मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुमफिर   
मुख्य समाचार   
विचार / ब्लग    

सुस्ताएको आरुघाटको सम्झना

सुस्ताएको आरुघाटको सम्झना

रामचन्द्र भट्ट

शेयर गर्नुहोस:

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झण्डै २४ वर्ष अघि २०५५ चैत अन्तिमताका मैले गोरखाको आरुघाट बजार टेकेको थिएँ । धादिङ्ग र गोरखाको सिमानामा रहेको आरुघाट बजार उराठ र खण्डहर बनेको समयमा म त्यहाँ पुगेको थिएँ । धादिङ्गसँगै जोडिएको नुवाकोटमा जन्मिएपनि आरुघाट पुग्ने अवसर त्यस अघि मिलेको थिएन ।

‘तपाईहरु आजै आरुघाट पुग्ने हो भने त यहाँबाट जतिसक्दो चाँडो निस्कनुहोला । नभए त पुग्न गाह्रो पो हुन्छ’ सल्यानकोटकी घरपेटी आमाले सुझाव दिइन् । घरपेटी आमाको चोटामा हाम्रो हाम्रो डेरा थियो । चुरोट, चाउचाउ, बिस्कुट, चिनी, चिया बेच्ने सानो दोकान थियो उनको । बिहानभर गाउँका बेरोजगार लोग्ने मानिसहरू जम्मा भएर गफ चुट्ने थलो पनि थियो त्यो चियापसल ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र राष्ट्रिय योजना आयोगको संयुक्त प्रोजेक्ट ‘विशेष क्षेत्र विकास कार्यक्रम’ अन्तरगत झण्डै एक वर्षका लागि म धादिङ्गको सल्यानकोट पुगेको थिएँ । सँगै ललितपुरका बसन्त गौतम थिए । हामी दुई थियौ टोलीमा ।

गाविसका निम्ति केही विकासे आयोजनाहरु लिएर गएका थियौँ हामी । संसदीय चुनावको माहौलले गाउँलाइ छोपिसकेको थियो । प्रतिनिधि सभाको चुनाव हुँदैथियो बैशाखमा । गाउँमा चल्तापूर्जा नेता कोही भेटिदैनथे । माओवादीको दवदवा थियो । मानिसहरु राजनीतिक कुराकानी गर्न डराउँथे । गाउँका टाठाबाठाहरु बस्न नसकेर कित सदरमुकाम धादिंगबेसी झरेका थिए । कि काठमाडौं सरेका थिए । सल्यानकोट गाउँ विकास समितिका अध्यक्ष हरिबहादुर बस्नेतको बास पनि गाउँ भन्दा बढी सदरमुकाममै हुन्थ्यो ।

हाम्रो कार्यक्रम अघि बढाउन गाविसको बैठक हुन जरुरी थियो । तर गाउँमा जनप्रतिनिधिहरु नभएको, सबै चुनावमा व्यस्त भएको हुँदा हामीले सदरमुकाम फर्किने निधो गर्यौ ।

भोली सदरमुकाम जाने भनेर तयारी गरियो । राति सुत्ने बेलामा यता आइसकेपछि एकपटक आरुघाट बजार टेकेर फर्किने हो कि भन्ने मनमा उब्ज्यो । सहकर्मी बसन्तलाई प्रस्ताव राखेँ । ‘तपाईले भनेपछि जाउँ न त । भोली नै सदरमुकाम पुगिहाल्नु पर्ने पनि त केही छैन । एक दिन ढिला हुँदैमा हामीलाई केही बित्ने पनि होइन’ उनले पनि सहमती जनाए ।

बिहान उठेर सदाझै चिया पिउने बेलामा घरपेटी आमालाई हाम्रो योजना सुनायौ । ‘तपाईहरु यहाँबाट खहरे निस्किएर जाँदा सजिलो पर्ला । पहाडको बाटो गाह्रो हुन्छ । खहरे निस्कनुभयो भने कहिलेकाँही टारीबेसीसम्म जाने ट्रक पनि पाइन्छ ।’ घरपेटी अामाको सुझाव थियो ।

