मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

English News   

कांग्रेस र माओवादी केन्द्रले गरे चार महानगरको उम्मेदवार चयन

कांग्रेस र माओवादी केन्द्रले गरे चार महानगरको उम्मेदवार चयन


काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ । 
 
दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले मंगलबार सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । 
 
पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उनले बताए ।
 
यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं. ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशमा चाार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका छन् । 
 
माओवादी केन्द्रबाट उम्मेदवारी 
 
नेकपा (माओवादी केन्द्र)ले चार वटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ । जिल्ला समितिको सिफारिसमा आज बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले काठमाडौँका प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । डङ्गोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्जसमेत हुन् । उपप्रमुखका प्रत्याशा पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् । 
 
यस्तै ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि दाहालका अनुसार जिल्लाका सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ । ललितपुर महानगरका प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् । उपप्रमुखका उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताका रूपमा क्रियाशील हुन् । 
 
यस्तै भरतपुर महानगरका प्रमुखमा रेणु दाहाललाई पतथा उपप्रमुखमा ईश्वर सापकोटालाई उठाइने भएको छ । प्रमुखका उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सापकोटा स्थानीय नेता हुन् । यस्तै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । यस्तै उपप्रमुख उम्मेदवार गोमा ढकाललाई अगाडि सारिएको छ । 
 
पोखरा लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हन् । पोखराको परिचयका रूपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पार्नुभएका उनी माओवादी केन्द्रका नेता हुन् । यस्तै उपप्रमुखका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताका रूपमा क्रियाशील हुन् । रासस