राजनीति-समाज

वार्ताबाहेक हाम्रो कुनै समाधान छैन : डा कोइराला

वार्ताबाहेक हाम्रो कुनै समाधान छैन : डा कोइराला


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा। शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताएका छन् । उनले कांग्रेसलाई विभाजित नभई एकताबद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पारेका हुन् ।

सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको १५ औँ महाधिवेशन अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै यसले नेपाली कांग्रेससँगै नेपालको राजनीतिको आगामी दिशासमेत तय गर्ने बताए । संस्थापन पक्षले संस्थापन इतर समूहले राखेका माग सम्बोधन भइसकेको र अब पार्टी एकतामा नआउनुको कारण नरहेको तर्क गरिरहेको विषयमा कोइरालाले दुवै पक्षको धारणा सुन्नुपर्ने बताए ।

Advertisement

उनले आफूहरूले पटक–पटक एकताबद्ध भएर अघि बढ्न र वार्तामा बस्न आग्रह गरेको दाबी गरे । पूर्वसभापति शेरबहादुर देउवासहित सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पनि वार्ताका लागि आग्रह गरिएको उनको भनाइ छ । कोइरालाले काँग्रेसको भविष्य सुरक्षित गर्नु आफूहरूको जिम्मेवारी भएको भन्दै पार्टीलाई सही दिशामा अघि बढाउन आवश्यक कदम चाल्नुपर्ने बताए ।

देउवासँग भेटका लागि समय माग्दा नदिइएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले देउवा व्यस्त भएको हुनसक्ने बताए । तर भेट्नै नचाहेको भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । वार्ता बाहेक हाम्रो कुनै समाधान छैन । उहाँहरूसँग वार्ता गरेर मूल बाटोमा उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ। एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौँ । हामीले त कतिचोटि भन्यौँ, एकताबद्ध भएर जाऔँ, वार्ता गर्न आउनुस् भनेर। उहाँहरूले सुन्नुभएन भने हामीले के गर्ने ? सायद उहाँ व्यस्त हुनुहुन्थ्यो होला । त्यो म भन्न सक्दिनँ । सायद व्यस्तताकै कारणले होला । नत्र भेट्नै नहुने भन्ने त कुनै कुरा आउँदैन ।’

उनले १५ औँ महाधिवेशनलाई पार्टीको आन्तरिक विषयमा मात्र सीमित नभई नेपालको राजनीतिक भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । कांग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनमा सहभागी गराउन आफूहरू वार्तामार्फत समाधान खोज्न तयार रहेको उनको भनाइ छ ।