चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छन् ।
चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै उनले अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताइन् ।
उद्योगी व्यवसायीहरूले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, ‘प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।’ देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उनले प्रस्ट पारिन् ।
त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताइन् । हालै मात्र लगानीमैत्री कानुनहरूमा के–के सुधार गर्नुपर्छ ? भनेर बृहत् कार्यशाला गरिसकिएको उनले जानकारी दिइन् । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिइन् ।
बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेशमा उद्योगमैत्री नीतिका लागि आफूहरु लागि परेको बताए । ्
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरूङले साना तथा मझौला उद्योगहरुलाई सरकारले हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने बताइन् ।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष भीम घिमिरेले उद्योग विकासमा बाधक कानुन, नीतिगत जटिलता तथा प्रशासनिक प्रक्रियामा सुधार गर्न तीनै तहका सरकारसँग माग गरे ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्यसँगै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चितवनलाई देशकै आर्थिक राजधानीका रूपमा विकास गर्न संघले रणनीतिक पहल थालेको जानकारी दिए । उनले लगानी प्रवद्र्धन र औद्योगिक विकासका लागि व्यावहारिक एवम् उद्योगमैत्री नीति तत्काल तर्जुमा गर्न राज्यसँग मागसमेत गरे ।
साधारण सभाको अवसरमा चितवनका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चितवनका ई.मिनी माधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, नेपाली कम्युनिस्ट पार्टी चितवनका सहसंयोजक सङ्गीता भट्टराई, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष राजु पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा चितवन उद्योग संघका कार्यकारी निर्देशकले प्रस्तुत गरेको संघको वार्षिक प्रगति प्रतिवेदन, संघका उपाध्यक्ष एवम् आर्थिक विभाग विभागीय प्रमुख दिनुपकुमार बरालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷०८३ को लेखा परीक्षण प्रतिवेदन, संघका उपाध्यक्ष गोपालप्रसाद गैरे, कार्यसमिति सदस्य अर्जुनप्रसाद सापकोटा, गोविन्दप्रसाद खनाल, प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल टिप्पणीकार रही संघका वरिष्ठ उपाध्यक्ष एवम् विधान सुझाव समितिका संयोजक गजेन्द्र अधिकारीले पेस गरेको विधान संशोधन सुझावलगायतका प्रस्तावहरुमाथि छलफल गरी निर्णय गरिएको थियो ।
सो अवसरमा संघको पालिका समितिमध्येबाट सर्वोत्कृष्ट चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतमसहितको कार्यसमितिलाई अवार्डसहित सम्मान र उद्योग संघमा उत्कृष्ट कार्य गर्दै आएका सञ्चार अधिकृत राजु भट्टलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा नगदसहित सम्मानित गरिएको थियो ।













प्रतिक्रिया