त्यसै अनुसार तयारीमा लाग्यौ । खाना खाइसक्दा ११ बजिसकेको थियो । घरपेटी आमाले दोहोर्याइन्-‘तपाईहरु नयाँ मान्छे । जतिसक्दो चाँडो जानुहोला । घाम छँदै आरुघाट पुग्नुभयो भने सजिलो पर्ला कि । रातसाँझ हिड्न समय पनि ठीक छैन ।’ उनले उखान हाल्दै भनिन् -तँलाई हेर, मलाई हेर, बेला हेर ।

ब्याकप्याकमा आफ्नो सामान राखेर हामी त्यहाँबाट बिदा भयौ । चैतको महिना, मध्यदिनको टाउको चर्किने घाम । सल्यानकोटबाट ठाडो ओरालो झर्न हामीले सुरु गर्यौ । मलाई उकालो उक्लिन बरु त्यति गाह्रो लाग्दैन । सुस्तरी हिँडेर उकालो उक्लन सजिलो लाग्छ । तर ओरालो झर्न भने निकै कठिन लाग्छ । शरिको बोझ घुँडामा परेजस्तो महसुस हुन्छ । तरपनि हामीलाई तल त्रिपुरेश्वरसम्म झर्नु पर्नेनै थियो ।

म नुवाकोटमा जन्मिएको भएपनि कहिल्यै उकाली ओराली गर्नुपरेन । मामाघर, पिताजीको मामाघर जाँदा भन्दा बाहेक न उकालो चढ्नुपर्थ्यो, न ओरालो झर्नुनै पर्ने अवस्था थियो । स्कुल जाँदा पनि समथर टार र सडकबाटै हिडेर गइन्थ्यो । बजार जाँदा होस् या बिरामी भएर अस्पताल जाँदा होस् कहिल्यै उकाली ओराली गर्नुपरेन । त्यसैले गर्दा उकालो ओरालो देखेपछि त्यसैत्यसै अत्याश लागेर आउँछ ।

झण्डै डेढ घण्टा ठाडो ओरालो झरेपछि हामी खहरे त्रिपुरेश्वर आइपुग्यौ । त्रिपुरेश्वर सानो बजार बसेको ठाउँ । हाइस्कुल नजिकै भएको र धादिङ्गका विकट हिमाली गाउँहरु जाने ठाउँ भएकोले सानो बजार बनेको थियो ।

त्यतिखेर धादिंगबेसीबाट टारीबेसीसम्म नियमित बस सेवा थियो । बसको अन्तिम स्टपनै टारीबेसी थियो । आँखुखोला पार गरेपछि कच्ची सडकहरु दुई तिर जान्थे । एउटा नदी किनारको खोँचखोचै रिङ्ग्ने बजारसम्म पुगेर टुङ्गिन्छ । अर्को चाँही सल्यानटार उक्लिएर टारको सिरानसम्मै पुग्छ ।

 

घरपेटी आमाले ‘कहिलेकाँही ट्रक पनि भेट्न सकिन्छ’ भनेको वाक्यले बाटो भरि आशा लागिरह्यो । तर झण्डै दुई घण्टा हिँडेर टारीबेसी आइपुगुन्जेलसम्म पनि एउटै ट्रक भेटिएनन् बाटोमा । खेतबारी जोत्ने पावर ट्रिलरमा पछाडी ट्रेलर जोडेर सामान बोक्ने साधन भन्दा बाहेक अरु केही फेला परेनन् ।

चैतको टन्टलापुर घामले लखतरान थियौ हामी । त्यसमाथि आमने सामनेका दुई पहाडको खोँचले उखुमै गर्मी थपेको थियो । नजिकै आँखुखोला बगिरहेको छ । ‘आ … जतिसुकै ढिला भएर पो हामीलाई के छोप्नु छ र ? जाउँ एकचोटी खोलामा डुबेर शरिरलाई चिसो बनाउँ अनि हिँडौला । जीउमा फूर्ती पनि आउँछ’ साथी बसन्तले प्रस्ताव गरे । भन्न मात्र नसकेको थिएँ मैले पनि । किनारमा लुगा खोलेर एउटा अण्डरवेयरमात्र लगाएर खोलामा पसियो ।

