मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुल्नै नसकिने अमेरिकाको त्यो पहिलो रात……..

भुल्नै नसकिने अमेरिकाको त्यो पहिलो रात……..


(यो कथा होइन – दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।)
 
डा श्याम कार्की अमेरिकी नेपाली समुदायमा एउटा स्थापित नाम त हो नै अमेरिकी मूलधारमा समेत चिनिने परिचय पनि हो ।
 
डा कार्की हाल  हवार्ड यूनिभर्रसिटी , स्कूल अफ फार्मेसी , मेरिल्याण्डमा एसोसिएट प्रोफेसर हुनुहुन्छ । उहाँ एडभान्टिस रिहाविलिटेसन हस्पिटल , मेरिल्याण्डमा फार्मेसी डाइरेक्टरको रुपमा पनि कार्यरत हुनुहुन्छ । 
 
 डा कार्कीले दक्षिण एशियाली अमेरिकी समुदायमा पुर्याएको लामो योगदानको कदर गर्दै  मेरिल्याण्डका गभर्नरबाट सन् २०१६ मा Governor's Commission on South Asian Affairs मा नियुक्त गरिएको थियो । 
 
यस बाहेक विभिन्न संघ / संस्थामा रहेर उहाँले अविछिन्न सहयोग पुर्याउनु भएको थुप्रै विवरण छन् । ७१ वर्षीय डा  कार्की समुदायको काममा अहिले पनि तन्नेरी झैँ खटिनु हुन्छ ।
 
यहाँसम्म आईपुग्न डा कार्कीले कति आरोह अवरोह भोग्नु भयो त्यसको बेग्लै कथा हुनसक्छ । आफ्नो मातृभुमी नेपाल र कर्मभूमि अमेरिकासँग उहाँका कैयौं  स्मृतिहरु जोडिएका छन् ।  जीवन यात्राका त्यस्ता स्मृतिहरु कुनै निमेषमै विर्सिइन्छन, कुनै संझनामा आउँछन र कुनै  भने जीवनभर नविर्सने गरी स्मृतिमा ताजा बनेर बाँचिरहन्छन । 
 
डा श्याम कार्कीको यस्तै एउटा भुल्न नसक्ने जिवन्त संझना  उहाँको आफ्नै शब्दमा –
डा श्याम कार्की
" मेरो अमेरिका बसाई ४२ वर्ष भन्दा बढी भयो । यो अवधिमा मैले धेरै तीता मिठा र रमाइला अनुभवहरु संगालेको छु । तर अमेरिका टेकेको पहिलो दिन र यहाँ आउन गर्न परेको प्रयास मेरो स्मृतिमा ताजै छ । 
 
हिजो जस्तै लाग्छ ति दिनहरु स्मरण गर्दा ।
American University of Beirut ( AUB ) बाट मैले पाँच  वर्षे फार्मेसी कोर्स पूरा गरेर सन १९६९ मा नेपाल फर्के । तत्कालिन श्री ५को सरकारको  बनस्पति विभागमा काम पनि पाएँ । तर राजनीतिक स्थिति , वेथिति र भ्रष्टाचारजस्ता विकृति देखेपछि आफ्नो जागीरबाट वाक्क भएर अमेरिका जाने सोच बनाएँ ।
 
मैले पढेको American University of Beirut लाई न्यूयोर्कमा आफ्नै आन्तरिक यूनिभर्सिटीको मान्यता प्राप्त थियो र मलाई समेत Internal Graduate मानिन्थ्यो । त्यसैको आधारमा मैले स्थायी आवसीय भीसा (Permanent Residence) कोलागि आवेदन गरेको थिएँ । अचम्म त त्यतिबेला भयो , एक वर्ष पनि नपुग्दै मेरो आवेदन स्वीकृत भएर ग्रिन कार्ड पाउने भएँ । त्यसै बेला मेरो विवाह भएर एउटी छोरी पनि जन्मिएकी थिइन् । 
कार्की दम्पति मेेेरिल्यान्ड  गभर्नर ल्यारी हुगनसँग
 
अमेरिकी दूतावासबाट ट्राभल डकुमेन्ट लिएर म लण्डन हानिएँ जहाँ मेरो साथी विजय थियो ।
 
म सिधै अमेरिका नगएर लण्डन किन जानु पर्यो भन्ने रोचक प्रसंग छ । 
 
तत्कालिन पंचायती व्यवस्थामा सरकारी कामकाज बाहेक अरु कुनैपनि व्यक्तिगत काममा कर्मचारीलाई विदेश जाने अनुमति हुदैन थियो । त्यसैले व्यक्तिगत प्रयोजनमा पासपोर्ट पाउने त संभावना नै थिएन । 
 
साथी विजयले उसँगै लिड्समा पढ्ने अरबी साथीको सहयोगमा लण्डनमा आयोजना हुने Class Réunion मा सहभागी हुन निमन्त्रणा पठाईदियो । त्यही पत्रलाई मुख्य आधार बनाई पासपोर्टकोलागि आवेदन गरें । तर सारै गार्हो । जति प्रयास गर्दा पनि पार पाउन नसक्ने देखियो । तत्कालिन परराष्ट्र मन्त्रीलाई समेत गुहारें ।
 
तर कहिलेकाहि सोच्दै नासोचेको कुरा पनि हुने रहेछ । मेरो एउटा साथी परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखामा काम गर्ने रहेछ । हाकिम पछिको दोस्रो रहेछ शाखामा उ । उसले उपाय सोच्यो , हाकिम विदामा वाहिर गएको बेला पारेर पासपोर्टमा सहि गरिदिने  ! 
 
