ड्यालस (अमेरिका) । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत जेन्जी आन्दोलनका क्रममा भएको घुसपैठमा संलग्न माथि सरकारले कारवाही गरेर निजी क्षेत्रको मनोवल बढाउनुपर्ने धारणा राखेका छन् ।
भदौ २३ र २४ को आन्दोलनका क्रममा पछिल्लो दिन देशको उद्योगधन्दा, व्यबसाय, निजी घर, सरकारी संरचनामा गरिएको क्षती र लुटपाटमा संलग्न माथि देशले कानुनी कारवाही गर्न ढिला गर्न नहुनेमा जोड दिए । शुक्रबार अमेरिकाको ड्यालसमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले उक्त घटनाले संसारभरि नेपालको उद्योग व्यबसायमैत्री वातावरणका बारेमा नकारात्मक सन्देश पुगेको समेत बताए ।
‘बिमाबाट केही क्षतीपूर्ति त होला, तर त्यसले संसारभरि नेपालका बारेमा पुगेको सन्देशले गरेको नोक्सानी निकै ठूलो छ’ उनले भने । पटक पटकको आन्दोलनमा निजी क्षेत्र, व्यबसाय माथि आक्रमण हुने गरेपनि यसपटक भने निकै ठूलो रुपमा भएको र त्यसले व्यबसायीको मनोवल निकै खस्किएको समेत उनले उल्लेख गरे ।
हजारौंलाई रोजगारी दिने, सरकारलाई कर तिर्ने व्यबसाय र व्यबसायीलाई टार्गेट गर्ने सोच रहेसम्म देशले प्रगति गर्न सक्दैन’ उनले भने–‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई सामाजीक सञ्जालका कारण झनै नकारात्मक बनेको छ । यसले साथीहरुलाई निकै हतोत्साही बनाएको छ ।’
नेपालमा लगानीको प्रचुर संभावना रहेको अध्यक्ष ढकालले चर्चा गर्दै भने ‘नेपालको विकास हुने भएको पानी (जलस्रोत) र पर्यटनबाट मात्र हो ।’
सरकारले कुनै पनि रुपबाट भदौ २३ र २४ को आन्दोलनका क्रममा भौतिक क्षती र लुटपाट गर्ने माथि नरम व्यबहार नगरोस भन्ने उद्योग बाणिज्य महासंघको धारणा रहेको उनले बताए ।
हामीले प्रधानमन्त्री, गृहमन्त्रीलाई भेटेर पनि यो कुराको माग गरिसकेका छौैँ’ उनले भने । आन्दोदनमा नाममा लुटपाट गर्ने र तोडफोड गर्ने माथि कारवाही नभए यो एउटा गलत संस्कारका रुपमा अघि बढ्ने डर रहेको समेत उनले बताए ।
नेपालमा लगानी गर्नका लागि गैर आवासीय नेपालीहरुसँग उनले आग्रह पनि गरे । ‘छिटपुट रुपमा हुने यस्ता घटनाले हामी निराश भएर लगानी नगर्ने भन्ने हुँदैन, हामी अघि बढ्नैपर्छ । नेपालको पासपोर्टलाई संसारमा इज्जतीलो बनाउन हामी सबै लाग्नैपर्छ’ उनले भने ।
हिमालयखबर अनलाइनको आयोजनामा भएको कार्यक्रममा गैर कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले नेपालका लगानीका लागि प्रवासमा रहेका लाखौं गैर आवासीय नेपालीहरु तयार रहेको तर देशको अवस्था र शान्ति सुरक्षाको चिन्ताले लगानीकर्ताहरु हच्किरहेको उल्लेख गरे । सरकारले देशका कानुन र सुशासन रहेको प्रत्याभूति दिन सक्नुपर्ने पनि उनले माग गरे ।
त्यस अवसरमा गोरखापत्र दैनिकका महाप्रवन्धक लाल ऐरले देशको विकास आर्थिक विकास र निजी क्षेत्रको लगानीबाट मात्र हुने भएकोले लगानीलाई सुरक्षित बनाउने र लगानीकर्ताको मनोवल उकास्ने पक्षमा मिडियाको तर्फबाट गोरखापत्रले कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा नवस्थापित कन्सुलेट अफिस ड्यालसका अधिकृत प्रविण भट्टराईले कार्यालयले नेपालमा लगानी बढाउन सहजीकरणको भूमिका खेल्ने र आवश्यक सहयोग गर्ने बताए ।
हिमालयखबरका प्रवन्ध सम्पादक विकासराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण पत्रकार सञ्जय घिमिरेले गरेका थिए ।
गैर आवासीय नेपालीहरुको मनोवल उकास्न र नेपालमा लगानी बढाउन आव्हान गर्नका लागि अध्यक्ष ढकाल हाल अमेरिका भ्रमणमा रहेका छन् । ढकालले नेपालमा बैंकिंग, रेमिट्यान्स, हाइड्रो, बिमा, अटोमोबाइल लगायत थुप्रै क्षेत्रमा लगानी गर्दै आएका छन् ।














प्रतिक्रिया