मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

द्वन्द्वपीडितका लागि विशेष प्याकेज : मन्त्री केसी

द्वन्द्वपीडितका लागि विशेष प्याकेज : मन्त्री केसी


रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले द्वन्द्वपीडितका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाएर कार्यान्वयन गर्ने बताएका छन् । द्वन्द्वपीडितको समस्या समाधानका लागि राजनीतिक हिसाबले महत्व दिएर सरकार अघि बढेको उनले स्पष्ट पारे । 
 
एड्भोकेसी फोरम नेपालले आज बुटवलमा आयोजना गरेको ‘जबर्जस्ती बेपत्ता पीडितको अधिकारसम्बन्धी कानूनी प्रावधान र सरोकारवालाको भूमिका’ विषयक प्रदेशस्तरीय परामर्श बैठकमा मन्त्री केसीले द्वन्द्व प्रभावितले लोकतन्त्र र सङ्घीय संरचनामा पु¥याएको योगदानको कदर गर्दै न्यायपूर्ण तरिकाले टुङ्गोमा पु¥याउन सरकार लागिपरेको धारणा राखे ।
 
उनले २०५२ फागुनदेखि २०६३ मा शान्ति सहमति हुने समयसम्मको १२ वटै जिल्लामा सर्वेक्षण गरी द्वन्द्व प्रभावितको यथार्थ तथ्याङ्क निकालेर कार्यक्रम तय गर्ने बताए । “प्रदेश सरकारले गत वर्षदेखि सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएकाको निःशुल्क उपचार गरिरहेको छ, यो वर्ष करिब दुई हजार आश्रित परिवारलाई सीपमूलक तालिम दिएर दक्ष बनाउने तयारी गरेका छौँ”, उनले भने ।
 
सो अवसरमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले स्वतन्त्ररुपले बाँच्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै द्वन्द्वपीडितको मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए । मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले शान्ति प्रक्रिया टुङ्गिएको लामो भइसकेकाले अब द्वन्द्वपीडित परिवारका समस्या निरुपण गर्नुपर्ने बताए ।
 
नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष गोविन्द शर्माले नेपालमा सरकार परिवर्तन भए पनि संस्कार र शैलीको परिवर्तन हुन नसकेका कारण जनप्रतिनिधिरु जवाफदेही बन्नुपर्ने धारणा राखे । 
 
एड्भोकेसी फोरम नेपालका संयोजक शिव गौडेलले अन्तरिम संविधानमा ६० दिनभित्रमा बेपत्ताको अवस्था सार्वजनिक गर्ने सहमति भए पनि आजसम्म पनि पूरा नभएको बताए । उनले यो प्रदेशमा मात्रै ७१२ जना बेपत्ता परिवारको उजुरी परेको जानकारी गराए । “रोम विधानको धारा ७ ले बलपूर्वक बेपत्ता पार्ने कार्यलाई मानव अधिकारविरोधी कार्य मानेको छ, त्यसै बेपत्ता परिवारको माग छिटो सम्बोधन गर्नुपर्छ”, उनले भने । 
 
द्वन्द्वपीडित समाजका केन्द्रीय उपाध्यक्ष सञ्जय गुप्ताले द्वन्द्व प्रभावित अझै पनि न्यायको पर्खाइमा रहेको बताए । उनले यसअघि गठन भएका बेपत्ता छानबिन आयोग पीडितमुखी नभएका कारण समस्या सम्बोधन हुन नसकेको बताए । अधिवक्ता इन्दिरा आचार्यले मुलुकमा दिगो शान्ति स्थापना गर्न द्वन्द्वपीडितका माग छिटो सम्बोधन हुनुपर्ने बताए ।
 
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव राजेन्द्र थापाले  जबर्जस्ती बेपत्ता पार्ने कार्य र त्यसले पारेको असर, बार एशोसिएसनका पूर्वअध्यक्ष गोविन्द शर्माले नेपालमा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुर र अन्तरराष्ट्रिय कानून तथा अधिवक्ता वसन्त गौतमले बेपत्ता परिवारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 
 
कार्यक्रममा बेपत्ता परिवारका सदस्य धनकुमारी थारु, देविसरा वली, द्वन्द्वपीडित राधिका श्रेष्ठलगायतले द्वन्द्वपीडित परिवारका महिलालाई एकल सुरक्षा भत्ता र स्वास्थ्य बीमा तथा बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।