ड्यालसको नेपाली मन्दिर सप्ताहन्त निकै व्यस्त हुन्छ । संघसंस्थाले गर्ने कार्यक्रमहरु प्रायः शनिबार, आइतबार पारेर मन्दिरकै हलमा हुन्छन् । रक्तदानदेखि साहित्यिक कार्यक्रम, योग शिविरदेखि समुदायका धेरै कार्यक्रम यहीँ हुन्छन् ।
दुइ साता अघिको आइतबार बिहान साढे ११ मा मन्दिर पुग्दा निकै खचाखच थियो । अघिपछि नदेखिएका थुप्रै अनुहारहरु थिए । मुख्य हलको ढोका बन्द भैसकेको थियो । ढोकाबाट यसो चिहाएर हेरेँ । हल भरिभराउ थियो । कार्यक्रमहरु धेरै हुनेगरे पनि बिरलै त्यसरी हल भरिएको हुन्थ्यो । हलको अघिल्तिर दर्शक तिर फर्किएर विशेष आसन (सोफा) मा खरानी रङ्गको वस्त्र पहिरिएका, कपाल मुण्डन गरिएका एकजना प्रवचन दिँदै थिए ।
ड्यालसको मन्दिरमा साधु, गुरु, महापुरुष, साधकका नाममा अनेक थरि व्यक्तिको आगमन भैरहन्छ । भारतका बिभिन्न मन्दिरका पूजारी, अमेरिकामै रहेका भारतीय तथा नेपाली समुदायका गुरुहरु, नेपालबाट योगी साधुहरुको बाक्लै उपस्थिती हुँदै आएको छ ।
‘उहाँ को हो ?’ मैलै एकजना त्यही भएकासँग जिज्ञासा राखे ।
‘खै मैले पनि चिनेको छैन । ठूलै गुरु हुन् भन्ने सुनियो’ उनले त्यतिमात्र जवाफ दिन सके ।
मैले जस्लाई सोधेको थिएँ शायद उनलाई पनि ती महापुरुषको बारेमा त्यति जानकारी रहेनछ ।
एकैछिन भएपनि प्रवचन सुन्ने चाहना थियो । को रहेछन् भन्ने थाहा पनि हुनेथियो र उहाँका ज्ञान, उपदेश सुन्न पनि पाइन्थ्यो भन्ने इच्छा थियो । तर भित्र बस्ने त के पाइलो राख्ने ठाउँ समेत थिएन । मानिसहरु उहाँका अघिल्तिर घुँडा धँसेर सुन्न बसेका थिए । चाखपुर्वक सुनिरहेका थिए । भित्र पस्न असफल भएपछि म हल बाहिर लबीमै चिया पिउँदै चिनजानका व्यक्तिहरुसँग गफिन थालेँ ।
उनी रहेछन् रुपेश्वर गौर दास । वास्तविक नाम चाँही रुपेश जोशी । तर उनी साधु हुन् कि सन्यासी ? गुरु हुन् कि योगी ? पण्डित थिए कि पुरोहित ? न त पहिले भेटेको नै थिए, नत कतै नाम सुनिएकै थियो ।
त्यस दिन पछि रुपेश्वर दास कहाँ गए केही चासो रहेन । घुम्न आएका हुन् कि अमेरिकामै बस्ने हुन् भन्ने बारेमा पनि वास्ता गरिएन । तर शुक्रबारदेखि सामाजीक सञ्जालमा गुरूले अमेरिका, अमेरिकामा बस्ने नेपालीका बारेमा यस्तो बोलेछन्, उस्तो बोलेछन् भनेर टिप्पणीहरु आउन थाले । को गुरुले भनेका हुन् ? कहाँ बोलेका हुन् ? के भनेका हुन् भन्ने बारेमा भनाईको क्लिप भन्दा पनि मानिसहरुको आपत्तिमात्र थियो, गुनासो मात्र थियो । मानिसहरूमा अाक्रोश मात्र थियो ।