आँखुको पानी न चिसो, न साह्रै तातो । बडो मज्जासँग आधा घण्टा पौडियौ हामी । बाल्यकालमा घर मुन्तिरको तादी खोलामा दिनभरि पौडी खेलेको, बालुवामा सुतेको याद गर्दै आँखु खोलामा डुबुल्की मारियो । पौडी खेल्ने मामिलामा म आफूलाई प्रोफेसनल न दावी गर्दिन । तर असार साउनको उर्लदो भेल होस् या पुस माघको चिसो जस्तोसुकै समयमा पनि पौडिएर नदी पार गर्ने बानीले म पारङ्गत नै छु जस्तो लाग्छ । मेरो पौडिने शैली देखेर बसन्त पनि प्रभावित भए ।

गर्मीको धुपमा पानी छोड्न त मन थिएन । तर हामीलाई सकेसम्म छिटै आरुघाट पुग्नुछ । त्यहाँ बासको प्रवन्ध मिलाउनु पनि छ । पुगेर मात्र भएन, बजार घुम्नु पनि त छँदैथियो ।

आँखुखोलाबाट सल्यानटार उक्लिन हामीलाई ठ्याक्कै एक घण्टा लाग्यो । भोकले गलाइसकेको थियो । त्यसैले बीचमा एउटा भट्टी जस्तो छाप्रे पसलमा पसेर चिया बिस्कुट खान थाल्यौ । त्यसले पनि हाम्रो समय लियो ।

अब टार टेकियो । शायद ६/७ कक्षाको सामाजीक शिक्षामा होला । त्यतिखेर नेपालको सबैभन्दा लामो टार सल्यानटार भनेर पढेको थिएँ । सल्यानटार, बट्टार, रुम्जाटार, तुम्लिङ्गटार यी सानैदेखि मनमा गढेर बसेका टारका नामहरु थिए । आफ्नो जन्मस्थल पिपल्टार छँदैथियो ।

आँखु र बुढीगण्डकीको मिलन हुने ठाउँबाट सुरु भएको सल्यानटार झण्डै ९ किलोमिटर लामो छ । चैतको समय भएको हुँदा टार पुरै फुङ्ग उँडेको छ । टारको पश्चिम साइडबाट बुढीगण्डकी अबीरल बगिरहेकी छिन् । पूर्बतिरबाट आँखुखोला बगिरहेकी छिन् । तर टार उजाड र सुक्खा छ । पिउने पानीकै समस्या छ । विकासे धाराको पिलर ठडिएका छन् गाउँको बीचबीचमा । तर टुटीबाट पानी झरेको कतै देख्न पाइएन । तलको पानीलाई यहाँ माथि ल्याउन सक्ने हो भने यो टारको रुपमात्र फेरिदैन, नेपालकै लागि अन्न र तरकारीका लागि ठूलो पकेट क्षेत्र बन्न सक्ने थियो ।

सल्यानटारलाई बीचमा चिरेर पुछारदेखि सिरानसम्मै सडक गएको छ । कच्ची सडकमा सामान बोक्ने ट्रकहरु चल्दा तिनले उँडाउने धुलोले पुरै कुइरीमण्डल हुन्छ । एकतमासको उराठ लाग्दो दृश्य हेर्दै हामी निरन्तर उत्तर पश्चिमतिर लागिरह्यौ अारूघाटलाइ भेट्न ।

गाउँका बीचमा धेरै काप्राका वृक्षहरु देखिए । काप्रोका चिउला पलाएका छन् । कलिला पातलाई टिपेर बच्चाहरु पुउउ…. गर्दै पिपिरी बजाइरहेका स्वरहरु ठाउँठाउँमा सुनिन्छन् । आँपका बोटहरुमा भरखर फूल फुलेका छन् । ती फूलहरुले मताइलो सुगन्ध छाडेका छन् । मौरीहरु त्यसलाई चुसिरहेका छन् । बाख्राका बथानहरु काप्राको बोटबाट झरेका टुसाहरु, आँपका मुजुराहरु खाएर उग्राउँदैछन् । हिजो भरखरै मात्र पानी परेकोले हिउँदभर सुकेका माटोका डल्लाबाट हररर.. सुगन्ध आइरहेको छ । महिलाहरु डल्लेठोले माटाका डल्ला फुटाउन तल्लिन रहेका पनि भेटिए ।