केही महिनाको पर्खाइपछि साथीले खबर पठायो हाकिम विदामा छन्, म पासपोर्ट बनाइदिन्छु  तुरुन्त आउनु भनेर । म हुँइकिएर पुगे मन्त्रालय  र पासपोर्ट लिएर आएँ । मेरो परिवार र केही आत्मीय साथीहरुलाई मात्र थाहा थियो म अमेरिका जाने कुरा ।
 
सन् १९७५ ,अगस्त महिनाको पाँच तारिख म वाशिङ्गटन  डिसी जानलाई लण्डन उडें । मेरो परिवारले गरुङ्गो मन भएपनि हाँसी खुशी विदा गरे ।
 
अमेरिकामा मैले चिनेको कोही थिएनन् । वाशिङ्गटन डिसी रोज्नुको एउटै कारण थियो अमेरिकाको राजधानी ,अवसरहरु पक्कै पाइन्छ । 
 
हवाईजहाजमा मेरो छेउको सीटमै  बसेकी सहयात्री भद्र महिला ले सोधिन –  " तपाई कहाँबाट आएको अनि अमेरिका किन जाने ?" 
 
मैले शिष्टतापूर्वक  जवाफ दिएँ – " म नेपालबाट । जीवनमा केही राम्रो गरौं  भनेर अमेरिका आउँदैछु । तर त्यहाँ मेरो कोही छैन चिनेजानेको ! "
आश्चर्य , ती भद्र महिलाले अप्ठ्यारो परे फोन गर्नु भन्दै आफ्नो ठेगाना र फोन नम्बर दिइन् । उनको ठेगाना टेक्सासको रहेछ । टेक्सासबाट वाशिङ्गटन कति टाढा थियो मलाई थाहा थिएन ।
समुदायमा सक्रियता
जहाज अवतरण गर्यो । बाहिर निस्कदा म नर्भस थिएँ , मेरो ओठ मुख सुक्न थाल्यो ।
लण्डनबाट साथीहरुसँग विदा भएर हिड्नु अघि विदाई पार्टी दिएका थिए उनीहरुले ।  त्यो पार्टीमा  दिपकले अमेरिका गएर कहाँ बस्छौ ? को को छन भनि सोध्दा मैले कोही पनि छैन भने । सस्तो होटल खोजेर बस्छु , जे पर्ला गरौंला  भनेको थिएँ । 
 
तर दिपकको सुवर्ण भन्ने साथी वाशिङ्गटन डिसीमा बस्ने रहेछ । दिपकले  उसको सम्पर्क ठेगाना दिने बित्तिक्कै लिड्सबाटै सुवर्णलाई खबर पठाएँ । अमेरिका उड्नु एकदिन अघि उसको जवाफ आयो । जवाफमा उसले,  डाक्टर्स हास्पिटलमा काम गर्छु, एयरपोर्टबाट सिधै ट्याक्सी लिएर त्यही आउनु भनेर उल्लेख गरेको थियो ।
 
एयरपोर्ट बाहिर निस्केर जसरी पनि हस्पिटल पुग्छु अनि त सुवर्ण भेट भैइहाल्छ भन्ने साहस बटुले । सुकेको मुख र ओठलाई रसिलो बनाउने प्रयत्न गर्दै सुवर्ण काम गर्ने हस्पिटल पुगें ।
 
अपरेटरले उसलाई पेजरबाट खबर गर्यो ।  एकैछिनमा एकजना जूँगा भएको हँसिलो व्यक्ति आएर मलाई परिचय दिदै भने – " श्यामजी कस्तो रह्यो यात्रा ? म सुवर्ण ।"
एकछिनको भलाकुसारी पछि मैले उसलाई एउटा सस्तो होटल खोजिदिनुस भने ।  सुवर्णले आज त्यो कुरा छोड्नुस , भोलितिर अरु व्यवस्था गरौंला भनेर टारिदिए ।  उनको  एपार्टमेंट पैदल हिडेरै पुगिने ठाउँमा थियो ।
 
सुवर्णको एक कोठे इफिसियन्सी एपार्टमेंट रहेछ । भित्र पस्दा कोठा खाली , न त ओछ्यान , न खाट  , न अरु फर्निचर ! त्यहाँ उ भर्खरै मात्र सरेकोले केही व्यवस्था गर्न सकेका रहेनछन् । फुर्सद नमिलेर सामान किन्न जान पनि पाएनछन् ।
 
हामी दुवै छेवैको म्याकडनल्डमा गएर खाना खायौं । लामो हवाई यात्रा र चिन्ताले म थकित थिएँ । एलो पेजका किताबलाई सिरानी बनायौं , नाङ्गो भुइँमा तन्ना ओछ्याएर सुत्नु  बाहेक अरु उपाय थिएन ।
नेपाली भाषा पाठशाला
मैले त्यतिबेला आफैलाई सोधें – " म किन यस्तो दुःख पाउन अमेरिका आएको होला ? मैले सही निर्णय गरें त ? नेपालमा त यो भन्दा राम्रै थियो नि !
 
तर समयको गति थामिदैन । धेरै कुराहरु त्यसपछि बदलिसक्यो । मेरा परिवारका प्रायः सबै सदस्यहरु अब यतै छन् । हजुरबुवा भैसकें ।
 
त्यस्तो कठिन समय पार गरेर यहॉसम्म पुगें । अब त खुशी छु , मैले त्यसबेला अमेरिका आउने जुन औडाहा देखाएँ त्यो सही रहेछ भन्ने लाग्छ ।
तर आज पनि अमेरिकाको त्यो पहिलो रात मेरोलागि बिर्सिनै नसकिने भएको छ । "