मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
टेक्सस   

अमेरिकामा नेपाली विद्यार्थीलाई काम पाउनै कठिन

अमेरिकामा नेपाली विद्यार्थीलाई काम पाउनै कठिन


तस्बिर: सामाजिक संजाल

हिमालय खबर संवाददाता-
ड्यालस (अमेरिका) । सुमन अवस्थी (नाम परिवर्तन) अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अमेरिका भन्दा बाहिरबाट आउने विद्यार्थीलाई यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा राखिन्छ । ६ महिना अघि अर्कान्ससको एउटा युनिभर्सिटीमा अध्ययनका लागि आएका उनी त्यहाँ काम पाउन नसकेपछि दुई महिना अघि टेक्सस सरे । ‘टेक्सस सरेको पनि दुई महिना हुनै लाग्यो, काम खोज्दा खोज्दा हैरान भएर म त फ्रष्टेसनमा गैसकेको छु’ शनिबार हिमालयखबरसँग उनले दुःखेसो पोखे ।

आर्या गुप्ता (नाम परिवर्तन) एक वर्ष अघि मिजौरीको एउटा युनिभर्सिटीमा आएकी हुन् । त्यहाँ एउटा भारतीय रेष्टुँरामा हप्ताको २०/२५ घण्टा काम गर्थिन् । त्यहाँ काम गरेर आउने पारिश्रमिकले कलेज फि, अपार्टमेन्टको भाडा, खानाखर्च समेत तिर्न नपुगेपछि डेढ महिना अघि ड्यालस सरिन् । ‘मिजौरीमा हुँदा ड्यालसमा भनेजति घण्टा काम पाइन्छ भन्ने साथीहरुको भनाईमा लागेर यता आएँ । तर यता त कामै पाउन सकेको छैन’ उनले भनिन् । यो संवाददाताले उनीसँग सम्पर्क गर्दा भन्दै थिइन्–‘काम खोजिदिनुस् न है । मलाई ठूलो गुन लाग्नेछ । यो गुनलाई कहिल्यै भुल्नेछैन ।’

सुमन र आर्या दुई उदाहरण मात्र हुन् । यतिखेर अमेरिकामा अध्ययनका लागि आएका सयौँ नेपाली विद्यार्थीहरु काम नपाएर असाध्यै भौतारिइरहेका छन् । चिनेजानेका मार्फत हुन्छ कि साथीभाई आफन्तको सम्पर्कबाट हुन्छ काम खोज्न उनीहरुको दौडधूपको पीडा वर्णन गरिसाध्य छैन । पढ्न आएका विद्यार्थीहरु काम खोज्ने तनावमा कलेज जान समेत छाड्ने अवस्था उत्पन्न भइरहेको छ ।

अमेरिकामा अध्ययनका लागि आउने अधिकांश नेपाली विद्यार्थीहरुको योजना हुन्छ–कमाउँदै, कलेजको शुल्क तिर्दै पढ्ने । नेपालबाट खर्च ल्याएर थेग्न सक्ने विद्यार्थी एक प्रतिशत पनि भेटिदैनन् । युनिभर्सिटीको शुल्क, अपार्टमेन्ट, गाडी भाडा, खाना समेत गर्दा प्रति महिना कम्तिमा पनि तीनदेखि चार हजार प्रति विद्यार्थी खर्च लाग्छ । अझ युनिभर्सिटी भएको स्थान हेरेर यो भन्दा अझै बढी पनि हुन्छ । नेपालमा एकलाख ३४ हजार सटही गर्दा बल्ल एकहजार डलर हात पर्छ । तीन देखि चारहजार डलरका लागि कम्तिमा पनि मासिक साढे चारदेखि ६ लाख खर्च गर्नसक्ने अभिभावकहरु नेपालमा कमै छन् ।

