मलाई जस्तै तपाईंहरुलाई आफ्नो बाल्यकालको चक-चक र बहादुरीका तीतामीठा स्मृतिहरु मानसपटलमा आउँदा हुन । पुराना साथीभाइ वा आफन्तसँगको जमघटमा चर्चाका बिषय पनि बन्दा हुन । हुन त म लेखक, साहित्यकार त होइन त्यसैले लेख्न बस्दा एक पाना पनि नलेख्दै टुंगिन्छ कि त भने मेसो फुर्दै फुर्दैन । सायद म साहित्व्यकार हुन सक्तिन होइन हुन जान्दिन भन्ने कुराको गतिलो प्रमाण नै यही होला । मनले त फिटिक्कै मान्दैन तर हुन्छ यस्तै ।
एक पटक उपन्यास लेख्नु पर्यो भनेर सुरु गरेको पनि थिए । लामो समय गजधुम्म परेर, चिउँडोमा हात लगाएर सिलिङ्तिर हेरे पछि दिमागमा लेखनको "प्लट" फुर्यो साथीको जीवन कथा । कथा त तयार भयो तर नाम चाँहि के राख्ने ? जती गरे पनि जुरे पो । पचासौं शीर्षक सोचिसकेँ मेलखाने एउटा पनि आएको होइन दिमागमा । बिना नाम नै उपन्यास सुरु गर्न बिचार गरे । यत्तिकैमा साथीको फोन आयो । उसलाई म "झूम्की कुमाइनी" भनेर जिस्क्याउथेँ । यत्रो बेर नजुरेको नाम उसको नाम लिने बित्त्कै जुर्यो, "झूम्की कुमाइनी " । झुम्की कुमाइनी किताब लेख्दै छु, आउँदै छ तर कहिले हो त्यो भने जुरेको छैन ।
कुरा म सानो छँदाको हो, हाम्रो घरमा दर्जी दाई आउँथे लुगा सिलाउन । उनलाई सबैले बले दाई या बले भनेर बोलाउँथे । बले दाई बर्षको एक दुई पटक परिवार सहित आउँथे । कहिले काँहि त दुई तीन दिन बसेर जान्थे । बले दाई आउँदा हामी दुई कारणले खुसी हुन्थ्यौ । एउटा त नयाँं लुगा लगाउन पाइने, अर्को कथा सुन्न पाइने । नयाँं कपडाको रहर र रमाइलो कथा सुन्ने अवस्था अब छैन । गाउँ अनि देश्बाट बिस्थापित भैसक्यो त्यो चलन र म दुबै । अझ भनौ बिकसित भइयो । बले दाइको कथा सुन्दा आनन्द त आउँथ्यो नै मेरो नयाँं लुगा लगाउने रहरको मूल्य पनि चुकाउनु पर्थ्यो । परिवारको कान्छो हुनाले सबैको प्यारो थिएँ । त्यसैले मैले अरुभन्दा बढी प्राथमिकता पाउँथे । नजिते सम्म रोयर र पिरोलेर पनि जित्नै पर्ने बानी थियो मेरो, सायद जिद्धी भनौ । जीत त मेरै हुन्थ्यो तर हरेक जीत्को मूल्य तिर्नु पर्थ्यो मैले । कि त दाइको एक मूक्का खानुपर्थ्यो कि झापड । दाई उमेरले म भन्दा दुई बर्ष जेठो । यदाकदा त लड्ने गर्थे तर मेरो बलले पुग्ने होइन । के गर्नु, त्यही मूल्य र झापड पुरस्कार मै खुशी हुन्थे ।
सनातिना कुरामा नै झगडा हुन्थ्यो हामीमा । कसको लुगा पहिला सिलाउने भनेर झगडा मात्र होइन महाभारत नै पर्थ्यो । दुई भक्कु खाए पनि जित मेरै हुन्थ्यो तर दुई चार पटक भने धेरै झगडा पर्दा बले दाइले भन्थे, बाबु हो झगडा नगर बरु म एउटा कथा भन्छु । हामी झगडा छोडेर उनको जनिक बस्ने गर्थ्यौ । बले दाइसँग अनगिन्ती कथाका पोका हुन्थ्यो, सुनकेसरीको कथा, तीन घण्टेको कथा आदी । कती कथा त घण्टौका हुन्थे । उन्का कथा र स्मरणबारे मेरो दाइले आफ्नो पुस्तकमा पनि लेखेको छ थोर बहुत । मुख मात्र चलिरहेको हुन्थेन बले दाइको हात पनि सकृय हुन्थे ।
