मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यताबाट भोगेको महाभुकम्प

यताबाट भोगेको महाभुकम्प


बिहान ब्युझिँदा मेरो हातले पहिलो पटक खोज्ने वस्तु हो–मोबाइल फोन । आँखा मिच्दै अनि खोल्न थाल्छु फेसबुक, ट्विटर लगायतका सामाजीक सञ्जाल । सदाझै त्यसदिन अर्थात अप्रिल २५ तारिक बिहान निद्रा खुल्दा बिहानको साँढे ६ भएको थियो । सिरानीनिर चार्जमा राखेको मोबाइल आँखा मिच्दै हातमा लिए । ‘होम बटन’ मा थिचेको मात्र के थिए मेरो सातो उँड्यो । मोबाइलको स्क्रिनमा बिबिसीको ‘न्यूज अलर्ट’ थियो । समाचारमा भनिएको थियो–‘नेपालमा ठूलो भुकम्प गयो, त्यसबाट सातसय जनाको निधन ।’
 
सपनामा छु कि विपनामा मैले एकिन गर्नै सकिन मैले । दायाँ हातको बुढी र चोरी औंलाले देब्रे हातको नाडीमा चिमोटे । विपनामै छु त म । हत्तनपत्त मोबाइल खोलेर बिबिसीको समाचारभित्र पसेँ । कहालीलाग्दो तस्बिरहरु थिए । काठमाडौंको पहिचान बोकेको धरधराको पुछारको ठुटोमात्र बाँकी थियो । घरहरु खण्डहरु थिए । घाइतेलाई बोकेर मानिसहरु दौडिरहेका तस्विरहरु छरपस्ट थिए । 
 
इ–कान्तिपुर, नागरिकन्यूज, सेतोपाटी लगायतका अनलाइनहरु खोल्न थालेँ मैले मोबाइलबाटै । ती सबै भयावह समाचारले ढाकिएका थिए । समाचारमात्र हेरेर के गर्नु ? परिवारको अवस्थाको बारेमा चिन्ता जाग्यो । एक मनले लाग्यो–हिजो कति चाँडै सुतिएछ ? अलिक ढिलो गरेर सुतेको भएत रातिनै भुइचालोको समाचार थाहा पाइने रहेछ नि । हुनपनि म अघिल्लो दिन निकै थाकेको थिएँ। परिवार आउन लागेकाले अपार्टमेन्ट सर्दै थिएँ । धेरै सामान अघिल्लै दिन सारेर शनिबार बिहानको लागि इन्टरनेट लगायतका केही सामान सार्न मात्र बाँकी राखेको थिए ।
 
परिवारको अवस्था बुझ्न सादाझैं भाइबर खोल्दा नेपाली समय अनुसार बिहान ११ बजेदेखि कोही पनि अनलाइनमा रहेछन् । अब सिधै फोन नम्बर डायल गरेर प्रयास गर्न थाले । तर फोन किन लाग्थ्यो ? पत्नी, बहिनी, भाई, आमा बुबा कसैको पनि फोन लाग्दैन । मनले जतिसुकै नचिताएपनि नराम्रो कुराभन्दा केही सोच्नै सक्दैन । उता टिचिङ हस्पिटलमा सयौं वेवारिसे लाश रहेको खबर अनलाइनहरुमा आइरहेको छ । मेरो परिवार टिचिङ हस्पिटलभन्दा आधा किलोमिटरको दूरीमा बस्छन् । अघिपछि निद्राबाट ब्युझिएपछि फेसबुक हेर्दै कफी पिउने बानी परेको म एक ग्लास पानी समेत पिउन मन लागेको छैन । के गर्ने, कसो गर्ने ? कुनै निर्णय लिन सकेको छैन । 
 
फेसबुकको मेसेन्जर खोलेँ । अघिपछि एकपटक ४/५ दर्जन साथीहरु अनलाइनमा हुन्थे । तर त्यसदिन ज्यादै थोरै साथीहरु थिए । एकजना विश्वासिलो साथी भेटिए मेसेन्जरमा । उनी थिए–पहिलेका सहकर्मी अनि पहिलोपोष्टमा कार्यरत पत्रकार ऋषिकेश दाहाल । 
 
मैले उनलाई पछिल्लो अवस्थाबारे सोधेँ । उनी पनि व्यस्त भएकाले हुनुपर्छ, ज्यादै संक्षिप्त जवाफ दिए–‘खत्तम छ यार । केही बाँकी रहेन ।’ मैले परिवारसँग लामो प्रयास गर्दा पनि सम्पर्क नभएकोले बुझिदिन भन्दै पत्नीको मोबाइल नम्बर दिए । उनले मलाई ठूलो सहयोग गरे त्यतिखेर । तत्काल मेरो पत्नीलाई फोन गरेर खबर दिए–‘सबै राम्रै छ रे । नुवाकोटमा पनि सबै राम्रै छ । तर नुवाकोटको घर पुरै खण्डहर भयो रे ।’
 
यति खबर मेरा लागि ठूलो राहतको विषय भयो । ‘घर गए पनि जाओस्, मान्छेलाई केही भएन भने कसैलाई गुमाउनु परेन भने घर जाबो भनेको त बनाइन्छ नि’ मनले यही सोचेँ । तर आपूm जन्मेको, हुर्केको घर खण्डहर हुनुको पीडा त छँदैछ । तैपनि मान्छेको शरिरमा कुनै केही भएन भने घर ठड्याइन्छ नि ।
 
