मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो : नेतृ सिंह

काठमाडौँलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो : नेतृ सिंह


काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छन् । 
 
नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन् । 
 
“कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ”, उनले भनिन् । काठमाडौँ महानगरभित्र आफू कसैको आमा, कसैको दिदी, कसैको भाउजु, कसैको बुहारी र कसैको सासु भएर काम गरेर देखाउने उनको भनाइ छ । 
 
नेतृ सिंहले विद्यार्थीकालमा आफूले राजनीति गरे पनि पछिल्लो समय राजनीतिक परिवारमा विवाह गरेपछि ससुरा गणेशमान सिंह, सासु मङ्गलादेवी सिंह र श्रीमान् प्रकाशमान सिंहको राजनीतिलाई सहयोग गर्दा आफू सक्रिय राजनीतिबाट पछाडि परेको उल्लेख गरिन् । “मैले राजनीतिमा पद लिइन, राजनीति गर्न छोडिन, अब पद लिनका लागि अगाडि बढेको छु, सारा काठमाडौँवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भनिन् ।
 
कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको मुटु काठमाडौँमा महिलाले नगरप्रमुखको उम्मेदवार पाउनु खुसीको कुरा भएको बताइन् । “राजनीतिक परिवारको व्यक्ति सिर्जनाले काठमाडौँ महानगरपालिकालाई राम्रो व्यवस्थापन गर्ने विश्वास लिएको छु”, उनले भनिन् । नेतृ देउवाले राजनीतिमा नातालाई भन्दा योग्यतालाई हेर्नुपर्ने बताइन् । 
 
कांग्रेस पार्टीले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै उहाँलाई जिताउनका लागि लाग्न काठामाडौँका जनतालाई उनले आग्रहसमेत गरिन् ।
 
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले महानगरको मेयरजस्तो कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउनु सम्पूर्ण महिलाप्रतिको सम्मान भएको बताइन् । काठमाडौँ महानगरपालिकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले आफूले काठमाडौँमा सुरुदेखि महिला प्रमुख हुनुपर्छ भन्ने विचार राख्दै आएको बताउँदै आफ्नै पार्टीले महिलालाई टिकट दिएर राम्रो काम गरेको बताइन् । 
 
नेपाल महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनी, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कल्याणी रिजाल, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्यलगायतले काठमाडौँ महानगरपालिकाको मुहार फेर्नका लागि सिंहलाई विजय गराउनु आवश्यक रहेको बताएका थिए । रासस 

शेयर गर्नुहोस:

243
Shares