कथासँग-सँगै उनले हाम्रो लुगा तयार पारिसक्थे । कथा भनेर दाजुभाइको झगडा मिलाउने आफ्नो काम पनि सक्ने यो बडो काइदाको तरिका थियो बले दाइको । बले दाइलाई हाम्रो झगडाले पिडा हुन्थ्यो होला सायद । सबैको कुरा सुन्नुपर्ने, मिलाउनु पर्ने अनि आफ्नो काम पनि गर्नु पर्ने बाध्यताथ्यो उनीसँग । आफ्नै सन्तानलाई त साम्य पर्न नसक्ने बाबुआमा प्रशस्तै छन, बिशाल मुटुका धनी बलेदाइ त अरुका सन्तानका झगडा मिलाउदै हिड्थे । सायद उनले हाम्रो जस्तै अरु धेरैको झगडा मिलाएका होलान नि । बले दाई अचेल कता छन थाहा छैन तर उनीसँग सम्झना भर्खरै ताहुबाट निकालेको सेलरोटी जस्तै ताजा छ । बले दाई साँचै महान थिए । द्वन्द्ध ब्यबस्थापनको शैली त उनीबाट सिक्नु पर्ने हामी नेपालीले ।
हिजो आजको मेरो अमेरिका बसाइको पनि तेस्तै अनुभव छ । जन्मले म नेपाली इच्छाले अमेरिकन । अमेरिकामा पनि धेरै नै कार्यक्रम हुने गर्छन् । झन आफू त पत्रकार पनि पेशगत धर्मका लागि भएसम्मका कार्यक्रममा पुग्ने पर्ने । जानुसम्म त ठीकै छ तर कुरा अरु पनि हुन्छन कथा बेथाका । लामो यात्राा गरेर कार्यक्रमा जाउ, गेट्मा फि तिर अनि फोटो-देखि भिडियोसम्म लेऊ, यत्तिमात्र हैन अरु पनि हुन्छन कुरा । नजिकैबाट अरुले खानाको बासना चलाउँछन् । आफूले भने सबैले खाएको फोटो खिचिदिनु पर्ने । पल्लो कुनाबाट आवाज आउँछ ए भाई, हाम्ले खाको नि खिचिदेउ न हो । हैन हो, यो खाएको फोटो पनि किन चाहिंदो होला ? छड्के क्यामेरा भिरेर म तेत्तै जान्छु । कतिपय ठाउँमा त खानाको पनि टोकन तिर्नु पर्छ, पानीको पनि पैसा तिर्नु पर्ने, कता पुग्दैछौ कुनी हामी पानी पनि दिन नसक्ने पापी आयोजकहरु । यहाँं यस्ता धेरै कार्यक्रम हुन्छन हप्तमा दुई तीन पनि । चाहिने नचाहिने ठाउँमा सयौं र हजारौ खर्च हुन्छ तर पनि कलाकार र पत्रकार गेट्मा पैसा नतिरी भित्र जान पाउदैनन । अनि तिनै कलाकारको नाम भजाएर पत्रकारले निशुक्क रुपमा समाचार अनि भिडियो बनाउदिनु पर्ने धन्य हाम्रो सामाजिक संस्थाहरुका संचालकहरु र कार्यक्रमका आयोजकहरु । कम्तिमा कलाकार र पत्रकारलाई गेट फी त परै जावस खानाको टोकन त तिर्नु नपरे हुने नि ।
फेरि पनि म अरुले खाएको फोटो खिच्न गेट र टोकनको पैसा तिरेर भित्र जान्छु अनि सबैले खाएर भ्याइन्जेल फोटो खिच्छु, कार्यक्रमको भिडियो पनि, अन्तमा केही पाय खायो नत्र ठन्डाराम । फेरि यत्तीले हुने हो र । सोमरस देखी सेलिब्रेटीसँग एक् एकको फोटो रे, आयोजकको ग्रुप फोटो, बाफ रे बाफ, भक्कानो पारेको देखि अंगालो मारेको सम्म फोटो । कत्तिन यिनीहरुकै लागि ल्याएको फोटोग्राफर जस्तो गरी भन्छन लाजै नहुने – “ए भाई हाम्रो चाँहि फोटो नखिच्ने ?” लौ म र मेरीको, म यिनिसँग बस्छु लौ त एउटा खिचिदेउ । सुरादेखी कुन्नी के सम्मका, भुरा देखी बुढासम्म्का सबैलाई जे गरेको पनि फोटो चाहिने । भोज होस् या भत्तेर, कुर्दा या मूर्दा, नमस्कार होस् या सलामी, कोर्काली हुन या गोरखाली, चिरकुटे हुन कि भिर्कुट, श्री या श्रीमती, दोबाटे देखी खोपटे सम्म सबैलाई चाहिने उ,उनी र उन्किको पोज त्यो पनि सित्तैमा मागि मागी ।