‘पहिले हामीले काम गर्ने मान्छे खोज्दा नपाएर डेढ दुई महिनासम्म साहु आफैले स्टोरमा खटिनुपर्थ्यो । अहिले दिनमा ५ देखि ६ वटा टेलिफोन कल कामकै लागि भनेर आउने गरेको छ’ ड्यालसका व्यबसायी बलराम पौडेलले भने । पौडेलका अनुसार पहिले काम गर्ने विद्यार्थीहरु कतै २५ सेन्ट बढी मिल्यो भने काम छोडेर त्यतै जाने प्रवृत्तिले गर्दा स्टोर, ग्याँस स्टेशनमा काम गर्ने मान्छेहरु खाली भैरहन्थ्यो । तर अहिले युनिभर्सिटीबाट ग्राजुयट भएका विद्यार्थी समेत अध्ययन अनुसारको काम नपाउँदा ग्याँस स्टेशन, स्टोरमै काम गरेर बसिराखेका छन् ।

पहिले ग्राजुयट भएपछि उनीहरु पढाई अनुसारको काम पाएर अर्कै स्टेट, अन्यत्र जाने कारणले नयाँनयाँ मान्छेहरु आवश्यक परिरहन्थ्यो । तर विगत एक वर्षदेखि अमेरिकी अर्थतन्त्रमा देखिएको संकुचन, रोजगारीमा भएको व्यापक कटौती, बढ्दो मूल्यवृद्धिले गर्दा रोजगारीका नयाँ अवसर ठप्प जस्तै छ ।

टेक्ससमा मात्र होइन सूचना प्रविधिको राज्य क्यालिफोर्नियामा पनि नेपाली विद्यार्थीले काम नपाएको पीडा उस्तै छ । ‘काम मिलाइदिनुपर्यो भन्दै दिनमा दर्जनौ फोनकल आउँछन् । सबैतिर निकै टाइट छ अवस्था । विद्यार्थीहरुले काम पाउने रेष्टुँरा, फुड डेलिभरि, स्टोरमा पछिल्ला समयमा रोजगारी ठप्प जस्तै छ’ सानफ्रान्सिस्को स्थित नेपालीहरुको संस्था न्यान्सका अध्यक्ष प्रितेस कार्कीले भने ।

सुरुमा अधिकांश नेपाली विद्यार्थीहरु गाउँ वा अमेरिकाका साना राज्यहरुका युनिभर्सिटीमा आउँछन् । एक सेमेष्टर (६ महिना) पुरा गरेपछि काम पाइने संभावना भएका टेक्सस, ओक्लाहोमा, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया जस्ता राज्यका कम्युनिटी कलेजमा सर्ने चलन देखिन्छ । ती राज्यहरुमा नेपाली लगायत दक्षिण एसियाबाट आएका आप्रवासी, मध्यपूर्बबाट आएका आप्रवासीहरुका स्टोर, ग्याँस स्टेशन, रेष्टुराहरुमा विगतमा काम मिल्नेगर्थ्यो । अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग कलेज वा युनिभर्सिटी भन्दा बाहिर काम गर्ने अनुमति हुँदैन । त्यसोहुँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई रोजगारदाताले काम दिन मान्दैनन् । उनीहरुलाई काम दिँदा रोजगारदाता समेत कानुनी फन्दामा पर्ने हुँदा अमेरिकीहरुले काम दिँदैनन् ।

दक्षिण एसियाली, मध्यपूर्बका आप्रवासीद्वारा सञ्चालित व्यबसायमा भने उनीहरुले नगदमा भुक्तानी गर्नेगरि भित्री रुपमा काम दिन्छन् । त्यो पनि अरुलाई भन्दा सस्तो पारिश्रमिक दिएर ।

‘पहिले पहिले मैले धेरै विद्यार्थीहरुलाई मिडलइष्टका लगानीकर्ताका रेष्टुरा, फुड डेलिभरी, स्टोरमा काम मिलाइदिएको थिएँ । तर अहिले ती सबै ठाउँ ठप्प छ’ न्यान्स अध्यक्ष कार्कीले भने । नेपाली विद्यार्थीहरु इमान्दार, बढी खट्न सक्ने, ओभरटाइम जतिसक्दो गर्न लालायीत हुने कारणले गर्दा रोजगारदाताको रोजाईमा छन् ।

