अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै फक्स न्युज सँगको अन्तर्वार्तामा अमेरिकामा दक्ष जनशक्तिको अभाव भएको भन्दै, विश्वभरका ट्यालेन्टेड र स्किल्ड H-1B कामदारहरूलाई अवसर दिनुपर्ने बताएका छन्। उनका अनुसार, अमेरिकाको प्रविधि, विज्ञान, र उद्योग क्षेत्रमा योग्य र अनुभवी जनशक्ति अभाव भइरहेकाले विदेशी सीपयुक्त व्यक्तिहरूले त्यस रिक्तता पुरा गर्न सक्छन्।
ट्रम्पले अन्तर्वार्तामा भने, “तपाईं बेरोजगार लाइनबाट मान्छे उठाएर मिसाइल बनाउन लगाउन सक्नुहुन्न। हामीलाई प्रतिभाशाली र सीपयुक्त मानिसहरू चाहिन्छ।” उनका अनुसार, अमेरिकामा केही क्षेत्रमा पर्याप्त दक्षता नभएकाले अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरूलाई ल्याउन आवश्यक छ।
उनको यो अभिव्यक्तिले अघिल्लो “America First” अर्थात् “अमेरिकी कामदार पहिला” भन्ने नीतिसँग केही विरोधाभास देखाएको विश्लेषकहरूले जनाएका छन्। ट्रम्पले आफ्नो सत्ताकालमा H-1B भिसा प्रणाली कडाइ गर्नुपर्ने बताउँदै आएका थिए, तर हालको धारणा परिवर्तनले उनी प्रविधि र प्रतिस्पर्धाको यथार्थ स्वीकार गर्दैछन् भन्ने संकेत गरेको विश्लेषण गरिएको छ।
विशेषज्ञहरूका अनुसार, अमेरिकामा प्रविधि, इञ्जिनियरिङ, र अनुसन्धान क्षेत्रमा उच्च सीप भएका जनशक्तिको कमी छ। त्यसैले, ट्रम्पको ताजा भनाइले अमेरिकी उद्योग र विश्वव्यापी प्रतिभाबीचको सम्बन्धलाई नयाँ दिशामा लैजान सक्छ। तर, उनका केही रूढिवादी समर्थकहरूले भने यो अभिव्यक्तिलाई “अमेरिकी कामदारको मूल्य घटाउने” टिप्पणी गरेका छन्।
साथै, हालैको प्रशासनिक प्रस्ताव अनुसार, H-1B भिसा प्रक्रियामा योग्यताको स्तर, सीप र दक्षताको आधारमा छनोट प्राथमिकता दिइने र शुल्क वृद्धि गर्ने तयारी पनि भइरहेको छ। यसले विदेशी दक्ष कामदारहरूका लागि अवसर बढाउन सक्छ तर प्रतिस्पर्धा पनि तीव्र बनाउने देखिन्छ।
नेपालजस्ता विकासोन्मुख देशहरूका लागि ट्रम्पको यो दृष्टिकोणले नयाँ सम्भावना खोल्न सक्छ। विशेषगरी, प्रविधि, इञ्जिनियरिङ, र आईटी क्षेत्रमा दक्ष जनशक्ति भएका नेपाली युवाहरूका लागि अमेरिकाको श्रम बजार अझ आकर्षक बन्न सक्छ।












प्रतिक्रिया