कार्यक्रम भ्याएपछि पनि आफ्नै समस्या हुन्छ । समाचार लेख्नु, टाईप गर्नु, मल्टिमिडियामा समेत धेरै थोर प्रयास गर्छु । अरु धेरै पत्रकार भन्दा अलि फरक चिज दिन स्काइपमा रेकर्ड गरेर भय पनि संचारका लागि भिडियो बनाउँछु म । अहिले सम्म मैले मेरो पत्रकारिता या फोटो, भिडियोग्राफिका लागि ज्याला लिएको छैन । त्यसैले यसलाई पेशा भन्न मिल्ने हो कि नमिल्ने हो कुन्नि अलमल्ल पर्छु म त । यसबाट लिएको अनुभव चाँहि मलाई बले दाइको कथाको सम्झना जस्तै मीठो लाग्छ । खैर, कार्यक्रम सकिन्छ । घर पुग्दा करीब रातको दुई तीन बजिसकेको हुन्छ । बाटामै फोन आउँछ, होइन तपाईं त कस्तो मान्छे हो, अहिले सम्म फोटो फेसबूकमा राखेको छैन? म आफ्नो वास्तविकता अबगत गराउन खोज्छु तर उल्टै दुलाहाका भाईले झैं भन्छन ल ल छिटो राखिदिनुहोस् मेरो फोटो ट्याग पनि गार्दिनु ल म ढिला भयो सुते । कस्तो आयो कुनी हेर्न छट्पटी भैसक्यो उता मेरोलाइ हेर्न पर्यो रे । नेपलमा उनका घरका काली देखी मामाकी साली सम्म फोटो हेर्न कुरेर बसिराखेका हुन्छन रे । फोटो डाउनलोड गरेर पोस्ट गर्न लगभग एक घण्टा लाग्छ । त्यसपछि सुरु हुन्छ अर्को कहानी । मेरो फोटो किन त्यस्तो, मेरो फोटो किन आएन ? आदी, इत्यादि ।
यस्ता धेरै मध्य एउटा प्रसँग पनि मीठो छ मेरो स्मृतिमा । एनआरएन अमेरिका र मेरो मिडिया कोअर्डिनेटरको कार्यकालबारे । मैले तत्कालिन अध्यक्ष प्रल्हाद के.सी सँग स्काइपमा भिडियो अन्तर्वाता गरेर मिडियामा पुराउने काम गरेको पनि एउटा ईतिहास नै होला सायद । यो दोश्रो साधारण सभाभन्दा अगाडिको कुरा थियो । त्यति बेला एनआरएन अमेरिका मिडियाको पहुँच भन्दा थियो । मिडिया सँग कुनै संबन्ध नै थियन ऐले जस्तो । धेरै कुरा खोज्नु पर्ने अवस्था थियो । मेरो प्रयास चाँहि एनआरएन अमेरिकालाई जनमानस सम्म लैजाने भन्ने थियो । यही सिलसिलमा एनआरएनबारे थुप्रै मात्र होइन अमेरिका नेपाल टेलिभिजन अनि अरु मिडियासँग मिलेर निर्वाचनको धमाका नै चलाइयो । यस्तै निरन्तर प्रयास र इमिग्रेशन चौतारीको कार्यक्रम सफल भयकै कारण मैले एनआरएन अमेरिकाको निर्वाचनमा ७० प्रतिशत भन्दा धेरै मतले बिजय हासिल गरेको थिए । हुन त नेपाल अमेरिका जर्नालिस्ट एसोसिएसन (नेजा) पुरै संस्था लागेर पनि पुरा नभएका यस्ता धेरै कुरा म एकलो ब्यक्तीले कती गर्न सक्थे र । सके सम्मा पहिलेकाले पनि प्रयास गरेकै होलान । भने जती त ऐले पनि भएको छैन तर प्रयास गरेर एउटा तह सम्म पुर्याएको छ एनआरएन अमेरिकालाई मेरो कार्यकालमा । यो प्रयास निरन्तर हुनुपर्छ । हाल चाँहि अमेरिकाका सबैजसो मिडिया एनआरएनको पार्टनर छन्, सहयोग गर्छन् यो नै प्रगति होला मेरो कार्यकालको ।