विद्यार्थीहरुले काम नपाएर हाहाकार हुनुमा अवैध रुपमा मेक्सिको हुँदै आएका आप्रवासी पनि एउटा कारण भएको ठहर व्यबसायीहरुको छ । ‘अस्तिमात्रै खोला तरेर आएको दुईजना मेरो स्टोरमा आएर काम चाहियो भन्दै रुँदै थिए’ ड्यालसकै एक व्यबसायीले नाम सार्वजनिक नगर्ने शर्तमा भने । नौ महिना लगाएर कोलम्बिया, पानामाको बाटो हुँदै मेक्सिकोबाट अमेरिका पसेका ती व्यक्ति घण्टाको ८ डलरमा भएपनि काम गर्न तयार रहेको प्रतिवद्धता जनाएको पनि उनले बताए ।

स्रोतका अनुसार अमेरिका–मेक्सिको सीमानाको रियोग्राण्दे नदी पार गरेर आएका नेपालीहरुको एउटा ठूलो समूह टेक्ससको राजधानी अस्टिनमा छ । एउटै अपार्टमेन्टमा १२ देखि १५ जनासम्म उनीहरुको बसिरहेको र ती मध्य ३/४ जनाले मात्र काम गरेर बाँकी बेरोजगार छन् । ड्यालस आइपुगेका त्यही समूहका केही व्यक्तिहरु समेत छिटपुट रुपमा आफन्त, चिनजानका मानिसहरुको घर, अपार्टमेन्टमा बसेर कामको खोजीमा छन् ।

‘काम खोज्ने विद्यार्थीहरुलाई सकेसम्म सहयोग गरिरहेको छु । तर यति धेरै विद्यार्थी छन् कि काम खोजेर, मिलाइदिनै नसक्ने अवस्था देखिएको छ’ एनआरएनएन अमेरिकाका पूर्ब सचिव अमृत (सुरेश) कट्टेल भन्छन् । ओक्लोहामा राज्यमा मोटल, ग्याँस स्टेशनहरु सञ्चालन गर्दै आएका कट्टेलले ६ महिना यता १२/१३ जनालाई काम मिलाइदिई सकेका छन् । टेक्सससँग सिमाना जोडिएको ओक्लोहामा राज्यका तीन वटा युनिभर्सिटीमा सयौं नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । कतिपय विद्यार्थीहरु भने साताका पाँच दिन युनिभर्सिटीमा अध्ययन गर्ने र बाँकी दुई दिन टेक्ससका उत्तरी भागमा रहेका ड्यालस, फोर्टवर्थ, डेन्टन, शरमन, विचिटाफल्स लगायत ठाउँमा रहेका स्टोर, ग्याँस स्टेशन, रेष्टुराँहरुमा काम गर्न आइपुग्छन् । एक वर्ष यता ग्याँस स्टेशन, रेष्टुराँ, स्टोरहरुमा रोजगारीको अवसरमा संकुचन आएको छ ।

पुराना विद्यार्थीहरुका अनुसार ५/६ वर्ष अघिसम्म विद्यार्थीहरुले शपिङ्ग मलभित्र रहने साना गाडामा रहेका पसलहरु, मोबाइलका एसेसरिज (कभर, चार्जर, डाटा केबल) बेच्ने पसलहरुमा ठूलो मात्रामा कामको अवसर पाउँथे । गिफ्टशपहरुमा समेत कामको अवसर हुन्थ्यो । अहिले अनलाइन व्यापारले गर्दा ती व्यबसायहरु सुकेका छन् । शपिङ्मलहरु सप्ताहन्तमा समेत सुनसान छन् । जसले गर्दा विद्यार्थीहरुले पाउने रोजगारीमा ठूलो असर परेको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले वैधानिक रुपमा गर्न पाउने काम कलेज, युनिभर्सिटीभित्र साताको २० घण्टामात्र हो । तर त्यो पाउन पनि असाध्यै सास्तीपूर्ण छ । थोरै सिट, तर आकांक्षी धेरै हुँदा पहिलेनै आवेदन दिनेले मात्र अवसर पाउँछन् ।

