ड्यालस (अमेरिका) । यसपटक शिवरात्री अमेरिकाको उत्तरी टेक्ससमा बसोबास गर्ने नेपालीहरुले भव्य रुपमा मनाएका छन् ।
ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगतको युलेसमा अवस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले शिवरात्री भव्य रुपमा मनाएका हुन् । आइतबार बिहानैदेखि भक्तजनहरुले लाइन बसेर शिव भगवानलाई दुध चढाउनुका साथै आराधना गरेका थिए ।
बिहानदेखि साँझ ८ बजेसम्म करिब १० हजार भक्तजनहरुले पशुपतिनाथको दर्शन र पूजा गरेको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् । नेपालीमात्र नभएर भारतीयमुलका हिन्दुहरु पनि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका थिए ।
विगतका वर्षहरुमा भीड र अस्तव्यस्त हुने गरेकोमा यसपटक एकसयको हाराहारीमा परिचालिन स्वयम्सेवकहरुले लाइन व्यबस्थित गर्नुका साथै सबैलाई व्यबस्थित साथ पूजा गर्ने अवसर प्रदान गरेका थिए ।
यसपटक दुईवटा लाइन, प्रशस्त पूजारीको व्यबस्था र स्वयमसेवक परिचालन गरिएकोले भक्तजनहरुले बढीमा ४५ मिनेटमा दर्शन गरिसकेका थिए मन्दिर बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारीले जानकारी दिए ।
यसपटकको शिवरात्रीमा विशेष रुपमा युवापुस्ताको सकृयता र सहभागिता लोभलाग्दो देखिएको मन्दिरका पदाधिकारीहरुले महसुस गरेका छन् ।
नेपालमा जन्मिएर अमेरिका आएका, अमेरिकामै जन्मिएकादेखि लिएर उच्च शिक्षा अध्ययनका लागि आएका युवा पुस्ताहरु मन्दिरका गतिविधिमा निकै सकृय थिए । उनीहरुको सकृयतामा मन्दिरमा हरेक शनिबार साँझ युवा भजन कार्यक्रम समेत हुँदै आएको छ । साँझ मन्दिरमा चुट्का भजनले माहौल निकै रमाइलो बनेको थियो ।
एकलाख डलर संकलनः
शिवरात्रीको पावन अवसरमा मन्दिरको संस्थापक सदस्य, ट्रष्टी हुनेहरु पनि अत्यधिक थिए । मन्दिरका पदाधिकारीहरु, नेपाली समाज टेक्ससका पदाधिकारीहरुले मन्दिरको सदस्य बन्न चाहनेहरुका निम्ति अलग्गै डेस्क राखेर सेवा प्रदान गरेका थिए ।
आइतबार झण्डै ६ लाख डलर बराबरको प्रतिवद्धता जाहेर गर्दै सदस्य बनेका छन् । त्यसमध्य एकलाख ५ हजार नगदनै संकलन भएको जनाइएको छ ।
शनिबार मन्दिर र बिहार निर्माणस्थलमा भूमिशोधन पूजा सम्पन्न भएपछि सर्वसाधारणमा वास्तविक मन्दिर बन्ने भयो भन्ने खुशीयालीमा चन्दा दान गर्नेहरु आइतबार दिनभरिनै उत्साहित थिए ।













प्रतिक्रिया