वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको इतिहासकै सबैभन्दा लामो सरकारी ‘सटडाउन’ अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्। यो ‘सटडाउन’ ४३ दिनसम्म चलेको थियो।
राष्ट्रपति ट्रम्पले ओभल अफिसमा विधेयकमा हस्ताक्षर गर्नुअघि उक्त विधेयकलाई अमेरिकी कंग्रेसको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सले अनुमोदन गरेको हो ।
हाउस अफ रेप्रिजेन्टेटिभ्समा यो विधेयक २२२ विरुद्ध २०९ मतले पारित भएको थियो। यस क्रममा दुई सांसद अनुपस्थित रहेका थिए भने ६ जना डेमोक्र्याट सांसदहरूले पनि रिपब्लिकनहरूसँग मिलेर विधेयकको पक्षमा मतदान गरेका थिए।
सटडाउन सुरु भएपछि ४३ दिनसम्म हजारौं संघीय कर्मचारीहरूले तलब बिना नै काम गरिरहेका थिए । केहीलाई छुट्टीमा पठाइएको थियो भने कसैलाई जागिरबाट निकालिएको थियो। पर्याप्त कोषको अभावमा संघीय कार्यक्रमहरू, एजेन्सीहरू र विभागहरूको काम ठप्प भएका थिए।
यसअघि सोमबार, अमेरिकी सिनेटले सटडाउन अन्त्य गर्न र सरकारलाई बजेट उपलब्ध गराउने विधेयक पारित गरेको थियो। सोही विधेयक हाउस अफ रेप्रिजेन्टेटिभ्समा अनुमोदनको लागि आएको थियो, जसलाई अन्ततः राष्ट्रपति ट्रम्पले अन्तिम स्वीकृति दिँदै हस्ताक्षर गरेका छन्।
नयाँ विधेयक पारित भएसँगै संघीय सरकारका नियमित कामकाजहरू पुनः सुरु हुने भएका छन्, तर विपक्षी दल डेमोक्र्याटले प्राथमिकता दिएको स्वास्थ्य बीमा सम्बन्धी कोष लाई भने यस कानुनमा नसमेटिएको ‘द गार्जिएन’ले जनाएको छ।
द गार्जिएनका अनुसार, यो सम्झौताले सरकारका कार्यहरूलाई जनवरी महिनासम्मका लागि सहज बनाउने भए पनि ‘अफोर्डेबल केयर एक्ट] (ओबामाकेयर) अन्तर्गतको स्वास्थ्य बीमा योजनामा दिइने कर छुटको निरन्तरता गर्ने विषय अझै टुङ्गिएको छैन। धेरैजसो डेमोक्र्याट सांसदहरूले सरकार सञ्चालन गर्ने कुनै पनि सहमतिमा ती कर छुटहरूलाई कायम राख्नैपर्ने अडान लिएका थिए । एपी












प्रतिक्रिया