टार यति हिडियो कि धेरै पटक चौतारीमा विश्राम गरियो । आरुघाट पुग्न कति लाग्छ ? भनेर कतिलाई सोधियो । थकाईले भन्दा पनि हिँड्दा हिँड्दा पट्यार लागेको छ । ‘अब धेरै छैन । १५ मिनेट हिड्नुभयो भने डीलमा पुगिन्छ । त्यहाँबाट तल आरुघाट प्रष्ट देख्नुहुन्छ तपाईहरुले’ पानीको गाग्री काँखीमा बोकेर घरतिर हिँडेकी एक महिलाले भनिन् ।

नभन्दै १० मिनेटमै हामी डीलको चौतारोमा पुग्यौ । त्यहाँ पुग्दा दिनभरिको हिँडाई र थकाईनै मेटिएको जस्तो भयो । मनासलु र गणेश हिमाल पग्लिएर आएको बुढीगण्डकीको चिसो हावाले हाम्रो शरिरमा शीत सञ्चार प्रवाह गर्यो । तल आरुघाटतिर आँखा डुलाउन थाल्यौ हामी । वारि धादिंङ्ग र पारी पट्टि गोरखा जिल्ला । एउटा पुरानो झोलुङ्गे पुलले दुई जिल्लालाई जोडेको छ ।

धादिङ्गको साइडमा भन्दा गोरखा पट्टी चाँही बजार अलि ठूलो देखिन्थ्यो । धादिङ्गको साइडमा समथर भाग ठूलो भएपनि भरखरै बस्ती बस्ने तरखरमा जस्तो महसुस भयो । ढुंगाले बनेका र जस्ताका छानाका घरहरु छन् । भरखरै बस्ती बस्न सुरु भएकाले होला छरपष्ट र अव्यबस्थित देखिन्थे घरहरु । लाग्थ्यो नेपालको विकासको बर्षौदेखिको तौर तरिका यस्तै छ । अरु देशका पहिले योजना र योजना अनुसार पूर्वाधार विकास हुन्छ । अनिमात्र बस्ती विकास सुरु हुन्छ । तर नेपालमा भने पहिले जस्लाई जहाँ मन लाग्छ आफ्नो जमिनमा घर बनाउन सुरु गर्छन् । अनि योजना सुरु हुन्छ । त्यतिगर्दा व्यबस्थापनमा निकै भद्रगोल भैसकेको हुन्छ । खर्चिलो, समयको व्यबस्थापनमा चुनौति बढ्ने गरेको छ ।

मनमा अनेक कुरा खेलिरहेको थियो । ‘होइन अब त झर्ने होइन । त्यहाँ पुगेर पनि यसो बजार घुम्नुपर्यो । बस्ने बासको प्रवन्ध पनि मिलाउनुपर्छ’ सहकर्मी बसन्तको आवाजले म झसङ्ग भएँ ।

हामी सिँढी झर्न सुरु गर्यौँ । तरेली परेका सिँढी केही वर्ष अघिमात्र बनेको जस्तो लाग्छ । मानिसहरु जडिबुटीका भारी बोकेर उकालो लाग्दैथिए ।

‘कहाँबाट आउनुभएको ?’ मैले सोधेँ ।

‘सिर्दीबासदेखि आएको’ उनीहरु मध्यको एकले जवाफ दिए ।

सिर्दीबास गोरखाको उत्तरी विकट गाउँ हो । हिमालको काखमा रहेको सिर्दीबासबाट अनेक प्रकारका जडिबुटी संकलन गरेर उनीहरुले काठमाडौं पुर्याउने गरेका रहेछन् ।

झण्डै १५ मिनेटमा हामी बुढीगण्डकीको किनारमा रहेको आरुघाट बजार आइपुग्यौ । हामीलाई पहिलो समस्या थियो रात बिताउने ठाउँको खोजी ।

एकजना सानो पसलमा गएर लज कता पाइएला भनेर सोध्यौ । ‘उ त्यो होटलमा लज पनि छ । त्यहाँ पाइन्छ’ ती पसलेले भनेपछि हामीलाई राहत मिल्यो ।

‘खाना खाएको २०, सुतेको २० रुपैयाँ लाग्छ । एउटा कोठामा दुई बेड छ । तपाईहरुलाई हुन्छ ?’ लजवालाले सोधे ।