मित्र सन्तोष विष्टले गुरु भनिएका रुपेश्वर दासले अमेरिकाका बारेमा, यहाँ बस्ने नेपालीहरुका बारेमा व्यक्त धारणाको क्लिप पठाए । त्यो क्लिपमा ‘अमेरिका आएका नेपालीहरु पछुताइरहेको’, ‘अमेरिका केही पनि होइन रहेछ भनेर महसुस गरेको’, ‘अमेरिकामा फँसेको अनुभव गरेको’, ‘अमेरिकामा नेपालीहरु छाप्रोमा बसिरहेको’, ‘डाक्टर जस्तो मान्छे पनि अमेरिकामा भाँडा माझिरेको छन्’ जस्ता कुराहरु त्यो क्लिपमा रहेछ । ती कुरा मैले डेढ साता अघि मन्दिरमा जुन भेष र पोशाकमा रूपेश्वर दासलाइ देखेको थिएँ, भिडियो क्लिपमा पनि त्यही भेषमा उनी अमेरिकामा बसेका नेपालीहरूको खिल्ली उँडाउँदै थिए ।
उनका कुराको क्लिप कुरा सुन्दा, अमेरिका बारेको उनको बुझाई थाहा पाउँदा घोर आश्चर्य लाग्यो । म एकिन त छैन, तर उनका कुरा सुन्दा पहिलो पटक अमेरिका आएको जस्तो लाग्यो । अमेरिकामा केही नेपालीहरु ५० वर्षदेखि छन् । सन् १९७० को दशकमा आएका नेपाली अझै भेटिन्छन् । उनीहरुको लगभग नाती-नातिना समेत यहीँ भैसकेका छन् । त्यसपछि १९८० को दशकमा आएका नेपाली त ड्यालस फोर्टवर्थको सेरोफेरोमै टन्न छन् । सन् १९९० पछि जब नेपालमा प्रजातन्त्र स्थापना भयो, त्यसपछि आएका नेपालीहरु अहिले व्यबसाय, प्रोफेसनल काममा सफल व्यक्तिको सूचिमा पर्छन् । एक्काइसौ शताव्दी लागेपछि अर्थात सन् २००० पछि आएका व्यक्तिहरु त मुख्यमुख्य सिटीहरुमा हजारौको संख्यामा छन् ।
अमेरिका आएका मानिसहरु कोही पछुताएको भेटिदैन । मात्र उनीहरु नेपालको आफ्नो परिवारलाई बेलाबेलामा सम्झँदा, चाडपर्वहरुलाई सम्झदा अलिकति भावुक हुने गर्छन् । फेरि अमेरिकामा पछुताएर बस्नैपर्ने वाध्यतानै के पो छ र ? मन परेन भने भोलीनै अमेरिका छाडेर नेपाल फर्कन नत अमेरिकाको जुन सिटीमा बसेको हो, त्यो सिटीले रोक्छ, नत राज्यले छेक्छ । नत अमेरिकी फेडरल सरकारले ‘माइ बाप तिमी यस्तो ठूलो मान्छे अमेरिकाको लागि बसिदेउ, अमेरिकाको शोभा थपिदेउ’ भनेर नै कसैले भन्छन् । टिकट काटेर भोलीनै फर्किन कसैले अवरोध गर्दैन । जो नेपालमा ठग्ने, दलाली गरेर ‘इजी मनि’ आर्जन गर्न, सरकारी कर्मचारी भएर घुस खान अभ्यस्त थिए ती चाँही यहाँ काम गर्नुपर्दा, मेहनत गर्नुपर्दा, नेपालमा जस्तो राजनीतिक पहुँचको प्रयोग गर्न नसकेर पछुताएको हुनसक्छन् । तर जो मेहनत गरेर बसेका छन्, तिनले अमेरिकामा आर्थिक, शैक्षिक, प्रोफेसनल क्षेत्रमा निकै प्रगति हाँसिल गरेका छन् ।
वास्तविक रुपमा जीवनमा मेहनत भनेको के हो ? स्वतन्त्रता भनेको कस्तो हुँदो रहेछ ? पुर्वाधार भनेको के हो ? विकास भनेको के हुन पर्ने रहेछ ? त्यो अमेरिकाले बुझाएको छ । जीवनको भोगाईको महसुस अमेरिकाले गराउँछ ।
रूपेश्वर दासलाइ जोगी भन्ने कि साधु ? गुरू भन्ने कि साधक ? मसँग संवोधन गर्ने शव्द छैन । उनले दास भएको कुरा त्यही अन्तरवार्तामा भनेका रहेछन् ।
