चितवन । चितवनमा जलयात्रासहितको धार्मिक पयर्टन विकासको सम्भावना भएर पनि त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।
विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपर रहेका वनजङ्गल त्यहाँ रहेका बाघ गौडाजस्ता दुर्लभ वन्यजन्तुका कारण चितवन घुम्न देश विदेशका पर्यटक आउँछन् । तर हात्ती चडेर गैंडा हेर्न चितवन आउने पर्यटकलाई जलयात्रासहितको धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउन सक्ने हो भने उनीहरुको बस्ने समय लम्व्याउन सकिने छ ।
त्रिशूली र नारायणी नदीमा जलयात्रासहितको मनकामना, देवघाट र वाल्मीकि आश्रमलाई जोडेर ‘टुर प्याकेज’ गराउन सकिने विज्ञहरुले औंल्याएका छन् ।
‘मनकामनाको फेदीदेखि देवघाटसम्मको त्रिशूली नदीमा र देवघाटदेखि त्रिवेणीसम्मको नारायणी नदीमा जलयात्रा गरी मनकामना, देवघाट र वाल्मीकि आश्रमबीचको धार्मिक पर्यटनको विकास गराउन सकिन्छ’ देवघाट क्षेत्र विकास समिति चितवनका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘अहिले वन र वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकलाई पनि यो क्षेत्रमा आकर्षण गराउन सकिने छ ।’
एक वर्षअघि पौडेलकै नेतृत्वमा सरोकारवालाहरुले धार्मिक पर्यटनको विकासका बारेमा अध्ययन गरेका थिए । उनका अनुसार मनकामना फेदीबाट देवघाट ४० किलोमिटरको दूरी र देवघाटबाट त्रिवेणी ३५ किलोमिटरको जल यात्राको दूरी हुनेछ ।
‘मनकामनाको मन्दिरबाट केबुलकारमा हरर हानिएका पर्यटकलाई त्रिशूलीमा ¥याफ्टिङमा सरर देवघाट ल्याउन सकिन्छ । देवघाटमा एक वा दुई दिन राखेर यस वरपरका धार्मिक क्षेत्रहरुको अवलोकनपछि पुनः नारायणीमा जलयात्रा गराएर त्रिवेणी पु¥याउन सकिने सम्भावना भएर पनि यसको विकासमा ध्यान दिन सकिएन’ उनले भने, ‘नारायणीमा जलयात्राका क्रममा त्यहाँ देखिने जलचरहरु, चितवन निकुञ्जभित्रका बाघ गैंडा जस्ता जङ्गली जनावर र चराचुरूङ्गीहरुले कसको पो मन नलोभ्याउला र रु अझै त्रिवेणी पुगेर जङ्गलको यात्रा ‘जङ्गल वार्क’ गर्दै वाल्मीकि आश्रम पुग्दा नयाँ अनुभव गर्न सकिन्छ ।’
गोरखामा रहेको मनकामना देवीलाई भगवती र पार्वतीको स्वरुपका रुपमा लिइन्छ । तर, यहाँ पुग्न चितवनको कुरिनटारबाट केवुलकारको सुविधा छ ।
हजारौं स्वदेशी धर्मालम्बीहरु यहाँ दैनिक दर्शन गर्न आउँछन् । देवघाट चितवन, तनहुँ र नवलपरासीको सीमा क्षेत्रमा पर्छ । तर, यो क्षेत्रमा पुग्न पनि चितवनकै बाटो भएर जानुपर्छ ।
वाल्मीकि आश्रम ऋषि वाल्मीकिले रामायण लेखेको र लव कुश हुर्काएको क्षेत्र हो । त्यसैले पनि यी तीनै क्षेत्र धार्मिकरुपमा अति महत्वपूर्ण मानिन्छन् । यो क्षेत्र जोडेर ‘धार्मिक पर्यटन रुट’ बनाउन सकिने हो भने धार्मिक मात्रै हैन अन्य स्वदेशी तथा विदेशी पर्यटकलाई समेत लोभ्याउन सकिने क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष सुमन घिमिरे बताउँछन् ।
‘अहिले चितवन घुम्न आउने पर्यटकको औषत बसाइ २ दिन हो तर, नयाँ गन्तव्यको विकास गराउन सकिने हो भने यो बसाइ लम्व्याउन सकिने छ’, घिमिरेले भने, ‘यसले चितवनलाई पर्यटकीय दृष्टिले तेस्रो गन्तव्य स्थलबाट दोस्रो गन्तव्य बनाउन पनि सहयोग पुग्ने छ ।’
चितवन घुम्न आउने पर्यटकले अहिले औषत नेपालीले ८ हजार रूपैयाँ र विदेशीले १५ हजारसम्म खर्च गरेको अनुभव व्यवसायीहरुमा छ । पयर्टकको बस्ने समय लम्व्याउन सकिने हो भने उनीहरुले गर्ने खर्चमा पनि वृृद्धि भएर जाने घिमिरेको भनाइ छ ।
‘भारतबाट आउने धार्मिक पयर्टकलाई मात्रै ध्यान दिने हो भने पनि मनकामना, देवघाट वाल्मीकिधाम धार्मिक पयर्टन विकासको सम्भावना प्रशस्त भेटिन्छ’ एक पयर्टन व्यवसायीले भने । अहिले चितवन घुम्न आउने विदेशी पर्यटकमध्ये आधाभन्दा बढी भारतीय नै हुन्छन् ।
चितवनमा अहिले वार्षिक डेढ लाखका हाराहारीमा पर्यटक घुम्न आउने गरेका पर्यटन विकास समिति चितवनका सदस्य केशव देवकोटाले जानकारी दिए ।
‘नारायणी नदीमा जलयात्रा गराउँदा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने क्षेत्रमा जैविक विविधताको असर न्यूनीकरण गराउने गरी विकास गर्नुपर्छ’ देवकोटाले भने,‘चितवन र यस आसपासका धार्मिक क्षेत्रहरु समेटेर जलयात्रासहितको ‘टुर प्याकेज’ बनाउने हो भने धार्मिक क्षेत्रको विकास भई हाम्रै स्रोतसाधनलाई परिचालन गरेर नयाँ पर्यटन क्षेत्रको विकासमा सरकारी निकायको ध्यान पुग्नुपर्छ ।’ तस्बिर : बसन्त पराजुली
प्रतिक्रिया