तत्काल पत्नीको पनि फोन आयो । यता (अमेरिका) आउन दुई दिनमात्र बाँकी थियो । बिदाईका लागि आफन्तहरुकोमा जाने क्रम थियो उनको पनि । त्यसदिन बहिनी सुशीलाकोमा दिउँसो खाना खाने कार्यक्रम तय गरिएको रहेछ । तर खानै लाग्दा आएको भुकम्पले मुखमा हालेको गाँस समेत बोकेर बाहिर दौडिएका रहेछन् सबैजना । जताततै खत्तम भएको खबर पाएँ । तर आफ्नो परिवारमा भने सबै सकुशल रहेको खबरले केही राहत मिल्यो । तरपनि छिनछिनमा मृतकको संख्या बढिरहेको समाचारले मनमा निकै पीडा दिइरहेको थियो ।
 
मेरी बुढी हजुरआमाले १९९० सालको भुईचालोका बारेमा निकै सुनाउनुहुन्थ्यो । घाँस काट्न घरभन्दा पारिको जंगलमा जाँदा भुईचालो गएको थियो रे । दिउँसो २ बजेतिर गएको ९० सालको भुईचालोले गर्दा पुरै घर ढलेर कुहिरीमण्डल भएको कुरा उहाँ सुनाउनुहुन्थ्यो । त्यतिखेरको भुइचालोले पनि हाम्रो परिवारका कसैलाई केही भएको थिएन भन्नुहुन्थ्यो उहाँ । 
 
२०७२ सालको भुइचालोलाई मैले भोग्न पाइन । नत ९० सालकैलाई मैले भोग्न पाएको थिएँ । मैले भोगेको भुइचालोमध्य बसैभन्दा ठूलो २०४५ सालको थियो । बिहानको मस्त निद्रामा परिरहेको म त्यतिखेर भुईचालोले घर हल्लाएर ‘मच्याक मच्याक..’ पार्न थालेपछि मटान (बरण्डा) बाट फाल हालेर घरमुनिको बारीमा पुगेको थिए । नेपालको पूर्वाञ्चललाई ध्वँस्त पारेको त्यतिखेरको भुईचालोले नुवाकोटमा कसैको पनि ज्यान लिएको भने थिएन ।
 
तर २०७२ सालको भुईचालोले मैले चिनेजानेका धेरैले आफन्त गुमाए । परिवार गुमाए । अघिल्लो रात घरमा सुतेकाहरु भोलीपल्टदेखि बारीको बासमा पुगे । बारीको कान्लालाई एकापट्टिको भित्तोजस्तो बनाएर जस्ताले घेरेर बनाएका टहरामा अहिलेपनि सबै भुकम्प पीडितहरु छन् । भुइचालो गएको अर्को महिना ‘गुगल–अर्थ’मा आफ्नो गाउँ हेरे, आफु जन्मेको घर हेरे त्यहाँ त पहेला र निला त्रिपालले ढाकिएका थिए । आमाले अस्तिको हप्ता मलिन स्वरमा फोनमा भन्नुभयो–‘आँधीले जस्ताको टहरो पनि उँडायो । पानी परेको छैन, जस्ताको गर्मीले बसिसाध्य पनि भएन ।’
 
मैले यताबाट कुनै निर्णय दिन सकेको छैन । घर बनाउन अघि बढौं, सरकारले कुनै मापदण्ड बनाएको छैन । अनुदानका कुरा आइराख्या छ । आफैं अघि सरेर गरौं भोली मापदण्ड पुगेन भनिदेला । अनि त्यतिखेर मापदण्ड नपुगेका घर, नक्सा पास नभएका घरलाई अनुदान दिदैनौं । 
 
गाउँघरतिर एउटा भनाईनै छ–‘नदिने बराजु बुधबार बार्थिन, पोइल जाने बराजु नक्कल पार्थिन ।’ ठीक त्यस्तैगरि सरकारलाई त जसरी हुन्छ जनतालाई राहत दिन नपरे हुन्थ्यो भन्ने न छ । अनि अहिले घर बनाइहाल्दा भोली मापदण्ड पुगेन भनेर किचलो गर्ने बहाना पनि मिल्छ ।
 
अनि यतिखेर निर्माण सामग्रीको भाउले पनि आकास छोएको छ । सुनिन्छ इटा, ढुंगा, सिमेन्टको भाउ मनपर्दि छ । कसले अनुगमन गरिदिने ? कसले नियमन गर्ने ? सरकारी चाल यस्तै कछुवाको जस्तो हुने हो भने अबको १० वर्षसम्म पनि पीडितहरुको बास त्रिपाल र जस्तामुनिनै हुने निश्चित छ । पीडितलाई राहत दिने, तत्काल पुनस्र्थापनामा भन्दा सरकार परिवर्तन, कहाँबाट पैसो झर्छ भन्नेमा दलहरु र सरकारको ध्यान बढ्ता केन्द्रित छ । विदेशीले दिएको सहयोगको उपयोग गर्न सकेको छैन सरकारले । नगद र वस्तुगत सहयोग कति आयो तिनको कुनै लेखाजोखा पनि छैन र पीडितले त्यसमा पहुँच राख्न पनि सकेका छैनन् ।
 
प्रवासिएका नेपालीहरुले समेत भुकम्पको समयमा मातृभूमिका लागि मन खोलेर सहयोग गरे । त्यो सहयोगको क्रम जारी छ । 
 
महाभुकम्पले विथोलिएको मन अझै शान्त हुन सकेको छैन । म जन्मे हुर्केको घर खण्डहर भयो, बा आमा लगायत परिवार अझै टहरोको बासमा हुनुहुन्छ । निश्चित छैन यो मन शान्त हुन अझै कति समय लाग्ने हो ?