नेपाल

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा निर्वाचन प्रहरी खुसी

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा निर्वाचन प्रहरी खुसी


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएसँगै बिदाइ हुँदै गर्दा उनीहरुमा खुसी छाएको थियो ।

निर्वाचनको समयमा भरतपुर महानगरपालिका–२९ मा खटिएकी लक्ष्मी भण्डारी बिदाइ हुँदै गर्दा रमाइलो महसुस गर्दै थिइन् । विगत ४० दिन निर्वाचनका लागि राज्यले खटाएको ठाउँमा गएर सेवा गर्ने अवसर पाएको बताउँदै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न पाउनु खुसीको कुरा भएको बताए ।

Advertisement

राज्यको सेवा गर्ने अवसरले नेपालका सुरक्षा निकायले कति मेहनतका साथ काम गर्ने रहेछन् भन्ने कुरा स्पष्ट सँग बुझ्ने अवसर पाएको भण्डारीले बताए । आफूले निर्वाचनमा खटिँदा राज्यबाट पाएको सेवासुविधा छोराछोरीको अध्ययनमा खर्च गर्ने सोचमा उनी छन् ।

यस्तै, निर्वाचन शान्तिपूर्ण भएको भन्दै रेनुका पौडेल खुसी छन् । उनी कक्षा १२ को अध्ययनपछि कोरिया, न्यूजील्यान्डलगायतका देशमा गएर काम गरे पनि नेपालमा जनताको र राज्यको पहिलोपटक सेवा गर्ने अवसर पाएको बताउँछन् । उनले भने, “सुरूमा त मैले काम गर्न सक्दिनँ कि भन्ने लागेको थियो । पछि बानी प¥यो ।”
जब आफूले काम गर्दै जाँदा प्रहरीले कसरी काम गर्ने रहेछन्, बर्दी लगाई सकेपछि के सोच आउने रहेछ भन्ने ज्ञान भएको पौडेलले बताए । साँच्चिकै देशको सेवक भएर काम गरेको अनुभूति भएको उनले सुनाए । पौडेलले भने, “४० दिनको कामले म सन्तुष्ट छु । यहाँ सेवा गर्दा आएको पैसाले स्नातक अध्ययन गर्ने योजना छ ।”

इलाका प्रहरी कार्यालय रत्ननगरअन्तर्गत रही निर्वाचनमा सहभागी भएकी सुनिता प्रजा बस्नेत प्रहरीमा सहभागी भएर निर्वाचन सम्पन्न भएकामा निकै खुसी छन् । नजानेका कुराहरु जान्ने अवसर पाएको बताउँदै उनले अब राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्ने भएछु भन्ने लागेको उनी बताउँछन् । बस्नेतले निर्वाचन प्रहरीमा खटिएर पाएको सुविधालाई व्यवसायमा प्रयोग गर्ने आफ्नो इच्छा रहेको बताए । उनले कुखुरा पालन गरेर घर खर्चको व्यवस्थापन गर्ने इच्छा रहेको बताए ।

इलाका प्रहरी कार्यालय खैरहनी मातहतमा रहेर निर्वाचनमा खटिनुभएका सङ्कल्प केसी निर्वाचन शान्तिपूर्ण रुपमा गर्ने जिम्मेवारी निर्वाचन प्रहरीमार्फत पाएको भन्दै आफूमा उत्साह बढेको बताए । उनले भने, “निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकामा निकै खुसी छु ।” राज्यले आवश्यक ठानेर अन्य समयमा समेत जिम्मेवारी दिएमा आफू जिम्मेवारी सम्हाल्न तयार रहेको केसीको भनाइ छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो । जसमध्ये नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरीतर्फ ३२५ निर्वाचन प्रहरी रहेका थिए । उनीहरुलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्ज्वल बनाउन सिटिइभिटी र घरेलु कार्यालयसँग सहकार्य गरेर दुई चरणमा व्यावसायिक काम सिकाउन सरकारले पहल गर्ने बताए । सिटिइभिटीबाट एक वर्षमा एक हजार २०० जनाका दरले तालिमको व्यवस्था गरिएको उनले जानकारी दिए ।

शेयर गर्नुहोस:

189
Shares