अस्टिन, अमेरिका — अमेरिकाको टेक्सासस्थित अस्टिनमा सक्रिय नेपाली फुटबल क्लब युनाइटेड नेपाल एफसी (यूएनएफसी) ले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि २ हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
यूएनएफसीका बसन्त खनालका अनुसार गत आइतबार यूएनएफसीअन्तर्गतका रेड लायन्स र ब्लु सामुराई बीच भएको मैत्रीपूर्ण फुटबल खेलका क्रममा बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दुवै टोलीले खेल केही समय रोकेर मौन श्रद्धाञ्जली दिएका थिए।
खेलाडीहरूले मैदानबाट बाहिर निस्किएर मैनबत्ती बाल्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। केही मिनेटको श्रद्धाञ्जलीपछि खेल पुनः सञ्चालन गरिएको थियो। प्रतिस्पर्धात्मक रूपमा खेलिएको उक्त खेलमा रेड लायन्सले ब्लु सामुराईलाई ५–४ गोलले पराजित गरेको थियो।
खेलसँगै आयोजित सहयोग अभियानमार्फत क्लबका ३९ सदस्यले २५ देखि १२० अमेरिकी डलरसम्म सहयोग गरेका थिए। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको खनालले बताए।
अभियानलाई पारदर्शी बनाउन सहयोग गर्ने प्रत्येक सदस्यको नाम र सहयोग रकमसमेत सार्वजनिक गरिएको क्लबले जनाएको छ। रकम संकलनदेखि कोषमा जम्मा गर्ने प्रक्रियासम्म सबै विवरण समुदायलाई जानकारी गराइएको आयोजकको भनाइ छ।
खनालका अनुसार अभियानको उद्देश्य रकम संकलन गर्नु मात्र नभई अमेरिकामा रहेका नेपाली खेलकुद क्लब तथा विभिन्न सामुदायिक संस्थाहरूले विपद्का बेला तत्काल र पारदर्शी रूपमा सहयोग गर्न सक्ने उदाहरण प्रस्तुत गर्नु पनि हो।
“रकम ठूलो नहोला, तर एउटा खेललाई नै सहयोग अभियानमा रूपान्तरण गरेर केही दिनभित्रै रकम सम्बन्धित कोषमा पुर्याउन सकिन्छ भन्ने सन्देश दिन चाहेका हौँ,” खनालले भने।
यूएनएफसीले अमेरिकाका अन्य नेपाली समुदाय तथा खेलकुद क्लबहरूलाई पनि यस्तै अभियान सञ्चालन गर्न आग्रह गरेको छ। विशेषगरी डलास, ह्युस्टन र सान एन्टोनियोलगायत नेपाली समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा रहेका क्लबहरूले विपद् प्रभावितका लागि सहयोग अभियान अघि बढाउने अपेक्षा गरिएको क्लबले जनाएको छ।
अमेरिकामा रहेका नेपाली समुदायले नेपालमा हुने प्राकृतिक विपद्का समयमा आर्थिक तथा मानवीय सहयोग गर्दै आएका छन्। यूएनएफसीको पछिल्लो अभियानले नेपाली डायस्पोरामा खेलकुद गतिविधिलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासका रूपमा समेत अर्थ राखेको छ।












प्रतिक्रिया