अमेरिका भरिका सिटीहरुका नेपाली विद्यार्थीहरु काम नपाएर पीडामा, कोही डिप्रेसनमा, कोही पढाई छाडेर कुलतमा फँसेका छन् । यो समस्याको निदानका लागि संस्थागत रुपमा कतैबाट पहल भएको देखिदैन ।

‘दिनमा ५/६ वटा कल त विद्यार्थीहरुलाई काम मिलाउने, कसैलाई अपार्टमेन्ट खोजेर राखिदिने विषयमै हुन थालेको छ । यसपालि जस्तो काम पाउन कठिन कहिल्यै महसुस भएन’ नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले भने । उनका अनुसार काम पाउने ठाउँसम्म पुग्न नयाँ विद्यार्थीसँग गाडी हुँदैन, कलेज र बसाईको नजिक काम मिल्दैन । यसलाई समाधान गर्न निकै गाह्रो परिरहेको उनले उल्लेख गरे ।

स्रोतका अनुसार २०८० साउनदेखि पुससम्म ६ महिनाको अवधिमा अमेरिकामा अध्ययन गर्न आउनका लागि ५ हजार तीनसय १४ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । यी मध्य केहीले भिसा नपाएपनि धेरै जसो भने अमेरिका आइसकेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा तीनहजार ९ सय ७० ले अमेरिका पढ्न आउन नो अब्जेक्सन लेटर लिएका थिए ।

अहिलेका विद्यार्थीनै भोलीका दिनमा अमेरिकामा रहेका नेपाली संघसंस्थाका नेतृत्वकर्ता भएकोले उनीहरुलाई अहिले सहयोगको जरुरी रहेको धारणा समाजका अग्रजहरुको छ । तर यो विषयमा गैर आवासीय नेपाली संघ अमेरिका, च्याप्टरहरु मौन देखिन्छन् । स्मरणीय तथ्य के छ भने –एनआरएनएका महासचिव गौरीराज जोशी, अमेरिका अध्यक्ष अर्जुन बञ्जाडे, पूर्ब अध्यक्ष सुनिल साह लगायतका नेतृत्वकर्ताहरु विद्यार्थीकै रुपमा अमेरिका आएका थिए । अहिले काम पाउन नसकेर पीडा, सास्ती भोग्दै गरेका विद्यार्थीहरुलाई सहयोग गर्दा उनीहरुबीच संस्थाको छवी उकास्न मद्धत पुग्नेमा कसैको ध्यान नपुगेको गुनासो व्याप्त छ ।

विद्यार्थीहरु माथि एकातिर कलेजको पढाइको बोझ, अर्कातिर काम नपाउँदाको तनाव, नेपालबाट अभिभावकहरुले अझै काम पाएको छैन भन्दै दिने मानसिक दवाव छ । यस्तो अवस्थामा विद्यार्थीहरुलाई अभिभावकहरुले मानसिक दवाव दिन नहुने धारणा नेपाली समाज टेक्ससका महासचिव भुसालको छ । ‘प्सल टू सकिनासाथ २० वर्ष नपुगेका छोराछोरी जस्ले पकाएर खान पनि जानेका हुँदैनन्, तिनीहरुलाई अमेरिका पठाएर तुरुन्तै नेपालमा पैसाको अपेक्षा अभिभावकहरुले नगरिदिए मात्र पनि विद्यार्थीलाई यति साह्रो दवाव पर्ने थिएन’ उनले भने ।