मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा डेमोक्र्याटिक पार्टीको अधिवेशन सुरु : ट्रम्पको कार्यशैली घातक रहेको आरोप

अमेरिकामा डेमोक्र्याटिक पार्टीको अधिवेशन सुरु : ट्रम्पको कार्यशैली घातक रहेको आरोप


एटलान्टा । संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन सुरु भएको छ ।  कोरोनाभाइरस महामारीबीच सुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नेछन् ।  
 
यस अधिवेशनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनलाई औपचारिक उम्मेदवार बनाउनेछ । बाइडेनले सम्मेलनको अन्तिम दिन आगामी बिहीबार आफ्नो गृहराज्य डेलावेयरबाट भर्चुअल सम्बोधन गर्नेछन् ।  
 
विगतमा प्राइमरी चुनावबाट विजयी प्रतिनिधिहरु, पार्टी समर्थक र पार्टीका विशिष्ट व्यक्तिको बाक्लो उपस्थितिबीच निकै तडकभडकका साथ हुने अधिवेशन यसपटक खल्लो छ । मिल्वाकीको सिटी सेन्टरलाई अधिवेशन स्थल तोकिए पनि त्यहाँ कोही पनि उपस्थित छैनन् । सम्मेलनको तेस्रो दिन अर्थात् बुधबार सम्मेलनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि औपचारिक मनोनयन गर्नेछ । 
 
“हामी जनता (वी दी पिपल) अमूर्त नाराका साथ शुरु भएको यस अधिवेशनमा नेताहरुले पार्टीका नीतिहरुमाथि बहस चलाउनेभन्दा राष्ट्रपति ट्रम्पका नीतिहरुको आलोचना गर्ने सम्भावना बढी छ । 
 
अधिवेशनमा राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, उनले उपराष्ट्रपतिमा मनोनयन गरेकी कमला ह्यारिस, डेमोक्र्याटिक पार्टीका तर्फबाट विगतमा राष्ट्रपति रहेका बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन, राष्ट्रपतिको उम्मेदवार होडमा रहेका बर्नी स्यान्डर्स समेतका विशिष्ट व्यक्तिले सम्बोधन गर्नेछन् । 
 
सम्मेलन आयोजकका अनुसार बुधबार पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, सिनेटर एलिजाबेथ वारेनले सम्बोधन गर्नेछन् भने त्यसअघि मंगलबार पूर्वराष्ट्रपति बिल क्लिन्टन र कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले सम्बोधन गर्दै छन् ।   
 
अधिवेशनमा रेकर्डेड तर भावुक मुद्रामा सम्बोधन गर्दै पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले राष्ट्रपति ट्रम्पको कार्यशैली अमेरिकी जनता र अमेरिकाका लागि घातक रहेको आरोप लगाएकी छन् ।  
 
उनले विगतमा डोनाल्ड ट्रम्पलाई जिताएका मतदाताप्रति लक्षित गर्दै एउटा गल्तीका कारण आज हामीले त्यसको परिणाम भोगिरहेका छौं भनिन् । उनले हिलारी क्लिन्टनले सन् २०१६ मा ट्रम्पको भन्दा बढी लोकप्रिय मत प्राप्त गरे पनि पराजित हुनु परेकामा दुःख प्रकट ग।िरन् ।
 
उनले भनिन्, “डोनाल्ड ट्रम्प हाम्रो मुलुकका लागि गलत राष्ट्रपति हुन् । आफूलाई सही सावित गर्ने चार वर्ष पनि त्यतिकै खेर गइसके ।”
 
मिसेलले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका जो बाइडेन निकै भलादमी र योग्य रहेको बताइन् । उनले जो बाइडेनले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, कोरोना महामारीलाई परास्त गर्ने तथा आफ्नो मुलुकलाई सही नेतृत्व दिनसक्ने बताइन् ।
 
जो बाइडेनले उपराष्ट्रपति पदमा कमला ह्यारिसलाई मनोनयन गर्नुअघि नै मिसेल ओबामाको सम्बोधन रेकर्ड गरिएकाले ह्यारिसका बारेमा उनले केही भनेकी छैनन् । 
 
राष्ट्रपति ट्रम्पका नीतिमाथि कडा शब्दमा आलोचना गरेकी मिसेलले भनिन्, “देशभित्रका जल्दाबल्दा विषयमा मुलुकको सर्वोच्च निकायका प्रमुख ट्रम्पले सहानुभूति राख्नुपर्नेमा उल्टै अराजकता, विभाजन र घृणा फैलाएर अस्थिरता निम्त्याउनु भएको छ ।”
 
उनले विगत चार वर्षका समयका बारेमा अमेरिकी बालबालिकालाई बताउन पनि मुस्किल छ भने । “उनीहरुले आफ्नो नेताले आफ्नै नागरिकलाई राज्यका दुस्मनका रुपमा व्यवहार गरेको देखेका छन्, र गोराहरुको आधिपत्यलाई जबर्जस्त रुपमा महिमामण्डन गरिएको छ ।”
 
मिसेल ओबामाले रिपब्लीकन समर्थक र प्रगतिशील पक्षधरलाई जो बाइडेनको पक्षमा मत दिन अनुरोध गरिनन् किनभने यी दुई काम रिपब्लीकन सिनेटर जोन कासिच र बर्नी स्यान्डर्सले गर्नेछन् ।  
 
जोन कासिचले रेकर्ड गराएको भिडियो सम्बोधनमा यसपटक जो बाइडेनलाई जिताउन आग्रह गरिएको छ । उनले सन् २०१६ को प्राइमरी चुनावमा ट्रम्पसँगै राष्ट्रपतिको उम्मेदवारीका लागि रिपब्लीकन पार्टीभित्र संघर्ष गरेका थिए । 
 
कासिचले यसअघि नै जो बाइडेनलाई समर्थन गरिसकेका छन् । उनले भनेका छन्, “हाम्रो देशमा अहिले के भइरहेको छ भन्ने जगजाहेर छ, तर साँचो अर्थमा अहिले जे भइरहेको छ त्योभन्दा राम्रो गर्न सकिने प्रशस्त सम्भावना हाम्रा अघिल्तिर छ ।”
 
जो बाइडेनसँग प्राइमरी चुनावमा भिडेका दक्षिणपन्थी प्रगतिशील मानिने भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले रेकर्ड गराएको सम्बोधनमा भनिएको छः हाम्रो लोकतन्त्रको भविष्य संकटको घडीमा छ । देश जलिरहेको अवस्थामा रोमका निरो बाँसुरी बजाइरहेका हुन्थे, अहिले ट्रम्प गल्फ खेलिरहेका छन् ।
 
यसैबीच, बिबिसीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लीकन पार्टीका जोन कासिचको भनाइप्रति असन्तोष प्रकट गरेका छन् । रिपब्लीकन पार्टीले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदका लागि पुनः औपचारिक मनोनयन गर्न अर्को साता अधिवेशन गर्दैछ । एपी