ती दासले भनेजस्तै अमेरिकामा डाक्टरले भाँडा माझिरहेका छन् त ? उनले कस्तो भाडा डाक्टरले माझेका हुन् त्यस बारेमा खुलाएका छैनन् । एपी वानमा टिभीको ‘तमसोमा ज्योतिर्गमय’ प्रोग्राममा सुरेश पौडेलले नभएर हिमालयन टिभीमा धमलाको हमलामा ती जोगी हुन्थे भने शायद ऋषिले पुरक प्रश्न गरिहाल्थे ‘अँ तपाईले अमेरिकामा डाक्टरले भाँडा माझेको पनि भेट्नुभयो है ?’ तर पौडेल खारिएका र भद्र चरित्रका पत्रकार भएको र यी जोगी विषयवस्तुभन्दा बाहिर बहकिए भन्ने उनले महसुस गरेर मुख्य सन्दर्भ तिर फर्काउने गरि प्रश्न राखेका छन् ।
वास्तवमा अमेरिकामा उस्तै परे राष्ट्रपतिले समेत आफूले खाएको प्लेट आफै माझ्छन् । यो देशमा घरमा काम गर्ने गरि नोकर-चाकर राख्ने चलन छैन भन्दा पनि हुन्छ । बिलिनियरहरुको घरमा हुनसक्छन् । तर आम मानिसले आफ्नो घरमा पकाउने, तरकारी काटकुट गने, भाँडा माझ्ने, सरसफाईका काम आफै गर्छन् । ‘यी काम महिलाको मात्र हो’ भन्ने सामन्ती सोचाई बोक्ने अमेरिकामा रमाउन त के टिक्न पनि सक्दैन । जोगीले यदी कोही डाक्टरले आफ्नो घरमा भाँडा माझेका हुन् भन्न खोजेका हुन् भने अमेरिकी शव्दमा ‘इट्स नट अ बिग डिल’ । रेष्टुरेन्टमा भाँडा माझ्ने डिस वासरमै काम गरेका हुन् भने ती डाक्टर थिएनन् र होइनन् पनि । आफूलाई डाक्टर भनाउने तर रेष्टुरेन्टमा भाँडा माझ्ने कोही छ भने तिनको सर्टिफिकेट पटना तिरको कुनै प्रेसमा छापिएको हुनुपर्छ ।
उनले भनेको अर्को अतिरञ्जित कुरा अमेरिकामा नेपालीहरु छाप्रोमा बस्ने रहेछन् भन्ने छ । अमेरिका एक पटक पनि नआएकाले समेत नपत्याउने कुरा उनले गरेका छन् । अमेरिकामा घरको लागि आवश्यक मापदण्ड नपुगेको ठाउँमा कोही पनि बस्न पाउँदैनन् । घरमा तातो चिसो पानी, एअर कण्डिसन, बिजुली बत्ति, इन्टरनेट, घर अगाडी र पछाडी सानो फूलबारी, हरियालीको लागि स्प्रिङ्कलर, घर अघिल्तिर वृक्ष, मास्टर बेडरुम, शौचालय, वाथरुमको व्यबस्था हुनैपर्छ । यी पुर्वाधार नपुगेसम्म सिटीले मान्छे बस्नका लागि स्विकृति नै दिँदैन । तर संभ्रान्त (एलिट) वर्गको प्रतिनिधित्व गर्ने यी दासले कुन ठाउँमा छाप्रो देखे ? कुन नेपालीले छाप्रोमा लगेर यी उनलाई बास बसायो ? यो खोजीकै विषय भएको छ ।
लौ बाहिरबाट छाप्रोनै देखियो भने पनि घर भित्र पसेर हेर्दा नेपालका संभ्रान्त वर्गको महल भन्दा कुनै कोणबाट पनि फरक हुँदैन । बरु संभ्रान्तका घरमा कोठै पिच्छे, शौचालयमा त एअर कण्डिसन हुँदैन । अमेरिकाका हरेक घरका शौचालयमा समेत एअर कण्डिसन जोडिएको ह’न्छ ।
अमेरिकामा सुकुम्बासी होइनन् होमलेस (घरबार बिहिन) हरु प्रशस्त छन् । ती सडक छेउमा पाल टाँगेर बस्छन् । तर सबै ठाउँमा त्यसरी बस्न पाउँदैनन् । तर तिनलाई सरकारले विशेष भत्ता दिएको हुन्छ । सरकारले दिएको भत्ताले मदिरा पिउने र काम गर्न अल्छी गर्ने कारणले गर्दा सडकमा आइपुगेको तथ्य बुझ्न गाडीमा सररर सडकमा घुमेर पुग्दैन ।
अमेरिका प्रति अहिले पनि संसार भरिका लागि आकर्षण छ । अमेरिका केही होइन भनेर रुपेश्वर दासले भन्नु फ्याउराले धेरै पटक झम्टिदा पनि भेट्न नसकेपछि अंगुर अमिलो रहेछ भन्नु मात्र हो । किनकी अमेरिकामा काम गरेर खानेलाई, मेहनत गर्नेलाई अनेक अवसर छन् ।
