काठमाडौँ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् ।
सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएका छन् ।
राजीनामापत्रमा उनले भनेका छन्, “हिजो (सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।”
सभामुख पद रिक्त : घटनास्थलका वस्तु सुरक्षित
पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्मका लागि भनी लेखेको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका महराले आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गरेका छन् ।
नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ नराख्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् ।
सभामुख महराले आपूmमाथि लागेको आरोपबारे सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा दिएको उपसभामुखलाई सम्बोधन गरेर लखेको पत्रमा उल्लेख छ । नेम्वाङ भन्छन्, “नेकपाका कुनै पनि तहमा रहेका व्यक्तिबाट हुने अपराध, विकृति र विसङ्गतिमा दल जोडिनुहुन्न, स्वयम् व्यक्ति जिम्मेवार हुन्छ भन्नेमा हामी प्रष्ट मान्यता राख्छौँ । ”
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख महरासँग लागेको आरोपका सम्बन्धमा जानकारी लिएपछि बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन सुझाव दिएको थियो ।
घटनाका बारेमा आउन सक्ने विभिन्न खाले टीकाटिप्पणीले पार्टीलाई पुग्न सक्ने असरको आकलन र घटनाको गम्भीरतालाई बुझेर सभामुख महरालाई तत्कालै तत्काल राजीनामा दिन लगाउने निर्णय भएको पार्टी स्रोतले जनाएको छ ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सञ्चारकर्मीको जिज्ञासामा भने, “जो कसैबाट कानून उल्लङ्घन र अपराध हुन्छ भने उसले कानूनको भागीदार बन्नुपर्छ । कानून सबैका लागि बराबर हो ।” घटनालाई ठीक ढङ्गबाट समयमै सम्बोधन हुन नसकेमा बढी उछालिन सक्ने आँकलन सचिवालय बैठकले आँकलन गरेको स्रोतको जिकिर छ ।
महराले पार्टीको निर्णयानुसार अपराह्न स्वकीय सचिव सागर केसीमार्फत उपसभामुखको सचिवालयमा राजीनामा पठाएका थिए । पीडित पक्षबाट घटनाका सम्बन्धमा सूचना दिइएपछि पुगेको घटनास्थल र प्रमाणको सुरक्षाको पाटोमा पनि आवश्यक ध्यान नपु¥याइएको भनी प्रहरीको कामको आलोचना भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापाले घटनाको सूचना प्राप्त हुनासाथ संवेदनशील घटनाका रुपमा लिएर पीडितसँग तत्कालै आवश्यक जानकारीका साथै घटनास्थलको भिडियो स्केच लिइएको र पीडितसँग कानूनी परामर्श भएको जानकारी दिए ।
घटनास्थलमा प्रयोग भएका भनिएका चश्मा, रक्सीको बोतल, जुत्तालगायत वस्तु सङ्कलन गरी सुरक्षित रुपमा राखिएको उनले जानकारी दिए ।
प्रतिक्रिया