मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुरको मतपत्र प्रकरणमा सिवाकोटी र न्यौपाने कसुरदार ठहर

भरतपुरको मतपत्र प्रकरणमा सिवाकोटी र न्यौपाने कसुरदार ठहर


चितवन । दुई वर्षअघि अर्थात् ०७४ जेठ १५ गते भरतपुर महानगरमा मतगणना चलिरहँदा अन्तिम समयमा मतपत्र च्यातियो । तत्कालीन एमालेका मेयरका उम्मेदवार थिए देवी ज्ञवाली र माओवादी केन्द्रबाट प्रचण्डपुत्री रेनु दाहाल प्रतिस्पर्धामा थिए । त्यसबेला माओवादीलाई कांग्रेसले सघाएको थियो । 
 
जम्मा २९ वडा रहेको भरतपुरमा वडा नं १९ को मतगणना सकिन लागेको थियो । वडा नं २० को मतगणना हुनबाँकी थियोे । मतपत्र त्यातिएको प्रकरणले देशविदेशमा तरंगमात्रै ल्याएन । पुनः निर्वाचन भएपछि मत परिणाममै असर पुग्यो । अन्ततः रेनु दाहाल महानगर प्रमुख बनिन् । 
 
मतपत्र प्रकरणको दुईवर्ष पुरानो मुद्दामा जिल्ला अदालत भरतपुरले मतपत्र प्रकरणमा संलग्न तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई सो घटनाको कसुरदार ठहर गरेको छ । 
 
अदालतको आदेशअनुसार कसुरदार ठहर भए पनि उनीहरुको सजाय निर्धारण भएको छैन । दोषी ठहर भएका दुवैलाई अब के कति सजाय गर्ने भन्नेबारेमा अर्को पेसीमा फैसला हुने चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए । 
 
उनीहरुले के कस्तो सजाय पाउँछन् त्यसका लागि असार ५ गते पेसी तोकिएको छ । बिहीबार जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर हुने आदेश गरेको हो । 
 
सिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ । 
 
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको उनले जानकारी दिए । 
 
मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्ष नाघेपछि बिहीबार उक्त मुद्दामा पहिलो पटक बहस भएको थियो । शिवाकोटी र न्यौपानेविरुद्ध ०७४ जेठ १७ गते मुद्दा दायर भएको थियो । 
 
मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो । त्यसैले चितवन जिल्ला अदालतबाट भएको यो आदेशले निर्वाचनको परिणाममा भने कुनै असर नगर्ने बताइएको छ ।