काठमाडौँ । अवैध बाटोबाटै अमेरिका पुगेका नेपाली मूलका अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतम मानव तस्करीको आरोपमा पक्राउ परेका छन् । ह्विलचियरको सहायतामा हिँड्डुल गर्ने उनी अमेरिका बसेरै नेपालबाट मानव तस्करी गर्ने गिरोहका नाइके हुन् । अन्ततः अपाङ्गताको भेषमा उनको मानव तस्करीको कालो धन्दा खुलेको छ ।
रुकुमपूर्वको सिस्ने स्थायी घर भएका गौतमलाई गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
आफू पनि अवैध बाटो हुँदै अमेरिका पुगेर २०० युवालाई अमेरिका लगिसकेका गौतमलाई भारत हुँदै नेपाल आउने क्रममा भैरहवा नाकाबाट ब्युरोको टोलीले पक्राउ गरेको हो ।
गौतम नेपाली युवा–युवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको गिरोहका नाइके भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बताएको छ ।
छ जनाले दिएको उजुरीका आधारमा गौतमलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । ‘उनीविरुद्ध ६ जना पीडितको जाहेरी छ,’ एसएसपी श्रेष्ठले भने, ‘गौतमसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’
गौतम आफैँ अवैध बाटो हुँदै अमेरिका पुगेका थिए । उनले प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव भएका बेला कार्यक्रममा सहभागी हुन अमेरिकाको टेक्सास पुगेका थिए। सोही बेला टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका छिरेका थिए ।
उनले सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड र सन् २०१५ मा पासपोर्ट लिएका थिए । उनले प्रहरीसँग नेपालीलाई मोटो रकम लिएर अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन् ।
कसरी परे प्रहरीको फन्दामा ?
हस्त गौतमविरुद्ध सन् २००५ देखि नै प्रहरी कार्यालयहरूमा मानव तस्करी आरोपमा उजुरी परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।
उनी अमेरिका पुगिसकेको खुलेपछि उनलाई पक्राउ गर्न प्रहरीको टाउको दुखाइको विषय बनेको थियो । उनी अमेरिका नै बसेर मानव तस्करीको धन्दामा सक्रिय रहेको तथ्य खुलेपछि प्रहरीलाई पक्राउ गर्न थप चुनौती नै सिर्जना भएको थियो ।
सन् २००५ देखि नै उनी नेपाल आउन छाडेका थिए । उनी आफैँ पनि अवैध बाटो हुँदै अमेरिका छिरेका हुन् । त्यसै कारण अमेरिका लैजाने अवैध बाटोबारे उनले राम्रोसँग जानकारी हासिल गरेका हुन् । पछिल्लोपटक उनी अमेरिका हुँदै मेक्सिको र त्यहाँबाट दिल्ली आएका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान टोली लामो समयदेखि उनको ट्राभल रेकर्डको अनुसन्धानमा केन्द्रित थियो ।
केही दिनअघि उनी फेरि नेपालीलाई अमेरिका लैजाने उद्देश्यले भारतीय हुँदै स्थलमार्ग प्रयोग गरेर रुकुम पुग्न खोजे । त्रिभुवन विमानस्थल बाटो प्रयोग गर्दा प्रहरीले पक्राउ गर्ने भयले उनले भारत हुँदै स्थलमार्ग रोजेका थिए । भारत पुगेको सूचना पाएको ब्युरोको टोली उनको खोजीका लागि दिल्ली नै पुग्यो । प्रहरी दिल्ली पुग्दा उनी भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेको सूचना प्रहरीले पायो । सोही सूचनाका आधारमा प्रहरीले उनलाई बेलहिया नाकाबाट पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले हस्त गौतमसहित पक्राउ परेको समूहमाथि संगठित मानव तस्करी मुद्दामा अनुसन्धान थालेको छ । पक्राउ परेकामाथि सात दिनको म्याद थप गरेर अनुसन्धान सुरू गरिएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले हिमालय खबरलाई जानकारी दिए ।
प्रतिक्रिया