सस्तो खोज्दै चाहार्ने मुडमा हामी थिएनौ । जे छ त्यसैलाई स्विकार गर्यौ । लजवाला सल्यानटारकै रहेछन् । दुई वर्ष भएछ यहाँ बेसी झरेर होटल व्यबसाय थालेको । उनले हामीलाई माथिल्लो तल्लामा रहेको कोठा खोलेर देखाए । दुईवटा खाट थिए कोठामा । तर दुबैमा एकएक जनामात्र सुत्न मिल्ने खालको । सिरक डस्नाको खोल पनि सफा नै लाग्यो । हामीले झोला, व्याकप्याक त्यही कोठामा थन्कायौ र घुम्न निस्कियौ ।

‘समय ठीक छैन है हजुर । तपाईहरु चाँडै आउनुहोला’ निस्कने बेलामा होटलवालाले भने । लजमा बस्नका लागि नाम टिपाउने क्रममा उनले रजिष्टरमा टिपेको तीन पुस्ते, ठेगानाले नै हाम्रो मनमा शंका उब्जिसकेको थियो । जनयुद्धका नाममा माओवादीले सुरु गरेको आतंकको पराकाष्ठाको समय छ । त्यसमाथि डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखा । अनि पुष्पकमल दाहाल प्रचण्डले जीवनका केही समय पढाएको भीमोदय माध्यामिक विद्यालय पनि यही अारूघाटमा हो । हामी त्यो अवस्थासँग अनविज्ञ पक्कै छैनौ ।

बुढीगण्डकी माथिको कालो फलामे पुलबाट छङछङ… बगिरहेको बुढीगण्डकी हेर्यौ । पानीको आवाज निकै मिठो र सुनिरहुँ जस्तो लाग्यो । ढुंगामा बेगले ठोक्किएर दुध जस्तो सेता भएको थियो नदीको पानी । स्थानीय युवाहरु हामीलाई देखेर अनौठो हिसाबले हेरिराखेका छन् । गोरखा पट्टिको आरुघाट बजार भिरालो ठाउँमा छ । यसो हेर्दा बजार निकै गुल्जार हुनुपर्छ । तर अहिले मानिसहरुको चहलपहल घटेको देखिन्छ । केही महिना अघिमात्र माओवादीले लुटेको बाणिज्य बैंक अहिले सरेको छ । पुरानो साइन बोर्ड घरमा झुण्डिरहेको छ । प्रहरी चौकी पनि सरिसकेको छ । भवन रित्तै छ ।

एउटा चौरमा उग्राइरहेका खच्चडका हुल थिए । सिर्दीबास लैजाने सामान बोक्न आएका थिए ती खच्चडहरु । कुनैको पीठमा भारी लादिएको, कुनैकोमा सामान प्याक गर्न लागिएको अवस्थामा थिए ।

अलि माथिसम्म पुगेर बजार घुम्यौ । रौनकता हराएको छ बजारको । बेहुली अन्माएको घर जस्तो कुनै चार्म छैन । स्थानीय बुढापाकाहरु हामीलाई नौलो देखेर उनीहरुको नजरले केही सोध्न खोजेजस्तो भाव बुझिन्छ । माओवादी आयो कि पुलिस, सेनाका मान्छे हुन् भन्ने उनीहरुको शंका हुनुपर्छ । समयनै खराब भएको बेलामा यो शंका अस्वभाविक पनि थिएन । त्यसमाथि मेरा सहकर्मीको हेयर स्टाइल, हिँडाई पहिलो चोटी देख्नेका लागि सेनाकै जस्तो लाग्थ्यो ।

धेरै पहिले लमजुङ्ग, स्याङ्ग्जा, पोखरा, बागलुङ्गबाट हिँडेर काठमाडौं जाने नाका थियो आरुघाट । त्यहाँबाट धादिंग हुँदै नुवाकोटको सामरी, त्रिशूली, ककनी हुँदै काममाडौं जान्थे मानिसहरु । तर पृथ्बी राजमार्ग खुलेपछि रौनकता गुमाएको आरुघाट माओवादी जनयुद्धले थिलथिलो पारेको छ ।

‘छोरानाती त काठमाडौं गएर बसेका छन् । हामी त जन्मे हुर्केको यो ठाउँ छाडेर त्यो साँघुरो शहरमा कसरी बस्न जानु ?’ पुल पारि ठूलो चाक्लो ढुंगामा बसेर आराम गरिरहेका एक वृद्धले भने । छोरा काठमाडौं, छोरीको बिहेर भएर गोरखा बजारमा छन् । सानो पसल चलाएर उनी बसेका रहेछन् ।