एनआरएन अमेरिकाको मिडिया कोअर्डिनेटर भयकै कारण कार्यसमितिका अरु सबै जस्तो खट्नु त छँदै थियो, सबै काम सकेर सुत्छन कि रमाइलो गर्छन् । मेरो भने झन ठूलो काम बाँकी रहन्थ्यो । मान्नुस् नमान्नुस् संस्थामामा मर्यादाक्रममा रोल्ल गर्दा मेरो दर्जा नवौमा पर्थ्यो तर कामको जिम्मेवारीको हैसियतले भने मेरो स्थान तेश्रो दर्जामा हुने गर्दथ्यो जहिले पनि, अध्यक्ष, महसचिब अनि मिडिया कोअर्डिनेटर । यसो भन्दा धेरैलाई आपत्ति पनि आउला तर म समाजसाश्त्रमा एमए गरेर १४ बर्ष सम्म आइएनजीओमा काम गरेको मान्छे धेर थोर त बुझ्छु नै । संस्थाका उप र सह भन्ने जती सबै पद निस्कृय पद हुन । व्यबहारिक रुपमा ठाडो भाषामा भन्ने हो भने कानुनी कुरा छोडेर अन्य अबस्थामा कार्यसमितिका सदस्य अनि त्यो उप र सह पदको जिम्मेवारीको हैसियत बराबर हुन्छ भन्न्दा कोही रिसाउनु हुन्न होला ।
मेरो काम चाँहि सुरुहुने अरुको मस्तिको समय सुरु भय पछि । गतिबिधी अपडेट गर, समाचार तयार गरेर मिडिया पार्टनरहरुलाई पठाउ त्यो पनि त समय लाग्ने नै भयो । कतिपय त मिडियाका साथीहरुले रेपोर्टिङ् गरिदिन्थे र मैले पनि शेयर गरिदिन्थे । सायद यही होला हाम्रो साझेदारी र मिलाप भनेको पनि । धेरै त रातै भरी पनि कटाएको छु मैले । यसको पनि रमाइलो र नरमाइलो दुबै अनुभव हुन्छ । पहिलो त निरन्तर खटेर काम गर्न सकेकोमा गौरव लाग्छ दोश्रो पक्ष सबैको चित्त बुझाउन सकिन्न । गाली पनि खाइन्छ बिरलै धन्यवाद पनि । त्यो भन्दा पनि पिडाको कुरा त धेरै पटक अध्यक्ष र महासचिबले म फोटो लिदै गर्दा कार्यसमितीको भनेर परिचय नै गराउनु हुन्नथ्यो मलाई । सायद बिर्सेंर होला तर पनि मैले उहाँहरुको नाम पहिला लेख्नु पर्दथ्यो किन कि मलाई बिर्सन छुट थियन । म मेरो क्यामेराको सानो छिद्रबाट एउटा आँखाले पुरा स्टेज देख्दथे तर उहाँहरुको दुइटा आँखाले म अगाडि खडा भएको मान्छे देख्नुहुन्नथ्यो । नचाहेको त होइन होला तर खै के पो भएको हो । भूगोलमा मात्र होइन बिचर र बिवेकमा पनि हामी बिभिद थियौ । कोही पूर्वका, कोही पश्चिमका, अनि कोही उत्तरका त होकी दक्षिणका । न्यूयोर्कमा आधा दिन हुँदा क्यालिफोर्नियामा उज्यालो नै भएको हुन्न । मेरो राती नै हुन्छ फोन आउँछ होइन आझै सुतिराको ? यि सबै कारणहरुले गर्दा म अझै सम्झन्छु बले दाइ र उनका कथा । बले दाई सङै भैदियको भय सुनकेसरी मैयाँको कथा भनेर सबैको कुरा मिलाउँथे होलान । फोटो खिच्ने र राख्ने पनि खुसी, कुर्ने, हेर्ने, पर्खौटा पर्खौटी सबै खुसी । धन्य थियौ तिमी बले दाई । मलाई बले दाइको तरिका खड्कन्छ धेरै धेरै । बले दाइलाई सलाम I
(एनआरएन अमेरिकाको साधारण सभाको स्मारिका २०१५ मा प्रकाशित)
प्रतिक्रिया