चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले चितवनलाई देशकै नमुना जिल्ला बनाइने बताएकी छन् ।
उनले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी चितवनलाई देशकै नमुना जिल्ला बनाइने बताएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय, चितवनमा भूमिसम्बन्धी समस्या तथा सुकुमवासी व्यवस्थापनका क्षेत्रमा भइरहेका कामको प्रगति विवरण र समस्याबारे आयोजित छलफल कार्यक्रममा मन्त्री रावलले भनिन्, ‘सबै ठाउँमा समस्या समाधान गर्न हामी तत्पर छौँ । म सबै जिल्लामा पनि जान्छु, तर चितवन विशेष हो । चितवन जिल्लामा भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान अरू जिल्लाका लागि नमुना हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’
उनले कामको सुरुवात भइसकेको बताउँदै अब दोस्रो फेज अर्थात् तीव्र गति दिने चरणमा लैजाने बताइन् । उनले थपिन्, ‘चितवनमा इच्छाकामना गाउँपालिकालगायत अन्य क्षेत्रको तयारी देख्दा खुसी लागेको छ, तर यतिले मात्र पर्याप्त हुँदैन ।’
मन्त्री रावलले कानुनी जटिलता अध्यादेशमार्फत सम्बोधन भइसकेको उल्लेख गर्दै प्रशासनिक तथा प्राविधिक काममा ढिलाइ नगर्न निर्देशन दिए । उनले भनिन्, ‘हाम्रो प्राथमिकता भनेको भूमिहीन दलित र सुकुमबासी नै हुन् । यसलाई व्यवस्थित गर्दै लैजान राजनीतिक र प्रशासनिकरूपमा के–कस्ता गाँठाहरू फुकाउनुपर्छ, त्यसका लागि म आफैँ स्थानीय तहमै पुगेर सहजीकरण गर्न तयार छु ।’
‘काम रोकिनु भएन, सङ्घको तर्फबाट आवश्यक समन्वय र सहयोगका लागि हामी तयार छौँ । चितवनका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधि यस विषयमा सक्रिय हुनुहुन्छ । त्यसैले चितवनलाई छिटोभन्दा छिटो सुकुम्बासीमुक्त घोषणा गर्ने गरी काम अघि बढाऔँ’, उनले भनिन् ।
कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल, सांसद् प्रभा ढकाल र समिना मियाँलगायतको सहभागिता थियो ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवालाले सुकुमबासी समस्या समाधानका क्रममा भोग्नुपरेका व्यावहारिक, प्राविधिक तथा राजनीतिक कठिनाइबारे मन्त्री रावलसमक्ष जानकारी गराएका थिए ।













प्रतिक्रिया