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुँदा त्यसतर्फ हेक्का राख्न आग्रह गरे ।

Advertisement

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दा उनले सो कुरा बताएका हुन् । सो समारोहमा उनले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताए ।

दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उनले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिए । ‘सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्न गर्नेछन्’, उनले भने ।

प्रहरीको पोसाकले परिचय दिएजस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उनको भनाइ थियो । ‘प्रहरीको यो पदले अधिकार दिन्छ, चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ । त्यसैले, पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुन्न’, उनले भने ।

महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरू हुने उल्लेख गरे । प्रहरी निरीक्षकको पद केवल एउटा दर्जा मात्रै नभई यो निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्त्वपूर्ण परीक्षा भएको उनको भनाइ थियो ।

उनले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताए ।

समारोहका प्रमुखअतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गरे । प्रशिक्षार्थीले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए । साथै नेपाल सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गरे । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक चोपबहादुर डेंगा (अध्ययन विधा), गोपाल राई (शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि), रामकुमार जिटी (प्रहरी युक्ति तथा कारबाही), विकासकुमार धामी (चाँदमारी), विशाल पौडेल (सर्वतृतीय) र बालकृष्ण पोख्रेल (सर्वद्वितीय) रहेका थिए ।

दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शपथ खुवाएका थिए । प्रशिक्षार्थीले धार्मिक ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेका थिए । प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।