मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालको शेयर बजार: हल्लाका पछाडि लाग्दा नोक्सान

नेपालको शेयर बजार: हल्लाका पछाडि लाग्दा नोक्सान


तस्बिर: सामाजिक संजाल

नेपालमा शेयरको मूल्य समग्रमा तलमाथि के भएको छ भनेर थाहा पाउने मुख्य सूचक नेप्से हो। नेपाल स्टक एक्सचेञ्ज परिसूचकको संक्षिप्त नाम नै नेप्से हो। शेयर बजारलाई अर्थतन्त्र नाप्ने ब्यारोमिटर पनि भनिन्छ। नेपालको शेयर बजारमा केही व्यक्ति छन्, जसले बेला बेलामा हल्ला गर्छन्, “अब नेप्से ५ हजार अंक पुग्छ।” यही हल्लाका आधारमा बजार बढाउन र घटाउन खोजिन्छ।

आफूसँग भएको कम्पनीको शेयर मूल्य बढाउन वा बढाएर बेच्न यस्ता हल्ला गरिन्छ। यस्ता हल्लाका पछाडि लागेर शेयर किनबेच गर्नेहरू नोक्सानमा पर्ने सम्भावना बढी हुन्छ। नेपालको शेयर बजारमा साना लगानीकर्ताहरू नोक्सानमा पर्नुको मुख्य कारण यही हो।

“यो शेयरमा लगानी गर्नुहोस्, यति नाफा पक्का छ” भनेर साना लगानीकर्तालाई झुक्याउनेहरू पनि छन्। अमेरिकामा सगुन भन्ने कम्पनीले यसरी नै धेरै नेपालीलाई मूर्ख बनायो। अझै पनि “सगुनको चेक आउँछ” भनेर पर्खिरहेका छन्। तर, सगुनको अहिले अत्तोपत्तो छैन। हल्ला मच्चाएरै सगुनले शेयर बिक्री गरेको थियो। पत्याउनेहरू मूर्ख भए। मूर्ख हुने सुविधा सबैलाई छ।

हल्लाले लगानीकर्ता मर्कामा परेका थुप्रै उदाहरणहरू छन्। नेशनल हाइड्रोको व्यवस्थापन यति खराब छ कि यसले दुई दशकमा लगानीकर्तालाई एक पटकबाहेक लाभांश दिएको छैन। तर, यसको शेयर मूल्य ५ सयको हाराहारीमा छ। राष्ट्र बैंकले टाट उल्टिन लागेको एउटा विकास बैंकको शेयरको मूल्य ८ सय थियो। कारबाहीको भोलिपल्टसमेत मूल्य बढ्यो।

एक समयअघि एउटा कम्पनीले प्राथमिक बजारमा शेयर जारी गर्‍यो। त्यो कम्पनीको १० वर्षको इतिहास हेर्दा माथि जाने र लाभांश दिने कुनै गुञ्जायस देखिँदैन। तर, त्यही कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन पर्‍यो। सर्वसाधारणको पैसा लिएर यो कम्पनीले प्रतिबद्धता गरेअनुसार खर्च गर्‍यो कि गरेन अत्तोपत्तो छैन। बजारमा भने यो शेयर बढीमा किनबेच भइरहेको छ। यो पनि विशुद्ध लगानीकर्ताको निर्णय हो।

केही निहित स्वार्थ भएका ठूला व्यावसायिक धरानासँग सम्बद्ध व्यक्ति पनि अहिले शेयर बजारमा आएका छन्। उनीहरूसँग ठूला पुँजी छन्, बैंक, बीमा, इन्भेस्टमेन्ट कम्पनीसँग सम्बद्ध छन्। ब्रोकर कम्पनी पनि आफ्नै। यस्ता व्यक्तिले शेयर बजारलाई आफ्नो अनुकूल चलाउने प्रयास गरिरहेका छन्। बजारमा हल्ला गर्छन्। मिडियालाई उपयोग गर्छन्। यसरी शेयर मूल्य बढ्दा नोक्सानमा पर्ने पनि २ करोडसम्म लगानी गर्ने क्षमता भएका साना लगानीकर्ता हुन्।

कारबाही हुँदैन :
शेयर बजारमा आउनेको आआफ्नै दाउ हुन्छ। तपाईंको बचत कहाँ कसरी लगानी गर्ने भन्ने निर्णय तपाईंकै हो। लगानी गर्ने कि नगर्ने भन्ने निर्णय पनि तपाईंकै हो। हल्लाका पछाडि लागेर नोक्सान पर्दा “किन कारबाही भएन” भन्दै सरकार वा धितोपत्र बोर्डलाई भन्नु बेकार हो। उनीहरूले तपाईंलाई “यहाँ लगानी गर्नुहोस्, यहाँ नगर्नुहोस्” भनेर भनेका होइनन्। लगानी गर्दा नाफा हुँदा तपाईंले उनीहरूलाई दिने पनि होइन। शेयर बजारमा लगानी गर्दा हुने नाफा र नोक्सानको जिम्मेवार तपाईं आफैं हो। उनीहरूले केवल नियम कानुनअनुसार काम गर्छन्। कम्पनीका सूचना नियमित रूपमा सार्वजनिक गर्न लगाउने हो।

त्यसो भए सरकारले केही गर्दैन त?
सरकार सकेसम्म बजारमा समस्या नआओस् भन्ने चाहन्छ। बजार घट्दा सरकारले लिएको आर्थिक नीति, कार्यसञ्चालनमाथि पनि प्रश्न उठ्छ। त्यसैले सरकार बजार तल झरोस् भन्ने चाहँदैन। यसका लागि बजेट र मौद्रिक नीतिहरू तय गर्छ।

शेयर बजारमा आएपछि के गर्ने त?
शेयर बजारको महत्वपूर्ण पक्ष समय हो। थोरैमा किनेर बढीमा बिक्री गर्न सकेमात्र नाफा हुन्छ। कुनै दिन ३००० रुपियाँमा पुगेको शेयरको मूल्य अर्को दिन बढ्न पनि सक्छ, घट्न पनि सक्छ। केही सातामा यो शेयरको मूल्य १००० मा झर्न सक्छ या ६००० सम्म पुग्न सक्छ।

किन्ने बेला सस्तोमा र बिक्री गर्ने बेला महँगो मूल्यमा गर्न सकियो भने मात्र फाइदा हुन्छ। यो समयले निर्धारण गर्छ। तपाईंले कस्तो कम्पनीमा लगानी गर्नुभयो भन्नेले पनि यो निर्णयमा ठूलो भूमिका खेल्छ। शेयर बजारको नियम यही हो।

तस्बिर: सामाजिक संजाल