रुपेश्वर गौर दास पहिलो व्यक्ति भने होइनन्, जस्ले अमेरिका आएर नेपालीहरुलाई विचरा भनेर गए । नेपालबाट आएकाहरु नेपालीकै मेजमानीमा सुत्छन्, खान्छन्, समय मिलाएर नेपालीले घुमाइन्छिन् । समाजमा ठूलै हुँ भन्ने छाप पार्न सफल भैसकेका रहेछन् भने समाजले प्रोग्राम राखेर मञ्च पनि मिलाइदिन्छन् । उस्तै परे फर्किने बेलामा उपहार पनि टक्राउँछन् । तर ती फर्किएपछि यहाँका नेपालीहरुलाई अनावश्यक दया देखाउँछन् । त्यो दया भन्दा पनि खुच्चिङ्ग भन्ने हिसाबले कठै विचरा अमेरिका गएको थियो, कुकुरले नपाउने दुःख पाएछ भन्ने प्रचार गर्न तल्लिन छन् ।
केही वर्ष अघि ओशो भक्त स्वामी आनन्द अरुण अमेरिका आए । उनले फर्किएर नेपाल पुगेपछि अन्तरवार्ता दिए ‘अमेरिकामा बिचरा नेपालीहरु हाँस्न पनि बिर्सिएका हुन्छन् । दिल खोलेर हाँस्न पर्यो भने नेपाल आउँछन् ।’
उनको आशय अमेरिकामा नेपालीहरु मनभित्र पीडैपीडा बोकेर बसेका छन् । खुशी छैनन् । दुःखी छन् । वाध्यताले बसेका छन् भन्ने थियो । जबकी बेखुशी मन बोकेर, वाध्यताले यो मुलुकमा कोही पनि बस्न वाध्य हुनुपर्दैन । सबै जना रहरले, सुखी भविष्य र विकसित देशको सुविधा प्रयोग गर्न लालायित भएर बसेका हुन् ।
रेखा थापाले अमेरिका बारेमा के टिप्पणी गरिन् त्यसको जवाफ दिनु अब जरुरी रहेन । कोमल ओलीले के भनेकी थिइन विगतमा त्यो पनि उप्काइरहन आवश्यक छैन । सानफ्रान्सिस्को जस्तो सुन्दर सहरमा होमलेस मात्र देखेर एक पेज लेख्ने पत्रकार साथी पनि ती होमलेसका वास्तविक कथा बुझेपछि लज्जित छन् ।
मेरा मित्र सञ्जय घिमिरेले भन्छन्-‘वास्तवमा जोगी, सन्यासी, साधुहरू छाप्रो र कुटीको प्रतिनिधि हुन् । त्यस्तो वर्गको प्रतिनिधित्व गर्नेले अमेरिकामा छाप्रोमा बस्दा रहेछन् भनेर हल्का टिप्पणी गर्दा उनी नत ज्ञान, नत अध्यात्म, न समाज बुझेको व्यक्ति रहेछन् भन्ने पुष्टी भयो ।‘ वास्तवमा काम गर्नको अल्छीपनले गफ जोतेर, धर्म भगवान अनि अध्यात्मका नाममा मानिसहरूलाइ भ्रममा पारेर खाने वर्गका व्यक्तिहरूले गर्ने सतही टिप्पणी हो त्यो भनाइ ।
‘संसारिक सुख सुविधा व्यर्थ हुन् । यी कुराहरु मुक्तिका लागि वाधक हुन्’ भन्दै जोगी, साधक बनेका व्यक्तिहरु जो महल होइन कुटीको प्रतिनिधित्व गर्छन् । उनीहरुले अमेरिकाका नेपालीहरु छाप्रोमा बस्दा रहेछन् भनेर खिस्याउनु उनीहरुको ढोँगी चरित्र हो । वास्तविक रुपमै आध्यात्मिकतामा लागेको व्यक्ति हो भने छाप्रो, कुटीलाई प्रेम गर्नुपर्ने हो । तर अमेरिकामा छाप्रोमा बस्ने रहेछन् विचराहरु भन्दा अमेरिकामा बस्नेहरु विचरा हुने होइनन् । बरु त्यस्तो भन्ने गौरेश्वर दासको ज्ञान, सोचाई र बुझाई प्रति चाँही मानिसहरुले विचरा भन्न थालेका छन् ।
प्रतिक्रिया