मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

स्वस्थानीको अध्याय

स्वस्थानीको अध्याय


रामेश्वर केही महिनादेखि कतै देखिदैन । अरु बेला दिनको १८/२० घण्टा बाहिरै हुने उ हिजोआज घर बाहिर कतै भेटिदैन । चोकको चियापसलमा पनि आउँदैन उ । गाउँमा कसैलाई केही पर्दा सबैभन्दा अग्रसर हुने, अग्रपंक्तीमा रहेर गाउँलेको सेवामा लाग्ने उसलाई मानिसहरुले नदेखेको धेरै भैसक्यो ।

जन्मथलो अर्कै जिल्लामा भएपनि जागिरे जीवनको तीन दशक यही जिल्लामा उसले बिताइसकेको छ । जबदेखि यो जिल्लामा उ आयो उसका तीनवटा बाल बच्चाहरु यही जन्मिए । यही घर बनाएर बसेको छ । उसका छोराछोरी मुस्किलले तीन पटक रामेश्वर जन्मिएको जिल्ला पुगेका छन् ।

रामेश्वर घर बाहिर ननिस्किएको विषयमा अनेक चर्चा हुन थालेका छन् टोलमा । उ हिजोअस्ति जम्मा भएर गफ गर्ने चियापसलमै उसका बारेमा टिप्पणी हुन थालेका छन् । कसैले कुरा काट्दैछन्- ‘ऋणले चुर्लुम्म डुबेर बाहिर निस्कनै नहुने भएको रहेछन नि त ।’

कोही भन्दैछन् – ‘एक महिने ध्यानमा बसेका छन् रे । अस्तितिर बर्दियातिरबाट एकजना गुरु आएका रहेछन् । तिनैले योग ध्यान गर्न भनेकोले त्यसै गर्दैछन् रे ।’

अझ गाउँमा महिलाहरुले एक कदम अघि बढेर कानेखुशी गर्दैछन् -‘बुढाबुढीको रणसंग्राम झगडा परेर छोराछोरीले घर बाहिर निस्कनै दिएका रहेनछन् नि त ।’

टोलका मानिसहरु आ आफ्नो अनुमानका भरमा रामेश्वरको अवस्थाको वयान गर्दै बसेका छन् । ‘के के न होला भनेर जन्मस्थान छोडेर यहाँ आए । वतासे बाजेकी छोरीसँग माया जालमा परे । अहिले बुढेशकालमा घर न घाटका हुने भए । गाउँमा जाउँ भनेपनि बा आमालाई उहिल्यै सेलाइसके । दाजुभाई पनि कहाँ कहाँ बसाई सरेका छन् रे । विचरा रामेश्वर दाई’ एउटाले चियापसलमा कुरा सुरु गर्यो ।

सबैले अनुमानका भरमा रामेश्वर प्रति दया देखाए । उसको सुन्दर परिवार, राम्रो घर व्यबहारको आरिस गर्नेहरुले आत्मसन्तुष्टीको बेला यही हो भन्ने ठानेर ठीक्क पर्यो भन्न समेत भ्याए ।

‘अर्काको विषयमा नानाभाँती मनगढन्ते कुरा गरेर हुँदैन । केही गाह्रो साह्रो पर्यो कि ? साह्रै विरामी पो छन् कि गएर नबुझी यहाँ बसेर चिया तानेर कुरा काटेको मलाई चित्त बुझेन है’ सीताराम बाजे पड्किए । उनी कम बोल्छन् । तर नचाहिँदो कुरा नबोल्ने बानी छ । आज पनि सीताराम बाजे कड्किएपछि रामेश्वरको विषयमा चलिरहेको कुरा काट्ने मेलो बन्द भयो ।

त्यसदिनदेखि चियापसलमा रामेश्वरको कुरा काट्ने मेलो बन्द भयो ।

‘हेर गाउँले भाईछोराहरु हो । रामेश्वरको परिवारमा अलिकति विग्रह बढेछ । लोग्ने स्वास्नीबीच दुई हप्ता अघि निकै हात हालाहाल समेत भएको रहेछ’ सीताराम बाजेले धेरै दिनपछि आज आफै रामेश्वरका कुरा निकाले ।