हरेक नेपालीका अनेक कथा हुन्छन् । हरेकका अनेकन् व्यथा बोकेका हुन्छन् । धादिंगपट्टिका व्यापारीहरुले आरुघाट बजारबाट भविष्यमा ठूलो आशा देखेका छन् । सुनौलो भविष्य देखेका छन् । तर गोरखापट्टिका पुरानो बजारबासीमा भने निराशा भन्दा बाहेक केही भेटिदैन । देख्दादेख्दै आरुघाटको वैभव विलिन भएर जाने अवस्था छ ।

चैत महिना भएकोले दिन लामो हुन सुरु भैसकेको छ । तर अग्लो डाँडाको फेदमा रहेको आरुघाटमा भने ६ नबज्दै घाम देखिन छाड्ने रहेछ । घुम्न त अझै मन नभएको कहाँ हो र ? तर माओवादीले भेटिहाले भने सेना र पुलिसको गुप्तचर भनेर केरकार गर्ने, सेनाले भेटे भने नयाँ देखेर बिना कारण सास्ती खेप्नुपर्ने अवस्था छ । हामी फेरि उही पुल तर्दै अघि बुक गरेको होटलमा फर्कियौ ७ बजेतिर ।

दुर्गम भएपनि स्थानीय लघु जलविद्युतबाट उत्पादन भएको बिजुलीले दुबै जिल्लातिरका बजारलाई उज्यालो पारिएको रहेछ । तर साँझ ६ बजे बत्ति आएर ८ बजे गैसक्ने रहेछ । ‘सरहरुलाई खाना लगाइदेउ त’ होटलवालाले आफ्नी पत्नीलाई आदेश दिए । स्थानीय उत्पादन घैयाको भात र काउलीको तरकारी थियो ।

राति ओछ्यानमा पल्टिएपछि यति लामो बाटो कसरी हिडेर टारीबेसी पुग्ने चिन्ताले गहिरो निद्रा परेन । एकातिर बुढीगण्डकीको आवाज, अर्कातिर सहकर्मीको घुराई । अनि बाटोको चिन्ता । एकमनले भने भविष्यमा आरुघाट आउने अवसर मिल्थ्यो मिल्दैनथ्यो, कमसेकम एउटा नयाँ ठाउँमा पाइला त हालियो भन्ने कुराले मनमा सन्तोष मिलेको थियो । कतिबेला निदाइएछ पत्तै भएन ।

बिहान सातै बजे होटलहावालले ढोकामा ढकढक … आवाजले निद्रा खुल्यो । ‘सरहरु एउटा मिनीटाटा आएको छ । अलिअलि सामान लिएर टारीबेसी जाँदैछ । तपाईहरु पनि त्यही सामानको बोरा माथि बसेर जानुभयो भने सजिलै होला’ होटलवालाको भनाईले खुशीको सीमा रहेन ।
मुख पनि नधोई उनले बनाएको चिया सुर्क्यायाै हामी दुईभाईले । दुई जनाले जनही २० रुपैया तिरेर ट्रक चढियो ।

कच्ची र धुलाम्य सडक । त्यसमाथि हामी पछाडी अालुको बोरा माथि बसेका छौ । कहिले ट्रक दायाँ लच्किएर बुढीगण्डकीमा खसिहाल्छ र आजै जीवनको अन्तिम दिन रहेछ भनेजस्तो हुन्छ । कहिले भित्तापट्टि धँसिएला जस्तो हुन्छ । मनमा डरैडर र शरिरमा धुलैधुलो बोकेर झण्डै एक घण्टामा टारीबेसी झरियो । धुलो यतिसम्म थियो कि यात्रुहरुले एकले अर्कालाई हाँस्दाखेरि खुलेका दाँत र आँखाले मात्र चिन्न सकिन्थ्यो ।

टारीबेसी आइपुगेर फेरि एक पटक आँखुखोलामा पौडिएर जीउको धुलो बगायौँ । नजिकैको होटलमा भरखर तार्दै गरेको माछा र भात थपिथपि खायौ ।

यो पनि पढ़नुहोस:

रविको मुद्दाले एनआरएनलाई दिएको सन्देश

स्वस्थानीको अध्याय