हात हालाकाल हुँदा रामेश्वरको हात फ्याक्चर भएछ । कादम्बिनीले मोबाइलले झटारो हान्दा रामेश्वरको आँखामा समेत गहिरो चोट लागेको रहेछ । त्यही भएर उनी चोकमा आउन र टोलमा नदेखिएका रहेछन् । सीताराम बाजेको खबरले चियापसलमा जम्मा भएकाहरु मुखामुख भए । केही बोल्न सकेनन् ।

‘अनि कादम्बिनी अन्टीलाई चाँही ठीक पारेनछन् रामेश्वर काकाले ?’ भरखर २२ वर्ष पुगेको हरिशले बीचमै सोधिहाल्यो ।

‘खै बा, त्यो त थाहा भएन । अहिले देब्रे हातमा प्लास्टर गरेर काम्रो कसेर बसेका रहेछन् रामेश्वर । मैले बुझेको यतिनै हो । धेरै जान्नु र बुझ्नु छ भने तिमीहरु नै जाओ’ यति भनेर सीताराम पसलबाट निस्किए । ‘लोग्ने स्वास्नीका झगडा परालको अागो भन्छन् । यस्तोमा धेरै अग्रसर हुँदा धेरै पटक अपजश भोगेको छु मैले’ भन्दै उनी गए ।

माघको महिना निकै जाडो छ । त्यसमाथि घाम लागेको छैन केही दिनदेखि । गाउँका टाठाबाठाहरु आज साँझ रामेश्वरको घर पुगेर अवस्था बुझ्ने सल्लाह गर्दैछन् । ‘गाउँ समाजमा बसेपछि यत्तिकै बस्न त हुँदैन हो । रामेश्वर काकाको बारेमा थाहा पाउनु पर्यो नि । सरसहयोग केही चाहिन्छ कि ?’ एउटाले बोल्यो । सबैले हो मा हो मिलाए । साँझ ७ बजेतिर गाउँका एक हुल मान्छेहरु रामेश्वरको घरमा पसे । मुलढोका ढप्काएको मात्र थियो । उनीहरु सरासर बैठक कोठामा पुगे ।

रामेश्वर बैठक कोठाको बीचमा रहेको सोफामा मोबाइल खेलाउँदै बसेका थिए । उनको देब्रे हातमा प्लास्टर थियो । दाहिने अाँखाको माथ्लो पट्टी निलो घाउ टाढा बाटै देखिएको छ ।

कोठाको बीचमा इलेक्ट्रिक हिटर बलिरहेको थियो । हिटरको छेउमा कादिम्बनी र तीन छोराछोरी थिए ।

‘कसरी यस्तो भयो रामेश्वर काका ?’ उपेन्द्रले सोध्यो ।

रामेश्वर निकै बेरसम्म केही बोलेनन् । कादम्बिनी श्रीस्वस्थानी कथा वाचन गरिरहेकी थिइन् । छोराछोरी हिटर ताप्दै चाख मानेर स्वस्थानी ब्रतकथा सुन्दैछन् ।

‘भावीले छैठीमा यस्तै लेखेको रहेछ । कस्लाई के भन्नु र ?’ यसो भन्दै पुलुक्क स्वस्थानी पढिरहेकी कादम्बिनी तिर नजर पुर्याए ।

कादम्बिनी श्री स्वस्थानीको २१ अाैँ अध्यायमा थिइन् । उनी वाचन गर्दैथिइन्-‘पुरूष भएसम्म नारीले कुनै तीर्थ, व्रत, दान धर्म गर्नुपर्दैन । नारीले अाफ्नो पुरूषलाइ रिसाएर हेरे डेरी हुन्छे, पतीसँग द्रोह गरे गोही हुन्छे । पुरूषको वचन नमाने पापिने हुन्छे । लोग्नेसँग लुकाएर खाए कुकुर्नी हुन्छे ……’